Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

‘कसले दिन्छ फ्रि भिसा ?’: यस्तो छ ज्ञानबहादुरको कथा

\"\"काठमाडौं । ज्ञानबहादुरले ‘फ्रि भिसा, फ्रि टिकट’ को कुरा निकाले, १० हजार मात्र खर्च हुन्छ भन्दा म्यानपावरले भन्यो, ‘जुन म्यानपावरले १० हजारमा उडाउँछ, त्यसैबाट जानू ।’ सरकारले खाडी मुलुक र मलेसिया नेपाली कामदार पठाउँदा भिसा शुल्क र टिकट खर्च लिन नपाइने व्यवस्था गरेको वर्षौं भयो, तर म्यानपावर कम्पनीलाई लाखौं नबुझाई विदेश उडेका कामदार भेट्न मुस्किलै छ । सरकारले लगाएको ‘फ्रि भिसा, फ्रि टिकटको’ को नियम म्यानपावर कम्पनीहरूले ठाडै उल्लंघन गरिरहेका छन् भन्ने प्रमाण हुन्– बुटवलका २८ वर्षीय ज्ञानबहादुर थापा । अाजको नयाँ पत्रिकामा खबर छ-एक लाख रुपैयाँ असुलेर ओमन पुर्‍याई अलपत्र पारिएका उनी जसोतसो नेपाल फर्किएका छन् तर उनलाई साहुको ऋण तिर्न फेरि विदेश नगई धर छैन । जान त जाने तर कसरी ? लाख घटीले उडिन्न । उनी सोध्छन्, ‘खै कुन म्यानपावरले पठाउँछ फ्रि भिसा, फ्रि टिकटमा विदेश ?’ यस्तो छ ज्ञानबहादुरको कथा ‘ओमनबाट स्कापफोल्डिङको भिसा आएको छ । कम्पनी राम्रै छ,’ नजिकका एक नातेदारले बुटवलका २८ वर्षीय ज्ञानबहादुर थापालाई खबर गरे, ‘मेरै साथीको म्यानपावरले पठाउने हो ।’ निर्माण क्षेत्रमा सबैभन्दा जटिल र कठिन मानिने स्कापफोल्डिङको काम ५ वर्ष दुबईमा गरेको अनुभव उनीसँग थियो । त्यहाँ ५ सय ५० रियाल (करिब १५ हजार रुपैयाँ) पाउँथे । त्यति कम तलबमा पसिना र धेरै समय खेर फाल्न मन लागेन । फर्किएर भारतको चेन्नईको एक होटलमा कुकको काम गर्न पुगे । तलब १५ हजार भारु । तर टाटुका सौखिन थापालाई त्यही टाटुले होटलमा करिअर बनाउन रोक्यो । हालै सिनामंगल काठमाडौंमा भेटिएका थापाले भने, ‘होटलमा प्रवेश रोकिएपछि आफूले जानेको त्यही स्कापफोल्डिङकै काममा फर्कने विचार गरिरहेको थिएँ, ओमनको अफर आयो ।’ नातेदारका साथीको म्यानपावर भनेपछि विश्वासिलो नै लाग्यो थापालाई । तैपनि, कम्पनीबारे बुझ्न बुटवलबाट काठमाडौं आए । अनेस्टी ओभरसिजले ‘मुवाराद वादी हिवी मोर्डन ट्रेड’ नामको कम्पनीको मागपत्र ल्याएको थियो । कम्पनीको करारपत्र हेरे । तलब १ सय २० ओमनी रियाल (करिब ३३ हजार रुपैयाँ) लेखिएको रहेछ । काम स्कापफोल्डिङ, दैनिक ८ घण्टा । स्वास्थ्य उपचार, खानबस्न, बिमा, टिकट कम्पनीबाटै उपलब्ध गराइने । \"\" ओमनको सोहारमा ज्ञानबहादुरसहितको टोली । उनीहरूलाई दूतावासले दुई चरणमा उद्दार गरी फर्काएको छ । ‘कागज नै हेरेपछि विश्वास भयो, करारपत्रमा यति भएपछि समस्या नपर्ला,’ उनले सोचे । म्यानपावरले अन्तर्वार्तामा बोलायो । कम्पनीबाटै अन्तर्वार्ता लिन आउने खबरले विश्वास झन् बढायो तर म्यानपावर पुग्दा कम्पनीका प्रतिनिधि थिएनन् । सञ्चालक फारुख खानले उनलाई सोधे, ‘के हो स्कापफोल्डिङ ?’ ‘स्कापफोल्डिङ फलाम जोडै आवश्यकताअनुसार फिक्स टावर बनाउने काम हो,’ अन्तर्वार्ताका क्रममा थापाले जवाफ दिए, ‘मलाई तीन जना सहयोगी र फलाम दिनुस् । यहीँ बनाएर देखाइदिन्छु ।’ ‘तिमी उता (ओमन) पुगेर यही भन्न सक्छौ ?,’ उनले फेरि सोधे । ‘भनेर होइन, गरेर देखाइदिन्छु,’ थापाले भने । उनी अन्तर्वार्तामा पास भए । म्यानपावरले सेवा शुल्कबापत १ लाख रुपैयाँ माग्यो । ‘कम्पनी राम्रो छ, अरूलाई १ लाख २० हजारभन्दा तल गरेको छैन । तिमी आफ्नो मान्छे भएर १ लाखमै मिलाइदिएको,’ आफन्तले भने । थापाले म्यानपावरसँग मसिनो स्वरमा ‘फ्रि भिसा, फ्रि टिकट’ सुविधाबारे कुरा उठाए । सरकारले १० हजार रुपैयाँ मात्र सेवा शुल्क तोकेको, थप कुनै शुल्क नलाग्ने स्मरण गराए । ‘जुन म्यानपावरले १० हजारमा उडाउँछ, त्यसैबाट जानू,’ म्यानपावर मालिकले ठूलो स्वरमा जवाफ दिए । बाआमा, श्रीमती र ५ वर्षे छोरीसहितको परिवारको पालनपोषणको जिम्मा थियो । ‘काम राम्रो भए कमाएर तिरौंला,’ उनले सोचे । उड्नुअघि मात्रै म्यानपावरले कागजात हातमा थमायो । म्यानपावरलाई बुझाएको सहित गर्दा डेढ लाख खर्च भयो । गत डिसेम्बर २६ मा थापा ‘छोरालाई दिन नलागोस्, ऋण लागेर केही हुँदैन’ सोच्दै ओमन उडे । ... ... ... काठमाडौंबाट ओमनको राजधानी मस्कटको सीधा उडान जम्मा तीन घण्टाको हो तर ज्ञानबहादुरलाई जेट एयरलाइन्सले काठमाडौं–मुम्बई–मस्कटको रुटबाट १२ घण्टामा पुर्‍यायो । ८ घण्टा मुम्बईमै अडकिए । मस्कट विमानस्थल उत्रँदा रात परेको थियो । उनीभन्दा पहिले यही म्यानपावरबाट यसै कम्पनीमा काम गर्न आएका शेरबहादुर खत्री बंगाली ड्राइभर लिएर लिन आए । गाडीले तीन घण्टामा मस्कटबाट १ सय ६५ किमि टाढा सोहार पुर्‍यायो । त्यहाँ पुगेर नेपाली कामदारहरू बसेको कोठाको हालत देख्दा उनलाई अत्यास लाग्यो । एउटा पुरानो टहराको कोठा थियो । भित्तामा किला ठोकेर लुगा झुन्ड्याइएका थिए । सुत्ने खाट थिएन । भुइँमा फर्म बिछ्याइएको थियो । सडेगलेको सिरानी । ओढ्ने एउटा टावेल । ‘हाम्रो बाख्रा गोठ बरु सफा हुन्छ,’ उनले भने, ‘रातभर उडुसले टोकेर सुत्नै दिएन ।’ भोलिपल्ट थाहा भयो, पहिलो लटमा आएका नेपाली कामविहीन भएर बसेका रहेछन् । ‘हामीले म्यानपावरलाई उजुरी गरेका छौं,’ शेरबहादुरले भने, ‘तिमीहरू किन आएको ?’ कामको टुंगो थिएन । खानाको प्रबन्ध थिएन । ज्ञानबहादुरले नातेदारलाई अवस्था दर्साए । म्यानपावरलाई भिडियो खिचेर पठाए । कुनै सुनुवाइ भएन । बरु तेस्रो लटका कामदार आइपुगे । अब टहरामा अलपत्र पर्नेको संख्या २० पुग्यो । कम्पनी खोज्दै सोहार सहरका गल्ली चहार्न थाले उनीहरू । बंगालीले कम्पनीको अफिस लगिदिए । एउटा साँघुरो कोठा थियो । कोठाभित्र एउटा कुर्सी, एउटा टेबल र एउटा कम्प्युटर थियो । भित्तामा कपडा झुन्ड्याइएको थियो । भुइँमा बंगालीहरू लम्पसार सुतिरहेका थिए । ‘अफिसमा किन मान्छे सुतिरहेको ?,’ उनले सोधे, ‘बोन्धु तुम किदार फस्गए ?’ एउटा बंगालीले भन्यो । बंगाली कामदारले तलब नपाएको ७ महिना भएको, पैसा तिर्न नसकेर होटलले खाना खुवाउन छाडेको बताए । ‘म त छाँगाबाट खसेझैं भएँ । जिन्दगीमा कहाँ आएर फसियो भन्ने लाग्यो,’ थापाले सुनाए । बुझा थाहा भयो, कस्तो कम्पनीमा कामदार पठाउँदै छौं भन्ने म्यानपावरलाई नै थाहा रहेनछ । कम्पनीसँग सिधा ‘डिल’ पनि गरेको रहेनछ । साउदीमा रहेका एक दलालमार्फत अनेस्टीले भिसा पाएको थियो । पठाइएको कम्पनीका साहु सजिलै सम्पर्कमा आउने खालका थिएनन् । आक्कलझुक्कल आइहाले कामको खोजी भइरहेको बताएर पन्छिन्थे । कामदारको दुई समूह बन्यो, एउटामा ९ जना र अर्कोमा ११ जना । कम्पनीले काम दिलाउने भन्दै यम चौहानसहितको ११ जनाको समूहलाई मस्कट नजिकको ठाउँमा लिएर गयो । ज्ञानबहादुरको ९ जनाको टोलीलाई सुरतिर । चौहानको टोलीलाई बाटो खन्न लगाइयो, उनीहरूले मानेनन् । मालिकले कोठामा पनि बस्न दिएन । कसोकसो गैरआवासीय नेपाली संघ, बुद्धभिजन, ओमन नेपाली एकता समाजको सम्पर्कले उनीहरू मस्कट आइपुगे । दूतावासमा बस्ने सेल्टर थिएन । ११ जनामध्ये ५ जना बुद्धभिजन र ६ जनालाई गैरआवासीय नेपाली संघले आश्रय दिएर राख्यो । मस्कटस्थित नेपाली दूतावासले कम्पनी मालिकलाई भनिएको काम र तलब दिन नसक्ने भए नेपाल फर्काइदिन अनुरोध गर्‍यो । कम्पनीले म्यानपावरलाई दोष लगायो । ‘जे काम दियो, त्यही गर्नुपर्ने’ अडान कम्पनीले लियो । म्यानपावरले २७ सय ओमनी रियाल अर्थात् ७ लाख ३१ हजार रुपैयाँ कम्पनीलाई बुझाए मात्रै कामदार नेपाल पठाइदिने अडान लियो । कामदारको राहदानी फिर्ता गर्न मानेन । दूतावासमार्फत कामदारहरूले कम्पनीविरुद्ध श्रम अदालतमा मुद्दा हाले । उता, ज्ञानबहादुरको ९ जनाको टोलीलाई क्याप कम्पनीमा स्कापफोल्डिङ कामका लागि लगियो । अन्तर्वार्ता पास भएर काममा जाँदा ‘तिमीहरू आएको सप्लाई कम्पनीको बिमा छैन’ भन्दै काम गर्न दिइएन । ‘भित्र दुर्घटना भयो भने जिम्मेवारी लिने कोही छैन’ भन्दै साइटका सुरक्षा अधिकारीले फर्काइदिए । ज्ञानबहादुर क्यापको नक्कली परिचयपत्र बनाएर म्याथनोल कम्पनीको ग्यास प्लान्टमा छिरे । क्याप कम्पनीमा स्कापफोल्डिङ काम गर्ने नेपाली मात्रै थिए । धेरै खोजबिन भएन । काम थालेको २० दिनमा उनी समातिए । ‘हाम्रो आईडीमा कुल्ली लेखेको रहेछ । कुल्लीलाई स्कापफोल्डिङको काम कसरी लगायो भन्दै निकाल्यो,’ उनले सुनाए । निकालिएपछि क्यापको क्याम्पमा बस्न पाइएन । खल्तीमा सय ओमनी रियाल थियो । कम्पनी मालिक सम्पर्कमै आएन । सुरमा कार्यरत गौतम खडकाले गाडीको प्रबन्ध मिलाएर मस्टक पठाइदिए । ‘नेपाली संस्थाका दाइहरू खोज्दै मस्कट आइपुगे,’ उनले भने । उनी मस्कट पुग्दा ११ जनाको अर्को टोली नेपाल फर्किइसकेको थियो । ८ जनाको ज्ञानबहादुरको टोलीलाई प्रवासी नेपाली मञ्चले आश्रय दियो । दूतावासले नेपाल फर्काउने प्रक्रिया सुरु गरेको एक हप्तामै उनीहरू नेपाल फिर्न पाए । टिकट म्यानपावरले नै पठाइदियो । ओमनीले पासपोर्ट फिर्ता दिएन, दूतावासले ट्राभल डकुमेन्ट बनाइदियो । ... ... ... एउटा म्यानपावरको हेलचेक्रयाइँले नेपाली कामदार अलपत्र परे । जसोतसो १९ जना सकुशल काठमाडौं फिरे । एक जना अझै ओमनमै अल्झेका छन् । त्यत्रो हन्डर खाएर फर्केका ज्ञानबहादुरलाई अहिले बुटवल जाने आँट छैन । ‘छोरीलाई कहिले भेटौंजस्तो भएको छ । सम्झँदा मन थामिँदैन,’ उनले भने, ‘तर रित्तो हात कसरी जाउँm ? साहु मुख आँ गरेर बसेको छ ।’ उनी न्याय र क्षतिपूर्तिका लागि वैदेशिक रोजगार विभाग पनि पुगेका छैनन् । अझै म्यानपावरकै भरमा छन् । म्यानपावरले अर्को देश पठाइदिने आश्वासन दिएको छ । ‘राहदानी बनाउन निवेदन दिइसकेको छु, अब फेरि कुनै देश जानुपर्‍यो, लाख घटी भन्दैनन्,’ उनले सोधे, ‘शून्य लागतमा पठाइदिने म्यानपावर भेटेको छैन । त्यस्तो म्यानपावर खोज्न कहाँ जाने ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending