मंसिर १७ गते, २०७४ आइतवार 3rd December, 2017 Sun१७:३५:४५ मा प्रकाशित
प्यूठान । धेरै वामपन्थी नेता जन्माएको यस जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा जीत हारको राजनीतिक जोड घटाउ शुरु भएको छ ।
सात गाउँपालिका र दुई नगरपालिका रहेको प्यूठानमा प्रतिनिधिसभातर्फ एउटै पदका लागि निर्वाचन हुँदैछ । जिल्लामा स्थानीय तह निर्वाचन र विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा वाम गठबन्धनको मत बढी थियो । लोकतान्त्रिक गठबन्धनबाट यसपटक विकास निर्माणमा सक्रिय प्रा डा गोविन्दराज पोखरेलको उम्मेदवारीले कम्युनिष्ट पार्टीका मतदातालाई अप्ठ्यारो पारेको छ ।
पटकपटक वामपन्थी दलले संसद्मा प्रतिनिधित्व गर्दा पनि छिमेकका जिल्लाको जति पनि पूर्वाधारलगायत विकास निर्माणको काम नभएपछि मतदाता चिढिएका छन् । पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका बेला जिल्लामा विकास निर्माणका लागि धेरै बहुवर्षीय योजना परे ।
स्थानीय तहको निर्वाचन परिणामलाई केलाउँदा पोखरेलको दल नेपाली काँग्रेस वाम गठबन्धनभन्दा करिब ४० हजार मतान्तरले पछि छ । यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्तिले पनि काँग्रेसलाई नै सहयोग गर्दैछन् ।
पुरानो मत आधारलाई हेर्दा वाम गठबन्धनको मत पोखरेलले आधाभन्दा बढी नै ताने पनि जीत सुनिश्चित रहेको वाम गठबन्धनका नेताको विश्लेषण छ । काँग्रेसलगायत दलको लोकतान्त्रिक गठबन्धनले धेरै मत नकाट्ने भएकाले धेरै मिहेनत गर्नु नपर्ने कम्युनिष्ट नेता बताउँछन् ।
आयोगको उपाध्यक्ष हुँदा शुरु भएका योजना पूरा गरी जिल्लाको समग्र विकासका लागि जनताले आफूलाई विजयी गराउनेमा पोखरेल ढुक्क छन् । “वाम गठबन्धनका धेरै नेताले लामो समय जिल्लाको प्रतिनिधित्व गर्दा पनि जनभावनाअनुरुप विकास निर्माणका काम हुन सकेनन्, छिमेकका अर्घाखाँची, दाङ, रोल्पाभन्दा पनि प्यूठान पछि परेको छ, जिल्लालाई पूर्वाधार विकासमा अघि बढाउन नै मैले उम्मेदवारी दिएको हुँ, यसैले मलाई जनताले जिताउनेमा विश्वस्त छु”– उनले भने ।
वाम गठबन्धनका तर्फबाट जिल्लाको प्रदेश (क) का उम्मेदवार हरिप्रसाद रिजाल कम्युनिष्ट दलको मत बढी रहेको र जिल्लामा तीन वटा कम्युनिष्ट दलमा आबद्ध भएर लामो समयदेखि राजनीति गरेका उठेकाले जीत सुनिश्चित रहेको सुनाउछन् ।
“अन्य क्षेत्रमा लागेर निर्वाचनमा आउने मानिस जति विद्वान् भए पनि लामो समयदेखि राजनीति गरेकासँग केही लाग्दैन, संगठनको आधारले पनि वाम गठबन्धनको जीत सुनिश्चित छ”–उनले भने ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट प्रतिनिधिसभामा पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी कान्छी श्रीमती दुर्गा पौडेल प्रतिष्पर्धामा छन् । उनी पार्टी उपाध्यक्ष पनि छन् । सिंह पनि श्रीमतीका लागि मत माग्न जिल्लामै सक्रिय बनेका छन् ।
जिल्लामा लामो समय कम्युनिष्ट पार्टीको वर्चश्व रहे पनि दर्शन पढेरै आकर्षित मानिस कम भएकाले जिल्लाको विकास निर्माणमा लाग्ने उम्मेदवारलाई नै जनताले रोज्ने स्वर्गद्वारी नगरपालिका–२ भिँग्रीका मतदाता वसन्त खनाल बताउँछन् ।
छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणमा प्रभाव परेकाले पाँच वर्षसम्म टिक्ने सरकार बन्ने गरी मतदान गर्नुपर्ने अर्का स्थानीय धर्मराज श्रेष्ठको विचार छ । जिल्लामा निर्वाचनको वातावरण बने पनि दुवै गठबन्धनकाबीच सौहार्दपूर्ण रुपमा निर्वाचन प्रचारप्रसार भइरहेको छ ।
अन्य जिल्लाका तुलनामा कम आरोपप्रत्यारोप सुनिएको सदरमुकाम खलंगाका स्थानीयवासी सन्तोष पन्तले बताए । यो वातावरण कायम रहेर जिल्लाले राजनीतिक संस्कार पनि सिकाउनुपर्ने प्यूठानवासीको भनाइ छ ।
मल्लरानी गाउँपालिका–३, बुकेनीका ६१ वर्षीय फत्तबहादुर सार्की मत माग्न रक्सी खुवाउने उम्मेदवार पनि हुन्छन् तर गाउँ बनाउँछु भन्नेलाई मत दिने हो बताउँछन् । सदरमुकाम खलंगामा धानको बोरा बोकेर हिँड्दै गरेका उहाँले आर्थिक सहयोग गर्नेलाई नै मतदान गर्ने गरेको प्रतिक्रिया दिए ।
जिल्लामा एक लाख ३८ हजार ६४१ मतदाता छन् जसमा ६६ हजार ३९ पुरुष र ७२ हजार ६०१ महिला एवं एक जना तेस्रो लिंगी मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरका अनुसार ¬प्रदेश (क) मा ६४ हजार ६६८ र प्रदेश (ख) मा ७३ हजार ९७३ मतदाता छन् । स्थानीय तह निर्वाचनमा एक लाख २७ हजार ४४७ मतदाता थिए । अहिले उमेर पुगेका ११ हजार १९४ मतदाता थपिएका छन् ।
जिल्लामा १५१ मतदानस्थल र २०० मदतान केन्द्र तोकिएको छ । प्यूठानमा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको छ । जिल्लाबाट प्रतिनिधिसभाका लागि एक महिलासहित सात जनाले चुनावी प्रतिष्पर्धा गरिरहेका छन् ।
प्रदेश (क) बाट दुई महिलासहित पाँच र प्रदेश (ख) बाट छ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश (ख) बाट महिलाको उम्मेदवारी परेको छैन ।
अर्धभूमिगत नेता मोहनविक्रम सिंह, नेकपा माओवादी वैद्यका मोहन वैद्य, पूर्वगृहमन्त्री वामदेव गौतम, माओवादी नेता लीलामणि पोखरेल, हाल नयाँ शक्ति पार्टीमा क्रियाशील नवराज सुवेदी र माअोवादीका नेता मणि थापाको जन्मभूमि पनि प्यूठान नै हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: