जाडोबाट जोगिनका लागि अँगेनाछेउमा सुत्दा चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका आगोको जोखिममा पर्ने गरेका छन् ।चेपाङ बालबालिका जाडो छल्न अँगेनामा सुत्ने बाध्यताको सिकार बन्ने गरेका छन् । सानुमाया चेपाङको छोरालाई पनि आगोले पाल्यो । आगोले पोलेर दुवै खुट्टाको औंला नै डढेको छ । निदाएको बेला छोरो आगोमा परेको सानुमायाले बताइन् । पोलेको पीडाले कराएको धेरै बेरपछि थाहा पाउँदा खुट्टा जलिसकेको थियो । घर साँघुरो भएकाले अँगेनाछेउमा सुत्दा आगोले पोलेको उनले बताइन् । दुई छोरामध्ये जेठो जीवनलाई आगोले पोलेको हो । ‘अँगेनाछेउमा सुत्दा आगोमा परेको हो’, उनले भनिन्, ‘छोरालाई आगोले पोलेपछि आगोछेउमा सुत्नै छाडेँ ।’ चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन् । जाडोबाट जोगिनकै लागि आगोको वरिपरि सुत्ने गर्छन् । ओढ्ने लुगा नहुँदा आगोछेउमा सुत्नु उनीहरूको बाध्यता हो । जाडोसँगै सिरेटो बढेपछि अँगेनावरिपरि झुम्मिएर सुत्ने गर्छन् । दाउरा प्रशस्त पाइने हँुदा उनीहरूका लागि जाडोबाट बच्ने विकल्प नै आगो हो । ‘ओढ्ने-ओछ्याउने लुगा नभएपछि आगोको सहारा लिन बाध्य छन्’, चेपाङ अभियन्ता केपीकिरण शर्माले भने, ‘न्यानो लुगा नहुँदा जोखिम बढेको छ ।’ आगोले पोलेपछि पनि उनीहरू उपचारबाट वञ्चित हुने गरेका छन् । गरिबी र अभावका कारण आगोले पोल्ने समस्या चेपाङ समुदायमा बढ्दो छ । चेपाङ गाउँमा कार्यक्रमलक्षित गरेका बाल कल्याण संस्थाका अध्यक्ष राजेन्द्र खनालले आफूहरूले चेतना र आयआर्जनको अभियान चलाएको बताए । आगलागीका कारण अंगभंग भएपछि त्यसले पार्ने समस्याबारे सिकाएको उनले बताए । आगलागीबाट बालबालिका जोखिममा परेपछि सुधारिएको चुलो बनाउन तालिम दिने गरेको उनले बताए । ‘अधिकांश गाउँमा बालबालिका जोखिममा परेको देखियो’, उनले भने, ‘बालबालिका जोगाउन नै हामीले बाबुआमालाई सचेत बनाउन थालेका छौं ।’
प्रतिकृया लेख्नुहोस्: