आफ्नो जीवनको वासना नचिनेर भौंतारिरहेका सम्पूर्ण मानवरुपी कस्तुरीहरुले एकपटक अमर न्यौपानेको उपन्यास ‘करोडौं कस्तुरी’ तिर घोरिँदा फाईदै हुन्छ ।‘करोडौं कस्तुरी’को विमोचन समारोह बारे सुन्ने बित्तिकै आफ्ना पूर्वनिर्धारित दिनचर्यालाई स्थगीत गर्दै मेरो पाईला प्रज्ञा भवनतिर मोडियो, हलमा खचाखच अमरका साहित्यीक आफन्तका भिडमा एउटा अनुहार मिसियो मेरो पनि । अलि ढिला पुगेका कारण अन्तिममा कोचिएर उभिएरै भएपनि सहभागीता जनाईयो । उसै त खचाखच भिड त्यसै माथी बत्ति नभएको र जेनेरेटर बिग्रिएकाले फ्यान नचल्दा उखरमौलो गर्मीका कारण हरेकका अनुहारमा पसिनाका थोपा सलबलाउँदै थिए । यद्यपी, कलाकार हरिवंश आचार्यका रसिला र हँसिला कुराले गर्मीकै बिच शितलताको आभास हुन्थ्यो । विमोचनमा सुन्नेको भिड सामना गर्नु परेको म विचरोले किताब बिक्रि कक्षमा अर्को भिडको सामना गर्नुपर्यो । भिडकै बिचमा ‘करोडौं कस्तुरी’ हात पर्यो र जतनले पोल्टामा पोको पारेर कुदेको म घर आईपुगेपछि मात्र पाईलामा ब्रेक लाग्यो । त्यसपछि ‘करोडौं कस्तुरी’का पानाहरुमा दौडिएका मेरा आँखा आधा रात र एक दिनमा अन्तिम पानामा पुग्यो । कलाकार हरिवंश आचार्यलाई पात्रविम्ब बनाएर तयार पारिएको यस आख्यान कलाकार हुन जन्मिएका हरिवंश कलाकार नभएका भए के हुन्थे होला भन्ने प्रश्नलाई जग बनाएर कल्पनाको आकाशमा उडेको कथा हो । बेलैमा आफ्नो क्षमता पहिचान गरेर अगाडी बढ्दा सफल र सबैले पुकार गर्ने हरिवंश यदि शिक्षाको पछि लागेर आफ्नो सृजनालाई कुल्चँदै गएका भए कसरीबेकार हरिवंशमा परिणत हुन्थे भन्ने कुराको सविस्तार रसिलो वर्णन गरिएको छ यसमा । हुन त हरिवंश आफैंले भनेका छन्, ‘आफू कलाकारीतामा चाहेर या योजनाले आएको भन्दा पनि उछिट्टिएर आईपुगेको हुँ ।’ उनी उछिट्टिएकै भएपनि राम्रो ठाउँमा पुगेर आफ्ना प्रतिभालाई मलजल गरेर फुलाउँदै सबैले पुकार गर्ने हरिवंश बनेका छन् । धेरै हरिवंशहरु न त उछिट्टिएरै सही ठाउँमा पुगे न त घर परिवार, समाज र शिक्षाले नै आफ्नो भित्री इच्छाको पुजा गरेर अगाडी बढ्दै स्वेच्छिक क्षेत्रको आइकन बन्न नै प्रेरित गर्यो । कयौं हरिवंशहरु आफू भित्रको सुगन्धलाई नचिन्ने कस्तुरी झैं वासनाको पछि लाग्दालाग्दै वासना नभेटेर अस्ताईरहेका छन् । मैले कतै पढेको थिएँ, ‘संसारको सबैभन्दा धनी ठाउँ चिहान हो’ किनकी त्यहाँ करोडांै अरबौं कमाउन सक्ने आफ्नो क्षमता भएपनि , प्रशस्त नाम इनाम कमाउन सक्ने क्षमता भएपनि सधैंभरी आफूलाई विश्वास नगरी आफ्ना इच्छाहरुका दास बनेर मालिकका क्यारेम बोर्डका गोटी भएकाहरुको अन्त्येष्टि हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको थियो, ‘हाम्रा कति सेक्सपियरहरु पहाडमा हलो जोत्दै होलान् ।’ हो, हाम्रा पहाडमा हलो जातिरहेका सेक्सपियरहरुले आफूभित्रको वासना नचिन्दा दोस्रो हलोको सियोले पहिलो सियोको खाडललाई छोपेझैं आफूभित्रको ‘रोमियो र जुलियट’ लाई छोपिरहेका छन् । हाम्रो शिक्षाले आफूभित्रको ‘रोमियो र जुलियट’ उत्खनन गर्न सिकाउँदैन बरु सेक्सपियरको ‘रोमियो र जुलियट’ घोकेर परीक्षामा ३५ नम्बर ल्याएर मार्कशिट जम्मा गर्न सिकाउँछ । हाम्रो शिक्षामा मार्कसिटले योग्यता नाप्छ, किताबका पानाहरुमा खोजिने विद्वताले बाहिर बोक्रो र भित्र खोक्रोको जीवन बाँचिरहेको हुन्छ । ‘करोडौं कस्तुरी’ मार्फत अमर शिक्षाभन्दा सिर्जना ठूलो हो भन्ने कुराको वकालत गर्छन् । उनको तर्क छ – सृजना ईच्छाले बनाएको बाटो हिँड्छ, शिक्षा सृजनाले बनाएको बाटो हिँड्छ । उपन्यास पढिरहँदा त्यहाँ प्रस्तुत कथा र पात्रभित्र आफ्नै बिम्ब पढिरहेको जस्तो लाग्छ । डाक्टर, इन्जिनियर र पाइलटहरुलाई मात्र ठूलो देख्ने बाबु आमा यस्तो प्रवृत्तिको पछि लाग्दा विद्धान बनिटोपल्ने निहुँमा धेरैले आफ्नो जीवन खियाइरहेका हुन्छन् । बाहिरबाट कसैको दबाबमा फुलाईएका बेलुन जस्ता सपनाहरु जुनसुकै बेला फुट्न सक्छ र फुटिसकेपछि महसुस हुन्छ । जतिबेला महसुस हुन्छ त्यतिबेला निकै ढिला भईसकेको हुन्छ । न त बाबु आमाले चाहे जस्तो बन्न सक्छ न त आफूले चाहे जस्तो नै । त्यतिखेर धिक्कार जीन्दगी बाँचेर आफ्ना इच्छाहरुको श्रद्धान्जली दिनुको विकल्प हुँदैन । उपन्यासमा प्रस्तुत पात्र र प्रवृत्ति काल्पनिक भए पनि हाम्रो जीवनसँग मेल खाने त्यसलाई संयोग मात्र मान्न सकिँदैन । त्यहाँ प्रस्तुत हेडसर र अन्य सरहरुको गतिविधि पढिरहँदा आफ्नै विगत जीवनको आँखीझ्याल चिहाउन मन लाग्यो मलाई । म एकदमै सम्मान गर्छु मेरी गुरुआमा कमला मिस उहाँको चित्राकृति मेरो मानसपटलमा घुमिरह्यो त्यतिखेर । हामीलाई पढाउँदा कमला मिससँग भन्दा उहाँको हातमा भएको लौरोसँग धेरै डर लाग्थ्यो । उहाँको पढाउने तरिका अरु सर मिसको भन्दा अलिक भिन्न थियो, पूरै पाठ कण्ठस्थ घोक्नुपर्ने र अगाडी आएर सुनाउनु पर्ने, सुनाउन सके त ठिकै हो नसके कि त कुखुरा बन्नु पर्दथ्यो, कि त हातमा लौराको सुम्ला सहनु पर्थ्यो, कि टाउको टेकेर सबैको अगाडी उभिनु पर्दथ्यो, यतिसम्म कि विद्यार्थीले पूरै पिरियड भरी नै ट्वाइलेटमा थुनिनुसमेत पर्दथ्यो । साना कलिला विद्यार्थीहरुलाई त्यति कठोर सजाय दिँदासमेत मिसको चस्मा लगाएको आँखामा कुनै हिनताबोधको भाव होइन आत्मा गौरवको अनुभुति पढ्न पाईन्थ्यो । कमला मिसको विषय कण्ठ गर्दै अरु विषय पढ्न नपाउँदा अरु विषयमा कमजोर बनिने एकातिर छँदै थियो भने अर्कोतिर कमला मिसकै कारणले झ्यालबाट भागेर हिँड्ने साथीहरु पनि धेरै थिए । कतिले त पुरै पढाइ नै छाडेर आज हली जीवन बिताइरहेको सम्झँदा मन चिसो हुन्छ । कमला मिस त एउटा पात्र मात्र हुन् । आजपनि नेपाली शिक्षामा कमला मिस प्रवृत्ति हावी छ । यी सबै प्रवृत्ति र नेपालको शिक्षा प्रणालीलाई अमरले ‘करोडौं कस्तुरी’ मार्फत नाङ्गेझार बनाएर सिस्नो पानी लगाएका छन् । एस.एल.सीको रिजल्टपछि बुबाआमाको डक्टर पढाउने सपनाकै बिच उपयुक्त कलेज खोजिरहेका विद्यार्थी, मेरो छोराछोरी डाक्टर, नर्स, पाइलट वा इन्जिनियर नै बनोस् अरु नबनोस् भनेर एकोहोरो रटान लिइरहेका अविभावक, कर्मकाण्डी शिक्षणमै अभ्यस्त शिक्षक शिक्षिका अनि हरेक वर्ष विश्वविद्यालयका दिक्षान्त समारोहमा गएर विद्यार्थीलाई दिक्षित गराउने निति निर्माण तहमा रहेकाहरुले हाम्रो शिक्षाले उत्पादन गरेको जनशक्तिको योग्यता मार्कसिटमा होईन उनीहरुको सृजनशील खोज्नुपर्छ । आफ्नो जीवनको वासना नचिनेर भौंतारिरहेका सम्पूर्ण मानवरुपी कस्तुरीहरुले एकपटक अमर न्यौपानेको उपन्यास ‘करोडौं कस्तुरी’ तिर घोरिँदा फाईदै हुन्छ ।
प्रतिकृया लेख्नुहोस्: