बाबु मारिँदा गर्भमा रहेका दाङ, घोराहीका बालबालिका अहिले १६ वर्ष पुगिसकेका छन् । बाबुको फोटोसम्म देख्न नपाएका उनीहरू २०५९ मंसिर १८ गते रातिको घटना सुन्दै कहालिन्छन् । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेलाको त्यो रात गाउँका आठ किसान राज्य पक्षबाट एकै ठाउँ मारिएका थिए । ***बाबुको मृत्युको दुई महिनापछि जन्मिएकी थिइन् दीपिका चौधरी । उनी पनि १६ वर्ष पुगिन् । बाबु ढुण्डीराज मारिएको ठूलो भएपछि मात्र थाहा पाइन् । सानोमा जति सोधीखोजी गरे पनि यथार्थ थाहा पाइनन् । ‘कहिले विदेश जानुभा’छ भन्थे, कहिले काममा जानुभा’छ भन्थे । हामीलाई सही कुरा भनिएन,’ उनले भनिन्, ‘अरू साथीका बाबा हुँदा हाम्रा किन नहोलान् ? कहाँ गएका होलान् भन्ने लाग्थ्यो ।’ युद्धका कारण मृत्यु भएको थाहा पाएपछि उनी दु:खी छन् । बिनाकारण सर्वसाधारण मारिएको घटनाले पिरोलिरहन्छ । उनी बुझ्ने हुँदा सशस्त्र द्वन्द्व अन्त्य भइसकेको थियो । त्यसैले धेरै जानकारी पाइनन् । हजुरआमा बजारी घटना सुनाउँछिन्, दीपिकालाई सहन गाह्रो हुन्छ । ‘लाइन लगाएर गोली हानेका थिए, हामी रातभर बाहिर निस्कन सकेनौं,’ बजारीले भनिन्, ‘भोलिपल्ट बिहान निस्कँदा बाटैभरि रगत, टोपी, चप्पल भेटिए । को–को हराए भनेर खोज्दै गयौं । सेनाको ब्यारेकमा पुगेर हेर्दा सबैको कञ्चट र पेटमा गोली लागेको थियो ।’ *** खुसीमान पनि १६ वर्ष पुगे । लामो समय बाबा शरद चौधरीको खोजीमा रोइकराइ गरे । कहिल्यै देख्न पाएनन् । उनका बुबा र दीपिकाका बुवा ढुण्डीराजले एकैदिन विवाह गरेका थिए । दुवै जनाको त्यही घटनामा ज्यान गयो । संयोग पनि कस्तो, दीपिका र खुसीमान एकै दिन जन्मिए, माघ २ गते । बुवाको मृत्यु भएको दुई महिनापछि जन्मिएका यी दुवै जवान भइसकेका छन् । उनीहरू आठ कक्षामा पढिरहेका छन् । बेलुवामा घरका भित्तामा गोलीले पारेका प्वाल छन् । घटना भोग्नेहरू अहिले जस्तै ठान्छन् । ‘सबै भोजको खुसियालीमा थियौं । गोली चलेपछि निस्कन सकेनौं । निस्केकाहरू मारिएछन्,’ महतवा गोपीलाल चौधरीले भने, ‘मारेर लगेछन् । हामीले भोलिपल्ट मात्रै लास हेर्न पायौं । त्यो बेला बोल्ने अवस्था थिएन । केही गर्न सकेनौं ।’ खुसीमानको खुसी हराएको छ । गाउँमा भएको घटना थाहा पाएदेखि उनी बेचैन छन् । ११/१२ वर्षसम्म उनलाई बाबुको मृत्यु भएको थाहै थिएन । ‘केही न केही नराम्रो त पक्कै भएको होला भन्ने लाग्थ्यो । पछि हजुरबुवाले घटना सुनाएपछि विश्वास गर्नै गाह्रो भयो,’ उनले भने, ‘युद्धले देशमा कति ठूलो क्षति पुर्याएछ भन्ने हाम्रो गाउँलाई हेरेरै थाहा हुन्छ । आठजना किसान एकै ठाउँमा मारिएका रहेछन् ।’ हजुरबुवा अनन्त चौधरीलाई पनि नातिलाई बाबु देखाउन नसकेकोमा दु:ख छ । एकातिर छोरा गुमाउँदाको पीडा अर्कोतिर नातिको नियमित ‘बाबा खोइ’ भन्ने प्रश्नले उनलाई सताइरहन्थ्यो । उनी बोल्न सक्ने अवस्थामा हुँदैनथे । ‘सानो बालकलाई के भनेर चित्त बुझाउनु ? रोएर हैरान पाथ्र्यो,’ उनले भने, ‘ऊसँगै आफू पनि रुनुको विकल्प थिएन ।’
प्रतिकृया लेख्नुहोस्: