काठमाडौं । शुक्रबारदेखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।
भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने छ । परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्ने छ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । यद्यपी, बिहीबार साँझदेखि नै परीक्षा शुल्क बुझाउन बैंकमा युवाको भीड देखिएको छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । कोहीले भने बिहान ४ बजेदेखि लाइनमा बसिरहेको बताएका छन् । परीक्षार्थीको सुविधाका लागि बैकले सुविधाका लागि टोकन वितरन गरिरहेका छ्न् ।
यता इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले विभिन्न संचारमाध्यमसँग कुराकानीमा परीक्षार्थीले नबुझेर लाइनमा बसेको बताए । उनका अनुसार बैंकबाहेक अनलाइनबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने र फारम भर्न सकिने सूचना यसअघि नै निकालिएको थियो । इपिएसको वेबसाइटमा मात्रै नभई भाषा सिकाउने संस्थामा पनि यसबारे जानकारी दिएको उनले बताए । बिहिबार राती १२ बजेपछि घरबाटै परीक्षा शुल्क जममा गर्न सकिने उनले जानकारी दिए ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट ….. बाट भर्न सकिने छ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।
त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९–ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।
कोटा बढ्यो
यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२०का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत् १८ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: