काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सरकारी प्रतिबन्ध र पक्राउ नेता तथा कार्यकर्ता छोड्न सरकारलाई चैतसम्मको समयसिमा दिएको छ । सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै प्रतिबन्ध फिर्ता लिन र नेता तथा कार्यकर्ता रिहा गर्न समयसिमा दिइएको हो ।
पक्राउ नेता तथा कार्यकर्ता रिहा नगरे र प्रतिबन्ध नहटाए सरकार विरुद्ध नै प्रतिबन्ध गर्ने उसले उद्घोष गरेको छ । “चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमहरु विरुद्ध प्रतिबन्द र आमहड्तालको तयारी” विज्ञप्तीमा भनिएको छ ।
यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले विप्लव नेतृत्वको गतिविधि चैत्रभित्र नियन्त्रणमा लिइसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीको भनाई आए लगत्तै विप्लवले विज्ञप्ती मार्फत प्रतिबन्ध र पक्राउ नेता कार्यकर्ताको रिहाको निमिक्त चैत्रसम्मको सिमा तोकेका छन् ।
विज्ञप्ती मार्फत नेकपाले सरकारी प्रतिबन्ध र नेता तथा कार्यकर्ताको रिहाईको लागि बुधबारदेखि चरणबद्ध आन्दोलन समेत घोषणा गरेको छ । चरणबद्ध आन्दोलन अन्तर्गत १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । आन्दोलनका सबै कार्यक्रम शान्तीपूर्ण हुने समेत उसले उल्लेख गरेको छ ।
सरकारले आफ्नो असफलता, बदनामी र संकटलाई छोप्न आफुँहरुमाथि प्रतिबन्ध लगाएको आरोप विप्लवको छ । जनताको मागबमोजिम जनकारबाही गरिएको भन्दै विज्ञप्तीमा भनिएको छ, “आमजनताताका बीचमा अलोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र संकटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्द घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ ।” सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको विप्लवले विज्ञप्ती मार्फत आरोप लगाएका छन् ।
“सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ ।” विप्लवले विज्ञप्ती मार्फत लगानी सम्मेलनलाई लगानीकर्ताहरुको पैसामा दलाली गर्दै जनतामाथी लुट थोपर्ने नाटक भनेका छन् । प्रतिबन्ध नहटाए सरकार विरुद्ध नै प्रतिबन्ध गर्ने उनले विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन् ।
प्रतिकृया लेख्नुहोस्: