काठमाडौं । ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका अध्यक्ष हुन्। त्यस कारखानाबाट उत्सर्जन हुने प्रदूषणले स्थानीयवासीलाई ठूलो प्रभाव पारेको छ। त्यहाँबाट जनस्वास्थ्यका लागि हानिकारक मानिने कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड ग्याँस उत्सर्जन हुने गर्छ। काठमाडौं उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनबाट उत्सर्जन उत्सर्जन हुने धुवाँसँगै विभिन्न औद्योगिक प्रतिष्ठानले गर्ने उत्सर्जन पनि उत्तिकै जिम्मेवार मानिन्छ।
आजको नागरिक दैनिकमा खबर छ - वायु प्रदूषणका कारण उपत्यकामा मात्र झन्डै नौ हजारजनाको मृत्यु हुने विश्व स्वास्थ संगठनले २०१६ मा सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ। प्रदूषणका हिसाबले आइतबार साँझ एक सय ७३ अक्वा इन्डेक्ससहित संसारको नवौं प्रदूषित सहरमा काठमाडौं रहेको एयर भिजुअलले जनाएको छ। विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ वातावरण, क्लाइमेट एन्ड क्लिन एयर कोएलिसनको सहकार्यमा स्थापित ब्रेथलाइफ नामक एक अन्तर्राष्ट्रिय अभियानका अनुसार वायु प्रदूषणका कारण नेपालमा वार्षिक ३७ हजार तीन सय ९९ को मृत्यु हुने गर्छ।
कारखानाका प्रबन्धकसँग गुनासो गर्न जाँदा जिउँदै जलाउने धम्की दिएको आरोप स्थानीयको छ। कारखानाबाट परिचालित गुन्डाको कारबाहीमा पर्ने डरमा धेरैजसो स्थानीय बोल्नसमेत डराउँछन्। कारखानाबारे सोधखोज गर्दा ललितपुर महानगरपालिका–२७ की वडा सदस्य सपना महर्जन यो विषयमा बोल्न चाहिनन्। स्थानीयलाई डरत्रास देखाई सञ्चालनमा रहेको यो कारखाना गैरकानुनी रहेको नागरिक खोजले देखाएको छ। सैबुका ६४ वर्षीय उत्तम खड्काका अनुसार कारखाना दिनको २४सै घन्टा सञ्चालनमा रहन्छ। ‘एक वर्षअघि स्थानीयवासी कारखानामा आफ्ना गुनासा राख्न गएका थिए तर उनीहरूलाई जिउँदै जलाउने धम्की दिइयो र त्यसपछि कसैले पनि कारखानाका अधिकारीसँग कुरा गर्ने आँट गरेका छैनन्,’ खड्का भन्छन्। उनका अनुसार स्थानीयलाई तर्साउन कारखानाले खास गुन्डाहरूलाई परिचालन नै गरेको छ।
ललितपुरको नक्खुमा सैलुङ ग्रुप अफ कम्पनीले सञ्चालनमा ल्याएको अलकत्रा कारखाना ले उत्सर्जन गरेको धुवाँ। उपत्यकाको दक्षिणतिर पर्ने यो क्षेत्रमा शान्तिपूर्वक बस्ने धेरैको चाहनामा यो कारखानाले तुषारापात गरेको छ। ६ वर्षअघि त्यही क्षेत्रमा घर किनेका हितबहादुर बस्नेत आफूलाई अहिले पछुतो परेको गुनासो गर्छन्। ‘हामीले वडा कार्यालय, जिल्ला प्रशासनदेखि सिंहदरबारसम्म यो कारखानाबारे गुनासो गरेका छौं,’ बस्नेत भन्छन्, ‘तर हाम्रो आवाज र दुखेसोको सुनुवाइ कतै भएन।’
कारखानाबाट निस्कने कालो धुलोले आफ्नो साढे दुई तले घर बेलाबेलामा ढपक्कै ढाक्ने गरेको उनी बताउँछन्। ‘करेसाबारीका तरकारी पुरै कालाम्मे हुन्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा न घर बेच्न सक्छु न ठाउँ छोडन।’
कारखाना खुल्नुभन्दा केही वर्ष अघिसम्म यो ठाउँ शान्त थियो तर कारखानाले निकाल्ने धुलो, धुवाँ र आवाजले पछिल्लो समय परिस्थिति बिग्रिएको छ। ‘कारखानाबाट निस्कने आवाजले हामी सुत्न सक्दैनौं,’ स्थानीय भन्छन्, ‘हामी त्यही धुवाँ र धुलो खान बाध्य छौं।’ ललितपुर महानगरपालिकाका राजस्व प्रमुख डिल्लीराज शाक्य सो कारखानाले बालुवा र गिटीको डिपो खोल्न अनुमति लिएको तर अलकत्रा कारखाना खोल्न अनुमति नलिएको बताउँछन्। ‘महानगरपालिकाभित्र यस प्रकारका कारखाना खोल्न पाइँदैन,’ शाक्य भन्छन्, ‘हामीले कारखाना बन्द गर्न भनेर चिठी पनि पढाएको हो तर सैलुङले हाम्रो आदेशलाई अवज्ञा गर्दैे आएको छ।’
उनले क्रसर व्यवसायी एवं गिटी तथा बालुवा डिपोहरूले अलकत्रा गैरकानुनी रूपमा ल्याउने गरेको पनि बताए। दुई वर्षअघि महानगरपालिकाले वातावरणलाई प्रतिकूल असर पारेको भनेर कारखाना बन्द गर्न निर्देशन दिएको थियो। तर, कारखानाले सो निर्देशनको अवज्ञा गर्दै आएको छ। स्थायी बासिन्दा मात्रै होइन, कारखानावरपरका टहरामा बसेकाहरू पनि यसबाट नराम्ररी प्रभावित भएका छन्।
भोजपुरबाट १५ वर्षअघि सैबु आएका किरण प्रधानको परिवारमा सात सदस्य छन्। उनीहरू तरकारी खेती, गाई र भैंसी पालन गर्छन्। ‘हामी त बाहिरका मान्छे हौं र बोल्न सक्दैनौं,’ प्रधान भन्छन्, ‘धुवाँ र धुलोले हाम्रो जीवन धेरै कष्टकर बनाएको छ।’ उनी यसबारे गुनासो गर्न सिंहदरबारसम्म पुगेको बताउँछन्। ६ वर्षदेखि उक्त ठाउँमा कुखुरा र सुँगुर पाल्दै आएकी सपना तामाङ भन्छिन्, ‘पहिला हामी कारखाना रहेको ठाउँबाट सफा पानी ल्याउने गथ्र्यौं। स्थानीयका लागि पाइपमार्फत पानीको व्यवस्था त गरिएको छ तर कारखानाका कारण त्यहाँको पानी दूषित हुने गर्छ। ५९ वर्षीय लक्ष्मण खड्का अर्का प्रभावित स्थानीय हुन्। ‘धेरैले यो कारखाना प्रचण्डको भन्छन् र बोल्न डराउँछन्,’ उनी भन्छन्, ‘जो गएर केही भन्छन्, उनीहरूलाई जिउँदै जलाउने धम्की आउँछ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई पनि महानगरभित्र यसप्रकारको कारखाना खोल्न नपाइने बताउँछन्। ‘यसप्रकारका कारखाना महानगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योग विभागसँग अनुमति लिनुपर्छ तर यो कारखानाले त्यस्तो अनुमति लिएको छैन,’ भट्टराई भन्छन्, ‘यो कारखानाले अनुमति लिएको पनि छैन, अब हामी यसको अनुगमन गर्छौं र आवश्यक कारबाही गर्छौं।’ नागरिकले सैलुङ कम्पनीका अध्यक्ष शारदाप्रसाद अधिकारीसँग पटकपटक सम्पर्कको प्रयास गरे पनि सफल हुन सकेन।
प्रतिकृया लेख्नुहोस्: