धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल र धनबहादुर श्रेष्ठ त्यसका ज्वलन्त उदाहरण हुन्। एक जनाले एउटा र अर्काले दुवै खुट्टा गुमाएका छन्। तर उनीहरूले श्रम गर्ने आँट भने गुमाएका छैनन्। अहिले दुवै जना डोको बुनेर आत्मनिर्भर जीवन बिताइरहेका छन्।
दलबहादुर पौडेलको जीवन २०६४ सालमा अचानक बदलियो। खुट्टामा लागेको सामान्य घाउ निको नभएपछि चिकित्सकले खुट्टा काट्नुपर्ने अवस्था आयो। उपचारका क्रममा घरजग्गा र खेतबारीसमेत बेच्नुपरेपछि उनी जन्मथलो छाडेर नेता चोकमा बसाइँ सरे।
जीवनमा धेरै कुरा गुमाए पनि उनले युवावस्थामा सिकेको डोको बुन्ने सीपलाई नै जीवन धान्ने आधार बनाए। अहिले पनि उनी तीन दिनमा दुईवटा डोको बुन्छन्। एउटा डोको करिब ३०० रुपैयाँमा बिक्री हुन्छ।
‘खुट्टा गुमाएँ, सम्पत्ति पनि गुमाएँ। तर हातले काम गर्न सक्ने अवस्था थियो। त्यसैले यही सीपको भरमा जीवन चलाइरहेको छु,’ पौडेल भन्छन्।
पारिवारिक जीवन पनि उनका लागि सहज रहेन। दुई श्रीमतीमध्ये एकले धेरैअघि साथ छोडिन् भने अर्कीको निधन भइसकेको छ। विवाह भएकी एक्ली छोरी आफ्नै घरमा छिन्। अहिले उनी एक्लै बस्दै आएका छन्। उनका लागि डोको बुन्नु आम्दानीको स्रोत मात्र होइन, एक्लोपनसँग जुध्ने सहारा पनि बनेको छ।
त्यही गाउँका धनबहादुर श्रेष्ठको संघर्ष पनि कम छैन। टिटानसका कारण करिब १० वर्षअघि एउटा खुट्टा गुमाएका उनले पाँच वर्षपछि अर्को खुट्टासमेत गुमाए। दुवै खुट्टा नभएपछि अरूको सहारामा बाँच्नुपर्ने अवस्था आउला भन्ने धेरैको अनुमान थियो। तर उनले त्यसलाई गलत सावित गरे।
श्रेष्ठले पनि डोको बुन्न सिके र विगत एक दशकदेखि यही काम गर्दै आएका छन्।
‘शरीरले साथ नदिए पनि हातले काम गर्न सक्छु भन्ने विश्वास थियो। त्यसैले अरूको भर पर्नुभन्दा आफ्नै श्रम रोजेँ,’ उनले भने।
उनको परिवारमा श्रीमान–श्रीमती मात्र छन्। श्रीमती डिप्रेसनको उपचार गराइरहेकी छन्। डोको बिक्रीबाट हुने आम्दानी र सामाजिक सुरक्षा भत्ताले घरखर्च तथा उपचार खर्च धानिएको छ।
डोको बनाउन गुणस्तरीय बाँस आवश्यक पर्छ। एउटा बाँसबाट दुईवटा डोको तयार हुन्छ। बाँस चिर्ने, सुकाउने र बुन्ने काममा तीन दिनसम्म लाग्छ। त्यसपछि तयार भएको डोको करिब ३०० रुपैयाँमा बिक्री हुन्छ। आम्दानी धेरै नभए पनि यही उनीहरूको जीवनको आधार बनेको छ।
स्थानीय चेतन कार्कीका अनुसार दुवै वृद्ध गाउँका सबैभन्दा मेहनती व्यक्तिमध्ये पर्छन्।
‘उहाँहरूको अवस्था देखेर दया होइन, सम्मान जाग्छ। यति कठिन परिस्थितिमा पनि श्रम गरेर बाँच्नुभएको छ। उहाँहरूबाट धेरै कुरा सिक्न सकिन्छ,’ उनले भने।
महालक्ष्मी नगरपालिकाले पनि उनीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ। नगरप्रमुख ध्रुवराज रायका अनुसार उनीहरूको संघर्षबाट प्रेरणा लिएर शारीरिक रूपमा अशक्त व्यक्तिका लागि सीप विकास, आयआर्जन र आवश्यक प्रविधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन भइरहेको छ।
दलबहादुर पौडेल र धनबहादुर श्रेष्ठले जीवनमा धेरै गुमाए—खुट्टा, सम्पत्ति र सहजता। तर उनीहरूले आत्मविश्वास, श्रमप्रतिको विश्वास र आत्मसम्मान भने गुमाएनन्। डोको बुनेर उनीहरूले केवल आफ्नो जीविका मात्रै चलाएका छैनन्, कठिन परिस्थितिमा पनि श्रम र आत्मबलले जीवनलाई अघि बढाउन सकिन्छ भन्ने प्रेरणादायी सन्देश पनि दिएका छन्।
प्रतिकृया लेख्नुहोस्: