Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

प्रधानमन्त्रीका अशोभनीय अभिव्यक्ति

प्रधानमन्त्री ओलीले शोभनीय बोलून्, सत्याग्रहको संवेदना बुझून्, यो देशले यही कामना गरिरहेको छ । काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले डाक्टर गोविन्द केसीको अनशनबारे बोल्दा कसैको उक्साहटमा केसी भोकै सुतेको भने । यी हरफ लेखिँदै गर्दा केसी जुम्लामा अनशनरत छन्, उनलाई काठमाडौं ल्याउने प्रयत्न भइरहेको छ । उनी मानिरहेका छैनन् । मान्न सक्छन्, नमान्न सक्छन् । तर यी पंक्तिमा चर्चा गर्न खोजिएको विषय केसीको अनशनमात्र होइन, सत्ताको प्रवृत्तिसँग गाँसिएका अहंकार र दम्भजस्ता विषय हुन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - सत्तामा पुग्नासाथ मान्छे किन मात्तिन्छ, उसको हाउभाउमा नै किन धेरै फरक पर्छ, यी धेरैका मनमा उठ्ने प्रश्न हुन् । धेरैले महसुस गरिआएका विषय हुन् । त्यसैले ओलीले केसीको सत्याग्रही अनशनलाई किन उक्साहट भने ? गंगामाया अधिकारीका याचनाप्रति उनी किन उदासीन छन् ? उनी अचेल छोइनसक्ना कुरा गर्छन्, यसलाई अथ्र्याउन यो चर्चालाई अर्को कोणमा मोड्नुपर्छ । मित्रवत परामर्शलाई गिज्याउँछन्, निहित स्वार्थीसँग अंकमाल गर्छन्, मित्रसँग शत्रुवत र आफ्नै शत्रु स्वभाव भने उनलाई प्रिय भएको छ । यहाँ ओली विषय हुन्, तर यो प्रश्न सार्वकालिक हो । यसको सटिक उत्तर भने आफू सत्तासिन भइरहेकै बेला भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीले दिएका थिए । उनी भन्ने गर्थे, ‘सत्ताको चरित्र उन्मत्तता हो, यो तामसी हुन्छ । हामी सत्तामा छौं, यतिखेर । त्यसैले हामीले सत्ताको यो प्रवृत्ति थाहा पाइराख्नुपर्छ । होश गुमाउनु हुँदैन । हामीले तामसी प्रवृत्तिलाई जित्दै सात्विक भावले देशको सेवा गर्नुपर्छ ।’ फेरि ओलीतर्फै फर्कौं । उनलाई कम्तीमा यति त ज्ञात हुनैपर्छ, उक्साहटमा मान्छे एक–दुई छाक भोकै बस्न सक्छ, दसौं–बीसौं दिन भोकै बस्दैन । ओली भोकको अनुभव नभएका मान्छे होइनन् । दुई छाक भोकै बस्नुपर्‍यो भने भुँडी कति बटारिन्छ, त्यो उनलाई थाहै होला । किनभने अति निम्न आय वर्ग पृष्ठभूमिका भएकाले बाल्यकालदेखि २०४६–४८ सालसम्म कति दिन कति रात उनले भोकभोकै बिताउनुपरेको थियो, उनलाई यसको स्मरण नहुने प्रश्नै छैन, पक्कै छ । यद्यपि निराहार व्रत बस्ने गरेका मानिसलाई पनि थाहा हुन्छ, भोकै बस्नु के हो । तर ओली नास्तिक भएकाले उनलाई व्रत–उपवासबारे चासो नहुनु स्वाभाविक हो । तर भोकै त्यसै बस्दैन मान्छे, ओलीलाई यस विषयको ज्ञानै नभएको होइन । लामो जेल जीवनका दु:खकष्ट ओलीका यही शरीरले बेहोरेको हो । यसर्थ यातना र भोकबारे उनी अपरिचित छैनन् । ओली जेल पर्नुको कारण केसीको जस्तो अहिंसात्मक आग्रह थिएन, हिंसात्मक विद्रोह थियो । उनले अपनाएको व्यक्तिहत्याको राजनीति गलत थियो, कालान्तरमा उनी आफैंले पनि यो स्वीकारेका र शान्तिपूर्ण परिवर्तनका पक्षमा स्व–रूपान्तरित भएका हुन् । तथापि जे भए पनि उनको राष्ट्रप्रति लगानी छ । त्यसैले राष्ट्रप्रति लगानी भएको ओलीजस्तो मान्छेको आलोचना गर्दा अलि सचेत भएरै गर्नुपर्छ र म सचेत पनि छु । किनभने आज जुन मुक्त नेपालमा हामी छौं, त्यसका लागि ओलीले, आज मार्सी चामलको भात खाए पनि जेलका ढुंगे, गन्हाउने चामलको भात खाएका छन् । कष्टसाध्य युवावस्था गुजारेकै हुन् । निश्चय नै ओलीका सामु उनको निर्धन पृष्ठभूमिका कारण अरु विकल्प थिएनन् नै, तर पृष्ठभूमि जे भए पनि मुलुक यस चरणमा आइपुग्न उनका अनिदा रातहरू, उनले भोगेका कष्टको योगदान छ । उनको जस्तोसुकै विरोधीले पनि यो यथार्थ त स्वीकार्नैपर्छ । यो उनले देशलाई लगाएको गुन हो । गुन कसैले बिर्सनु हुँदैन र मिल्दैन पनि । तर धेरैजसो अवस्थामा हुने के रहेछ भने मानिस जब आफ्नो पूर्व स्थितिभन्दा माथि उठ्छ, अलिकति हुनेखाने बन्छ, उसलाई कुनै पनि किसिमको, नेपालीमा भन्नुपर्दा सत्ताशक्ति प्राप्त हुन्छ, अंग्रेजीमा पावर भन्छन् नि, अनि उसलाई लाग्दो रहेछ, ऊ यसैका लागि बनेको हो । ऊ मानौं हकदारै हो । त्यसपछि मान्छे ‘मै हुँ’ भन्न थाल्छ । शरीर उही हो, इन्द्रिय उनै हुन्, तर किन भन्न थाल्छ, किन ठान्न थाल्छ, ऊ आफैंलाई अरुभन्दा भिन्न ? यसको जवाफ माक्र्सवादले दिँदैन, नत आधुनिक मनोविज्ञानले सटिक रूपमा बताउन सक्छ । किन मात्तिन्छ मान्छे, यस मनोरोगको सटिक पहिचान (डायग्नोसिस) पूर्वीय शास्त्रहरूले गरेका छन् । श्रीमद्भगवद्गीताको १६ औं अध्यायमा मदोन्मत्त मानिसको बानी, बेहोरा र परिणाम सविस्तार वर्णन गरिएको छ । आफ्ना मन्त्रीसहित प्रधानमन्त्रीले यसको मनोयोगसाथ अध्ययन गर्नु उचित हुनेछ । मानिसका मूलत: दुई प्रवृत्ति हुन्छन्, दैवी र आसुरी । जब मानिसमा आसुरी प्रवृत्ति हावी हुन्छ, तब मानिसले ठिक त्यस्तै व्यवहार गर्छन्, जस्तो अहिले प्रधानमन्त्री र उनका मन्त्रीहरूले गरिरहेका छन् । जस्तै सञ्चार मन्त्री गोकुल बाँस्कोटा मन्त्री नहुँदासम्म असल नै थिए । मन्त्री बनेपछि उनको हाउभाउ, बानीबेहोरा सबै बदलियो, उनी प्रश्न गर्नै नहुनेगरी बम्किन थाले । अरु त अरु पर्यटन मन्त्री रविन्द्र अधिकारी मन्त्री नहुँदासम्म कति भलाद्मी, कति असल थिए । सज्जन र मिठो बोलीवचनकै कारण देशैभर मित्र कमाउनेमा गनिन्थे, अचेल उनको प्रस्तुतिमा के–के भएँ भन्ने देखिन्छ । मिडियासँग बोल्दा पनि उनी झर्कोफर्को गर्न थालेका छन् । उनले प्रश्नकर्तालाई विनम्रतापूर्व यसबारे पछि भन्छु भन्न सक्छन्, अशिष्टता प्रदर्शन गर्नै पर्दैन । सामाजिक सञ्जालका कारण उनका प्रस्तुति सार्वजनिक जानकारीमा आइरहन्छन् । उनले समेत आफ्नो धरातल बिर्सेका छन् । ओलीका आजभोलिका बोलीवचन सुन्दा त लाग्छ, कति धेरै मात चढेको होला ! विश्वमा उनी एक्लो प्रधानमन्त्री होइनन्, प्रधानमन्त्रीहरू कति छन् कति । फेरि उनी प्रधानमन्त्री छन् आज, यो आजको सत्य हो । अनन्तसम्म त रहने होइनन् । ओलीको प्रधानमन्त्री पद अरूको जस्तै अनित्य हो । ओलीको देहको ध्येय के हुनुपर्छ, यसको ज्ञान पाउन उनले गोविन्द केसीलाई सोध्नुपर्छ । यो देहको प्रयोजन हो, यसको आयु व्यर्थ प्रलापमा होइन, लोकहितमा खर्च गर्नु । श्वास चलेसम्म लोककल्याणमा, लोकसंग्रहमा, लोककै सर्वोपरी हितमा आफूलाई समर्पित गर्नु यस देहको वास्तविक प्रयोजन हो । यस अर्थमा ओली बडो भाग्यमानी हुन् । किनभने शक्ति सम्पन्न प्रधानमन्त्री छन्, स्थिर सरकारको नेतृत्व गरिरहेका छन्, ७ मध्ये ६ प्रदेशमा उनकै दलको सरकार छ । निस्वार्थ, निष्काम भावले यदि उनले राज्य सञ्चालन गरे भने के असम्भव छ † रेल, पानीजहाज, आठ लेनका सडक, कृषिमा क्रान्ति, उद्योगहरूको स्थापना सबै सम्भव छ । उच्च माध्यमिक तहसम्मको शिक्षा र स्वास्थ्यलाई पुरै राज्यको दायित्व बनाउन सकिन्छ र बनाउनुपर्छ पनि । मानिसको स्वास्थ्य, शिक्षा तथा परिवहनको जिम्मा राज्यले लियो भने व्यक्तिमा अन्तरनिहित ऊर्जा प्रस्फुटन हुन कत्ति पनि अबेर हुँदैन । नेपाल समृद्ध बन्न पहिला नेपाली स्वस्थ हुनुपर्छ । शिष्ट, सुशिक्षित, सुसंस्कृत बन्नुपर्छ । त्यसका लागि प्रधानमन्त्री तामसी हुनुहुँदैन, सात्विक भावले ओतप्रोत हुनुपर्छ । तर यस्तो–यस्तो भइरहेको छैन किनभने सत्तामा उक्लेपछि मन्त्रीहरूसहित प्रधानमन्त्रीलाई सत्ताको तामसी मात लागेको छ । एउटा बुढो डाक्टर भनिरहेछ, काठमाडौंमा मात्रै सबै चिकित्सा अध्ययन संस्थान नखोलौं, देशभर अवसर विस्तार गरौं । पहिला आवश्यक सेवासुविधा सहितका अस्पताल खोलौं, अनि बल्ल चिकित्साशास्त्र अध्ययनको मार्गप्रशस्त हुन्छ । बूढो डाक्टर वास्तवमा जनताका हृदयकै बोली बोलिरहेको छ । जहाँसम्म मेडिकल कलेज खोल्न इच्छुक लगानीकर्ता, व्यवसायी छन्, तिनलाई सडक यातायात, रेल, पानीजहाज चलाउने पूर्वाधार निर्माणतर्फ काम दिए हुन्छ । खनिज तेल र फलाम खानीदेखि युरेनियम खोजीमा खटाए हुन्छ । भनिन्छ, सियोसम्म नेपालमा बन्दैन, साइकल, मोटरसाइकल, गाडी बनाउने उद्योग खोल भनेर अवसर दिन सकिन्छ । तिनले मान्छे लुट्ने, मान्छेको शरीरमाथि व्यापार नै किन गर्नुपर्‍यो । तर यतातर्फ लरतरै बुद्धि फर्किंदैन । किनभने सत्ता, शक्ति, धन, बारम्बार भनियो, एक प्रकारको मात हो, मदिराजस्तै । ओलीले केसीका बारेमा बोलेका अशोभनीय शब्द त्यही मातका कारण प्रस्फुटित हुनपुगेका हुन् । विरलै हुन्छन् मात नलाग्नेहरू, अधिकांशलाई लाग्छ । उनका पूर्ववर्ती शेरबहादुर देउवा, पुष्पकमल दाहाल, सुशील कोइराला लगायत प्राय:जसो सबैलाई कुनै न कुनै किसिमको मात लागेको थियो । भनिन्छ, शक्ति र सत्ताको मदिराले साँच्चिकै मदिराभन्दा बढी मात लाग्छ । भनिरहनु नपर्ला, किनभने अहिले यो धेरैले महसुस गरेका छन्, ओलीलाई अचेल त्यही मात, सत्ताको त्यही घनघोर तामसले घेरेको छ । ठिकै भनेका थिए बाजपेयीले, सत्ताको चरित्र तामसी हुन्छ, यसलाई सात्विक भावले जित्नुपर्छ । प्रधानमन्त्री ओलीका लागि, मनोयोग साथ मनन गरे बाजपेयीका ती वचन मन्त्रतुल्य हुन सक्छन् । प्रधानमन्त्री कार्यकारी प्रमुख त हुन् नै, देशका अभिभावक पनि हुन् । उनका मुखबाट उच्चरित हुने अशोभनीय शब्दबिम्बहरू सुन्दै अप्रिय लाग्छन् । प्रधानमन्त्री माननीय हुन्, सम्माननीय हुन् । त्यसैले ओलीले शोभनीय बोलून्, सत्याग्रहको संवेदना बुझून्, यो देश आज यही कामना गरिरहेको छ । अन्यथा अरू के भनौं, आउँदा दिनहरूमा देशको मनोभाव बदलिन सक्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies