चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताएकी छिन्। आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन्।
भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी कामहरु अगाडि बढाइरहेको बताउँदै प्रमुख दाहालले आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, रिङरोड र लिंकरोड, फोहोरमैलाको दिगो व्यवस्थापन, पार्क निर्माण, व्यवस्थित अटोल्याण्ड, सडकहरूको स्तरोन्नति, कालोपत्रे लगायतका कामहरु भइरहेको बताए।
गुणस्तरीय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने बताउँदै उनले सोही बमोजिम महानगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिएको बताइन्। केही वडा कार्यालयहरुको निर्माण सम्पन्न भइसकेको र ४ वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको बताउँदै मेयर दाहालले महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु सुविधासम्पन्न र प्रविधिमैत्री हुने बताइन्।
उनले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गरिन्। त्यसैगरी उनले निर्माण कार्यमा नियमित समन्वय गर्न प्राविधिकहरूलाई र नियमित अनुगमन गर्न वडावासीलाई आग्रह गरे।
नदीतटीय क्षेत्रका जनसमुदायहरु विगतदेखि नदी कटान, डुबान र जंगली जनावरको आक्रमणबाट आक्रान्त भएको भन्दै उनले यसको दीर्घकालीन समाधानका लागि जग्गा उकास सहितको रापती र नारायणी नदीको तटबन्धन सहितको बाहिरी चक्रपथको कामलाई अगाडि बढाउन लागिएको बताए।
यो योजना सम्पन्न हुँदा यी समस्याहरु समाधान हुने विश्वास उनले व्यक्त गरे। प्रमुख दाहालले पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासका साथै सामाजिक विकास गर्दै सुशासन कायम गरी महानगरको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताइन्।
वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङले भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको अवस्थालाई अन्त्य गर्दै यसै आर्थिक वर्षबाट नयाँ भवनमा सर्ने लक्ष्य राखिएको बताइन्। १७ नम्बर वडा विगतदेखि नै विकास निर्माणमा पछि परेको बताउँदै वडा अध्यक्ष तामाङले यसको विकासको लागि महानगर प्रमुख दाहालले उल्लेख्य सहयोग गरेको बताए।
नेपाली कांंग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष तामाङले भरतपुर महानगरपालिकामा अनियमितता जस्ता हल्लाहरु निराधार भएको भन्दै प्रमुख दाहालले पारदर्शी र मितव्ययी ढंगले कामकारबाही गरिरहेको बताए। उनले महानगरमा अनियमितता भयो रे भन्ने हल्लाको पछाडि नलाग्न वडावासीलाई आग्रह गरे।
कार्यक्रममा महानगरपालिकाका प्रशासन प्रमुख कुलबहादुर जिसीले राजनीतिक नेतृत्वको निर्देशन बमोजिम कार्यान्वयनमा लागिरहेको बतए। विधि, प्रक्रिया र नियमको पालनाका लागि सबैले आआफ्नो आचरणमा परिवर्तन ल्याउन आवश्यक रहेको उनले औँल्याए।
समाजसेवी चन्द्रध्वज गुरुङले १७ नम्बर वडाको मध्यभागमा पर्ने बेलुवामा निर्माणाधीन वडा कार्यालय भवनले वडावासीलाई सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै समयमै गुणस्तरीय भवन निर्माण गर्न आग्रह गरे।
भवन निर्माण समन्वय समितिका संयोजक चुडामणि खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाताहरु गोपाल दराइ र लक्ष्मी महतोलाई सम्मान गरिएको थियो। दाताको सहयोग २ कट्ठा र महानगरपालिकाले खरिद गरेको २ कट्ठा गरी ४ कट्ठा जमिनमा आधुनिक मिटिङ हलसहित ४ कोठे कार्यालय भवन बन्न लागेको हो।
५० लाखको जग्गा र भवन निर्माणको लागि एक करोड १४ लाख गरी एक करोड ६४ लाखको लागतमा सुविधा सम्पन्न वडा कार्यालय भवन बन्न लागेको हो। भवन यसै आर्थिक वर्षमा सम्पन्न गरी सेवा प्रवाह गर्ने लक्ष्य राखिएको वडा नम्बर १७ का इञ्जिनियर प्रविण श्रेष्ठले बताए।
प्रतिकृया लेख्नुहोस्: