Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

‘युद्धले मानिसलाई कतिसम्मको बोका बनाउँदो रहेछ’

बोतलमा बाँकी रहेको रक्सी दुवैलाई बराबर भाग लगाएपछि मैले भने, भनिहाले नि मेरो कुनै खास इतिहास बाँधिएको छैन, लडाइँसँग । साधारण विदा मागेको छु । लडाईमा जानुअघि आफैलाई एउटा मेशिनमा परिणत गर्नुपर्छ । कसैको मायाँ गर्नु हुँदैन । त्यत्ति भए पुग्छ । उसले गिलास रित्याउँदै हाँसेर भन्यो – त्यो मलाई पनि थाहा छ । मलाई त्यति केटाकेटी नसम्झिनुस् न । सिपाहीहरुले भनेका, मैले केही गम्भीर भएर भनेँ । मायालु हुनेलाई मायालुको र स्वास्नीको निकै सम्झना आउँछ रे । अमेरिकन र गोरा सिपाहीहरु तकिया अँगालेर सुत्छन् रे । हाम्रा लाउरेहरु रंग उडिसकेको मायालुको तस्विर हेरेर चित्त बुझाउँछन् । झोलामा प्रेम लहरी सबैसँग हुन्छ । अकबर–बीरबल, तोता–मैना र कोक शास्त्रको किताव सर्कुलर गरेर पढ्छन् । भन्नुस् त युद्धले मानिसलाई कतिसम्मको बोका बनाउँदो रहेछ । गोरा सिपाहीहरु त स्वास्नी मान्छेको छायाँसम्म देख्नु हुँदैन । त्यसै मातिन्छन् तर मेरो मायालु थिएन । मैले जोडसँग गिलास अठ्याएँ । सिल्भरको भए कुच्चिसक्थ्यो तर काँचले आफ्नो धर्म छोडेन । उसले चित्त नबुझाएर भन्यो– यो त लडाइँको साधारण कुरो हो । सिपाहीहरुको साधारण मनोवृत्ति । चाहनुभयो भने त तपाईँको युद्ध दर्शन भन्न सक्नु हुनेछ । दुश्मनहरुसँग जम्काभेट भएका गफहरु हाँक्न सक्नुहुन्छ । मलाई लाज लाग्यो, आफ्नो कुराले स्तर नपाएकोमा । तैपनि लाज पचाउँदै भनेँ, तपाइँ साधारण तर कुरा त प्रमुख नै हो । तपाईँ एउटा सिपाहीबाट कस्तो गफको आशा राख्नु हुन्छ, शिवराजजी । सिपाही जहिले पनि उत्ताउलो हुन्छ । अब खाने काम गरौं । मैले पन्छाउँदैछु, उसले राम्रोसँग बुझ्यो । .. हामी भान्छा घरतिर गयौं । भात खाइसकेर आउँदासम्म हाम्रो खास केही कुरा भएन । चुरोट तान्दातान्दै उसले घडी हरेर तर्सदै भन्यो– ल बित्यो, अब जानुपर्छ । बढी सुते केही हुन्न । थाहा पाए कराउँदै आउँछे, किताउँछे मुजुरानी । नभनौं भन्दा भन्दै मेरो मुखबाट अकस्मात फुस्क्यो । अप्ठ्यारो लागेर म एकछिन घोप्टिएँ । उसले स्वभाविक स्वरमा भन्यो, ऊ त सुतिसक्छे । बढी मध्यराततिर मात्र सुत्छे । विशेष मुजुरामा अरुको विरोध गर्ने स्वभाव छैन । मैले रक्सी खाएकोमा उसलाई गुनासो छैन । बरि मान्दिन, रिसाउँछे । तर मलाई त्यसैको बढी मायाँ लाग्छ । किन, एउटा प्रश्नचिन्ह मेरो आँखा अगाडि देखा पर्यो । लगत्तै हरायो । मुजुरामा विरोध छैन । मलाई रमाइलो लाग्यो । उसलाई मैले रोक्न सकिन । ढोकासम्म पुर्याएर फर्किएँ । रक्स्याहाहरु भेटघाट भएको कोठा । तताततै फोहर भएको थियो । वास्ता नगरी म खाटतिर जाँदै थिएँ । ठीक शिवराज बसेको कुर्सिमुनी एउटा कागजको टुक्रा खसेको रहेछ । जिज्ञासाबस उठाएर हेरेँ । त्यो एउटा तस्विर थियो, उल्टो फर्केर खसेको । छर्लङ्ग अक्षरमा लेखिएको थियो– सकम्बरी । .. साँच्चै रक्स्याहरु यस्तै हुन्छन् । कहाँ के खस्यो, पत्तै पाउँदैनन् । शिवराजले यहिँ झारेर गएछ क्यारे । अरुको घरमा वा बारमा खसेको भए कस्तो गाइजात्रा हुन्थ्यो । धन्न म कहाँ छुट्यो । तस्विर पल्टाएर हेर्ने आँट मैले गरिन । नहेरे पनि हुन्छ, देखेकै हो सकम्बरी । मैले हिफाजतसँग आफ्नो कोतको खल्तीमा राखेँ । भोलि गएर बुझाउँदै थिएँ । १० बजेर नाघिसकेको थियो । म झ्यालमा बसेर शिवराजसँग भएका कुराहरु दोहार्याएर सम्झिन थालेँ । मेरो अरु काम थिएन र केलाउनुपर्ने कुनै समस्या पनि थिएन । रित्तो मान्छे । तकियामा टाउको राख्यो कि बिहान नहुञ्जेलसम्म बोल्नै पर्दैन । सोच्नलाई पनि मसँग कुराहरु बाँकी रहँदैनथ्यो । एक किसिमले सलल बगेको सजिलो मेरो जीवन । छुटकारा पाइसकेको । .. यो घरका केटीहरु अनौठा अनौठा छन् । म सामुन्नेको चोकमा आइपुगिसकेको थिएँ । पहिलो पटक आएपछि १५ दिनको लामो पर्खाइ भनौं । म्याद सिध्याउँदै दोस्रो पटक आएको थिएँ । तर त्यो आउनुमा खास मेरो कुनै रुचि थिएन । रुचि हुनु वा रुचि देखाउने मेरो उमेर छैन । यो मलाई राम्रैसँग थाहा छ । एउटा नहेरेको तस्विर फर्काउनु थियो, शिवराजजीलाई । बढी केही थिएन । घरको वातावरण उस्तै थियो । मोटर त्यहिँ थियो । त्यो एकचोक्टो चौरमा । निलो फूलको केही पातलिँदै गएको रंग । केवल मुजुराको खुट्टा थिएन । म केही खोज्दै गइरहेको थिएँ होला । त्यसैले अनायास त्यो कलिलो घारमा । झट्ट हेर्दा झण्डै आङसम्म आएको जाइको झ्याङ उता । एउटा सुनौलो मुडुलो टाउको उठाएर पर्खामा केही गर्न लागेकी केही हेर्न लागेकी सकम्बरीलाई देखेँ । धुवाँको एउटा खिरिलो घारमा टक्कँदै हराइरहेको देख्दा मैले थाहा पाएँ । ऊ चुरोट तानिरहेकी छ । जाइको झ्याङमाथि टाँगिएको एउटा सुनौलो खप्पर । एक रेखा धुँवा र अलिक माथि पर्खालमा झुण्डाएर फुलाइएका सायद सुनगाभाका केही बोटहरु । आँखालाई केन्द्रिभूत पारेर खाली त्यही दृष्यमा मात्रै हेर्दा त्यो साँच्चै एउटा मोटो चित्रकलाको नमुना भइरहेको थियो । तर त्यो दृष्य धेरैबेर हेरिन । आफू मात्र पछिबाट आइरहेकोमा अलिक अप्ठ्यारो लाग्यो । बोलाउँ भने नाम लिन असजिलो । खोकौं अलि अशिष्ट भइने । तर त्यस्तो स्थितिमा उसले मलाई धेरैबेर राखिन । एकाग्र भएर बसेको विरालोले कोही आएको थाहा पाउनासाथ लगत्तै टाउको घुमाएजस्तै फनक्क फर्केर हेरि । गला धेरै ठूलो भएको चोलोबाट देखिने गर्दनमुनीको हाड र बेस्कन उँभो उठेको छाती देख्दा हाँसो र वितृष्णाले एकसाथ मलाई छोप्यो । हो, मैले त्यति मात्र हेरेँछु । त्यतिमात्र देखेँछु । ऊ, चाँडै विवशता अनुभव गर्ने खालकी स्वास्नी मान्छे थिइन । यो मलाई पहिले पनि ज्ञात भइसकेको थियो । त्यसैले उसले कुनै पनि बाधा अनुभव नगरी सजिलैसँग भनी । दाइलाई भेट्न आउनु भएको होला । उहाँ बाहिरतिर जानु भएको छ । एकछिन पर्खनोस् । कतिबेरमा आउनु होला ? अब आइहाल्नु हुन्छ भन्दै जाइको झ्याङ्बाट लम्केर यता नछेलिने ठाउँमा आइ । चुरोटको ठूटो उसको झिनो औंलाहरुमा शतर्क अड्किएको थियो । एक अन्तिम सर्को तानेर उसले चुरोटको ठूटो भुँइमा फाली । म पइन्टको खल्तीमा हात हालेर भुँइतिर हेरेर उभिरहेको थिएँ । ऊसँग बोल्ने मैले आवश्यकता देखिन । .. एकछिनको चकमन्नतालाई चिर्दै उसले भनी – यहाँको डेरा शहरमा होइन ? मलाई शिवले भन्नु भएको । प्रशस्त दृष्टता भएको स्वास्नी मान्छे हुनुपर्छ यो । आफ्नो दाइलाई शिव नामले बोलाउँदी रहिछ । मैले उसको कुरा नसुनेकोमा उसले फेरि भनी– कुरा सुन्नु भएन कि क्या हो ? त्यसपछि झसंग भएको जस्तो एउटा बाहना गरेर मैले भने– होइन, यी पर्खालमा झुण्ड्याइएका सुनगाभाहरु कहाँबाट जम्मा गर्नु भएछ भनी विचार गर्दै थिएँ । यहाँ त अरु ठाउँमा मैले देखिन । घामको उज्यालोमा मुख्य उज्यालो पार्दै उसले भनी– फूलको मलाई शोक छ । सायद हाँस्नु र खुशी हुनुको उसको सीमा यति नै होला । ऊ भन्दै थिइ– यो विशेष ठाउँबाट मगाएको । यी फूलहरुको आफ्नो विशेषता छ । यता हेर्नोस्, यो हाँगामा कोपिलाजस्तो पलाएको छ नि देख्नु भो ? यो यहिँ यो फूलको प्रमुख अंग हो । यसले किरा मार्छ । यसलाई जीवघातक सुनगाभा पनि भन्छन् । भवँरा, मौरी, अरिंगाल यहाँ आउनै हुँदैन । उत्सुकतावस पनि उसैको बगालमा उभिन पुगेँछु । हावाको एउटा पातलो नदेखिने धर्सोले मात्र हामी दुईलाई अलग लागेको थियो त्यसबेला । उ प्रशस्त्र रमाउँदै भनिरहेकी थिइ । उसको पातलो औंला फूलको छेउछाउमा हल्लिरहेको थियो । भवँरा, अथवा मौरीको श्वरको चेतना पाएपछि यी कोपलाजस्ता थैलाहरुले आफ्नो मुख पाउँछन् । यहाँ के छ कुन्नी । किराहरु फूल छोडेर यसभित्र पस्छन् । एउटा थैलामा एउटा भँवरा पसिसकेपछि यसले आफ्नो मुख बन्द गर्छ । किरा भित्र निसास्सिएर मर्छ । असाध्यै रमाइलो हुन्छ । अहिले किरा आएको छैन । नत्र तपाइँले पनि देख्नु हुन्थ्यो सुयोगजी । .. मैले तर्सिएर उसलाई हेरेँ । तर उसले मलाई हेरेकी थिइन । सम्झेँ, स्वास्नीमान्छे साच्चिकै किदृष्ट हो । ऊ थिइ, किदृष्ट मेरो के लाग्छ । मलाई उसको अनुहार हेर्दा मलाई अर्कै भावनाले कुत्कुतायो– यो सुनगाभाको फूलले किरा मार्छ त ऊ यो विधि रमाउनुपर्ने किन ? अहिले त बोल्ने आवश्यकता मात्र होइन, ऊसँग कुरा गरिरहने रहर लाग्यो । मैले खल्तिबाट चुरोटको बट्टा झिकेर उसलाई दिएँ । उसले निःशंकोच एउटा झिकी । सल्काइसकेपछि मैले सोधेँ, भवँरा बस्नै नपाएपछि यो फूलको के अर्थ ? पछिबाट लाज लाग्यो, कस्तो सस्तो कुरा सोधेँछु । त्यसै त सिपाही । तर उसले मेरो कुरालाई त्यति सस्तोसँग लिइन । चुरोटको धुवाँ फुरुर छोड्दै उसले भनी– फूल बिग्रिदैन, सुरक्षित हुन्छ । उसप्रतिको मेरो रहर अझ बढ्दै गयो । मैले उसलाई नहेरी भनेँ– त्यसो भए निरुद्देश्यीय यसलाई नफुलाउनोस् । फूलको कुनै न कुनै सार्थकता हुनैपर्छ । जुन फूलको फुल्नुमा र आफूलाई लुकाउनुमा विशेषता छैन, त्यसले जीवघाती तन्तु आफूसँग राख्छ भने त्यस विशेषतालाई के विशेषता मान्ने ? ओइलाउनु र झर्नु त यसले पर्छ पर्छ भने एउटा विद्रोहसँग खेलेर सिद्धिन किन नसक्ने ? मैले आफ्नो भनाइको प्रभाव उसको अनुहारमा हेर्न खोजेँ तर ऊ जस्ताको तस्तै थिइ । उसले मलाई नै हेरिरहेकी थिइ । (पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’को एक अंश)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending