माघ २० गते, २०७५ आइतवार 3rd February, 2019 Sun०७:५९:१८ मा प्रकाशित
उपभोग्य वस्तुको बिक्री घट्योकाठमाडौँ । अहिले मुलुकको अर्थतन्त्रमा माग तथा आपूर्तिको चक्रसमेत प्रभावित भएको उद्योगीहरू बताउँछन् । अहिले बजारमा थुप्रै उपभोग्य तथा निर्माण सामग्रीको मागसमेत घटेको उद्योगीहरूको भनाइ छ । बजेटले मोबाइललगायत थुप्रै वस्तुले पाउँदै आएको भ्याट फिर्तालाई खारेज गरिदिएको छ । यसले मोबाइल आयात तथा व्यापार प्रभावित भएको व्यापारीहरू बताउँछन् । अटोमोबाइल ऋणमा लगाइएको क्यापका कारण आयात प्रभावित भएको छ । फलामे छड, आल्मुनियमलगायत केही निर्माणजन्य साम्रगीको व्यापारसमेत घटेको छ । ‘अनुकूल व्यावसायिक वातावरण भएका वेला पनि उद्योग–व्यवसाय उत्साहप्रद हुन सकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तरलताको समस्याले बजारको चक्र अवरुद्ध भएको गोल्छाको तर्क छ । ‘निर्माण क्षेत्रमा वस्तुको माग घटेको छैन, तर रकम अभावमा उद्योगहरूले आपूर्ति गर्न सकेका छैनन् । उपभोग्य सामानहरूको होलसेल बिक्री धेरै नै घटेको छ,’ उनले भने । दसैँपछि अटोमोबाइलको आयात पनि नाटकीय रूपमा घटेको र आयातकर्ता तथा उत्पादकले बजारमा सामान नै पठाउन नसकेको उनले बताए । ‘व्यवसायीहरूले बाध्य भएर स्टक घटाइरहेका छन्,’ उनले भने ।
सुस्त औद्योगिक उत्पादन
केन्द्रीय बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन ४ प्रतिशतदेखि ८९ प्रतिशतसम्मले घटेको छ । औद्योगिक वातावरण अनुकूल बन्दै गइरहेका वेला औद्योगिक उत्पादन भने घटेको सरकारी तथ्यांकले देखाएको छ । समीक्षा वर्षमा प्रशोधित छालाकोे उत्पादन ८९.७ प्रतिशतले, चामल ६५.८ प्रतिशतले, चिरेको काठको उत्पादन १.५ प्रतिशतले, कागजको उत्पादन २.५ प्रतिशतले र रोजिनको उत्पादन ४२.९ प्रतिशतले घटेको छ । त्यस्तै, प्लास्टिकको उत्पादन ७.९ प्रतिशत, आल्मुनियम उत्पादन १३.८ प्रतिशतले र जुत्ताको उत्पादनमा ४.७ प्रतिशतले ह्रास आएको छ । सोहि अवधिमा जी.आई.तारको उत्पादन २१.८ प्रतिशतलेघ ट्न गएको छ भने वनस्पती घ्यू तथा तेल समूहको उत्पादनमा १९.१प्रतिशतले ह्रास आएको छ । चालु आवमा समेत औद्योगिक उत्पादन उत्साहप्रद नरहेको उद्योगीहरूले बताएका छन् । बजारमा माग नै कम देखिएका कारण उद्योगको उत्पादन समेत न्यून देखिएको एक उद्योगीले बताए ।
विदेशी लगानी आप्रवाह आधाले घट्यो
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर र विदेशी लगानी आप्रवाहसमेत घटेको छ । केन्द्रीय बैंकका अनुसार यस अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड छ । अघिल्लो आवको सोही अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४५.३ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रहेको थियो ।
चालू खाता घाटा सवा खर्ब नाघ्यो
देशभित्र आउने र बाहिर जाने रकम चालू र पुँजीगत खाता शीर्षकमा रहने गर्छन् । चालू खातामा वस्तु तथा सेवाको आयात, निर्यात, अनुदान प्राप्ति, रेमिट्यान्सलगायत पर्छन् । अर्थात् मूलतः मुलुकमा भित्रने र बाहिरिने रकमको हिसाब चालू खातामार्फत हुन्छ । चालू खाता घाटा हुुनु भनेको मुलुकमा भित्रने रकमभन्दा बाहिरिने रकम बढी हुनु हो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामै चालू खाता उल्लेख्य घाटामा गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा चालू खाता घाटा विस्तार भई १ खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड थियो । यस अवधिमा अमेरिकी डलरमा चालू खाता घाटा १ अर्ब ४ करोड ४५ लाख पुगेको छ ।
व्यापार घाटा बढेको बढ्यै
बढ्दो उपभोग प्रवृत्तिसँगै आयात बढेको छ, तर निर्यातको वृद्धिदर भने सन्तोषजनक छैन । आर्थिक वर्ष ०७५/७६ को पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएकोे थियो । कुल वस्तु आयात भने ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १८.२ प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार घाटा अकासिएको छ । पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले बढेर ५ खर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । निर्यात–आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७.५ प्रतिशत थियो ।
विदेशी अनुदानमा १६ प्रतिशतले कमी
विदेशीले सरकार र अन्य संस्थालाई विभिन्न माध्यमबाट दिने अनुदानमा ७.८ प्रतिशतले गिरावट आएको केन्द्र बैंकको तथ्यांक छ । समीक्षा अवधिमा नेपालमा २५ अर्ब ९ करोड रुपैयाँ विदेशी अनुदान भित्रिएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो अनुदान २७ अर्ब २१ करोड रुपैयाँ भित्रिएको थियो ।
शोधनान्तर घाटा अत्यासलाग्दो
नेपाल भित्रिनेभन्दा बाहिरिने रकम उच्च भएपछि त्यसको दबाब शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा परेको छ । चालू आवको पाँच महिनामा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५ अर्ब ४८ करोड घाटामा थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति ७५ करोड १ लाखले घाटामा छ ।
विदेशी विनिमय सञ्चिति खुम्चँदै
बाह्य क्षेत्र कमजोर हुँदै जाँदा मुलुकको कुल विदेशी विनिमय सञ्चितिसमेत घट्दै गएको छ । पछिल्लो ५ महिनामा विदेशी विनिमय सञ्चिति ३.३ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांक छ । गत असार मसान्तसम्म ११ खर्ब २ अर्ब ५९ करोड रहेको विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आइपुग्दा १० खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई ०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोडमा ओर्लिएको छ ।
चालू आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।
विदेशी लगानी प्रतिबद्धता घट्यो
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी लगानी स्वीकृति करिब ४ अर्ब रुपैयाँले घटेको देखिएको छ । आर्थिक वर्ष ०७४/७५ मा नेपालमा १४ अर्ब रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत थियो । चालू आवको पहिलो ६ महिनामा भने १० अर्ब २४ करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको छ ।
उद्योगमा लगानी न्यून
समीक्षा अवधिमा उद्योग दर्तासमेत घटेको छ । उद्योग विभागका अनुसार चालू आवको ६ महिनामा नेपालमा ९ अर्ब ९२ करोड रुपैयाँ लगानी हुने गरी उद्योग दर्ता भएका छन् । जुन अघिल्लो आवको भन्दा झन्डै ४ अर्ब रुपैयाँले कम हो । अघिल्लो आव ०७४/७५ को ६ महिनामा १३ अर्ब ६७ करोड रुपैयाँ लगानीका उद्योग दर्ता भएका थिए ।
बाह्य क्षेत्रको प्रभाव : क्रेडिट क्रञ्च
पछिल्ला वर्षहरूमा नेपालको वित्तीय प्रणाली लगानीयोग्य तरलता अभावको समस्याबाट गुज्रिरहेको छ । बैंकहरूले मागअनुसार कर्जा प्रबाह गर्न सकेका छैनन्, स्रोत बढाउन नसक्दा कर्जा–निक्षेपमा सन्तुलन कायम गर्न सकेका छैनन् । सोधानान्तर अवस्था उच्च घाटामा हुँदा बैंकहरूको निक्षेप प्रभावित भएको छ । प्रत्यक्ष वैदेशिक लगानी र बाहिरीय व्यवसायिक ऋण (ईसीबी) पनि बढ्न सकेको छैन । बैंकिङ क्षेत्रबाट प्रबाह भएको करीब ६० प्रतिशत कर्जा भोभर ड्राफ्ट, चालु पुँजी, हायर पर्चेज र रियलस्टेटमा गएका छन् । जुन आयात र सोधनान्तरसँग बढी जोडिन्छ । अहिले तुलनात्मकरुपमा पुँजी निर्माणमा सहयोग नगर्ने किसिमको कर्जा प्रबाह बढी भएका कारण पनि नेपालको बैंकिङ क्षेत्रमा क्रेडिट क्रञ्चको समस्या दोहोरिरहेको बैंकरहरूकै स्वीकारोक्ती छ । सोधनान्तर अवस्था सकारात्मक नहुँदासम्म क्रेडिट क्रञ्चको साईकल दोहोरिरहन सक्ने उनीहरू बताउँछन् ।
के गर्दै छ सरकार ?
-बाह्य क्षेत्र कमजोर बन्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ । लक्जरी गाडी, सुनचाँदी, मदिरा, कस्मेटिक्स, मोबाइललगायत विद्युतीय सामग्रीलगायतको आयातलाई निरुत्साहित गर्ने तयारी गरिरहेको अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेलले बताए ।
-खासगरी बाह्य क्षेत्र कमजोर हुँदै गएपछि सरकार केही अत्तालिएको देखिएको छ, जसका कारण विदेशबाट नेपालीले ल्याउने रक्सी, सुनचाँदी र गरगहना, मोबाइललगायत विद्युतीय सामग्रीलगायतमा समेत कडाइ गर्न थालेको छ । बाह्य क्षेत्र असन्तुलन बढ्दै गएपछि सरकारले विदेशी लगानी तथा ऋण भित्र्याउन विशेष पहल गरिरहेको छ । आगामी मार्चमा सरकारले लगानी सम्मेलन गर्दै छ । त्यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामार्फत विदेशी ऋण भित्र्याउन समेत जोड दिइरहेको छ ।
आर्थिक वृद्धिलाई सघाउने आयात बढेको छ
-डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक
तथा अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक
चालू खाता तथा शोधनान्तर अवस्थालाई हेर्दा हाम्रो बाह्य क्षेत्रमा केही दबाब परेको देखिन्छ । तर, आधारभूत रूपमा हेर्दा अहिले पनि बाह्य क्षेत्र सुविधाजनक नै छ । मुख्यतः उच्च आयातका कारण बाह्य क्षेत्र नेगेटिभ देखिएको हो । यद्यपि, आयात पनि उच्च आर्थिक वृद्धिलाई सघाउने किसिमको छ । पाँच वर्षअघि पुँजीगत वस्तुको आयात १२ प्रतिशत थियो, अहिले १७ प्रतिशत पुगेको छ । ठूला–ठूला मेसिनरी, हवाईजहाज, डोजर, औद्योगिक कच्चा पदार्थलगायत सामग्रीको आयात उच्च छ । यसले उत्पादकत्व बढाउँछ, ग्रोथलाई सघाउँछ ।
अर्थतन्त्र डामाडोल भएको छैन, सजगचाहिँ हुनुपर्छ
रामशरण खरेल,
सल्लाहकार, अर्थ मन्त्रालय
हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र बाहिर भनिएजस्तो डामाडोल भएको छैन । चिन्ताजनक पनि छैन, तर सजगचाहिँ हुनुपर्छ । अर्थ मन्त्रालय यस विषयमा सचेत छ । विश्वमै प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २२–२३ प्रतिशतले घटेको छ, जसको असर नेपालमा पनि देखिएको छ । यद्यपि, एफडिआई प्राप्ति र परियोजना पाइपलाइनमा छन्, केही समयममा एफडिआई बढेको देखिनेछ । विदेशी ऋण तथा अनुदान केही कम भएको छैन, शोधभर्ना हुन बाँकी भएको हो । उच्च आयातका कारण व्यापार घाटा बढी देखिएको हो, तर आयातको ठूलो हिस्सा आर्थिक वृद्धिलाई सघाउने किसिमको छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: