काठमाडौँ । दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भएको छ ।
निर्वाचन हुने ४५ जिल्ला दोस्रो चरणको निर्वाचन हुने जिल्लामा
प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ को सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर छन् । प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा, र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया ।
प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख ।
प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
शीर्ष नेताले उम्मेदवारी दर्ता गर्नुहुँदै देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताले समेत आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराउँदै छन् । आजको मनोनयनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवजस्ता प्रभावशाली नेताले आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्दैछन् ।
मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले आज मनोनयन दर्ता गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८ सय ५२ जना मतदतालाई मतदानको अधिकार रहेको छ । नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि प्रचार प्रसारलगायत समग्र निर्वाचन कार्यक्रममा राजनीतिक दल र उम्मेदवारबाट पूर्णरुपमा आचारसंहिताको पालना हुने विश्वास लिएको छ ।
प्रतिकृया लेख्नुहोस्: