विसं २०३१ मा स्थापना भएको विद्यालयले पाँच दशकभन्दा लामो समयदेखि स्थानीयस्तरमा शैक्षिक सेवा दिँदै आएको छ। हाल प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको विद्यालयमा १२५ विद्यार्थी अध्ययनरत छन्।
विद्यालयमा प्राथमिक तहका लागि तीन स्थायी दरबन्दी स्वीकृत भए पनि हाल दुई जना मात्रै स्थायी शिक्षक कार्यरत छन्। रिक्त दरबन्दीको व्यवस्थापन करार शिक्षकमार्फत गरिएको विद्यालय प्रशासनले जनाएको छ।
प्रधानाध्यापक रामरिझन मण्डलका अनुसार विद्यालयमा हाल १५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। तीमध्ये दुई जना स्थायी, चार जना करार, तीन जना राहत, दुई जना निजी स्रोत तथा बाँकी सङ्घीय अनुदानअन्तर्गत कार्यरत छन्।
विद्यालयले सीमित स्रोतसाधनका बीच पनि शैक्षिक व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ। प्रत्येक विद्यार्थीको भर्नादेखि कक्षाकोठामा हुने गतिविधिसम्मको अभिलेख राख्न छुट्टै रजिस्टरको व्यवस्था गरिएको छ। सोही आधारमा दैनिक, साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिने गरिएको प्रधानाध्यापक मण्डलले बताए।
आर्थिक अभावका बाबजुद विद्यालयले विगतमा उत्साहजनक शैक्षिक नतिजा हासिल गरेको छ। विद्यालयले २०७७ र २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा ल्याएको थियो। यस्तै, २०७८ मा ८८ प्रतिशत, २०७९ मा ९२ प्रतिशत र २०८० मा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
तर चालु शैक्षिक वर्षको एसईई परीक्षामा विद्यालयको नतिजा खस्किएको छ। यस वर्ष १२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनले यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ। कमजोर समग्र नतिजाका बीच पनि पालिकास्तरीय उत्कृष्ट छात्रा यही विद्यालयबाट छनोट भएको प्रधानाध्यापक मण्डलले जानकारी दिए।
“धेरै चुनौतीबीच विद्यालय सञ्चालन गरिरहेका छौँ,” उनले भने, “जनशक्ति, भौतिक पूर्वाधार र आर्थिक स्रोतको अभाव अहिलेका मुख्य समस्या हुन्।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले पर्याप्त दरबन्दी र पूर्वाधार अभावका कारण विद्यालय सञ्चालन चुनौतीपूर्ण बनेको बताए। “हामीसँग आवश्यक स्रोतसाधन छैनन्, तर स्थानीय बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरिरहेका छौँ,” उनले भने।
उनका अनुसार विद्यालय सञ्चालन खर्च तथा ऋण व्यवस्थापनका लागि देउसी–भैलो लगायतका कार्यक्रम सञ्चालन गरेर रकम सङ्कलन गर्नुपर्ने अवस्था छ।
विद्यार्थी सङ्ख्या बढ्दै गए पनि कक्षाकोठा अभावले पठनपाठन प्रभावित भइरहेको छ। एउटै कोठामा विज्ञान प्रयोगशाला र कक्षा सञ्चालन गर्नुपर्ने बाध्यताले प्रयोगात्मक शिक्षामा समेत असर पुगेको विद्यालयले जनाएको छ।
स्थानीयवासी टेकबहादुर बस्नेतले ग्रामीण क्षेत्रमा शिक्षा पहुँच विस्तार गर्न विद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको बताए। “यदि यहाँ माध्यमिक विद्यालय सञ्चालन नभएको भए सयौँ विद्यार्थीको भविष्य अन्योलमा पर्थ्यो,” उनले भने।
विद्यालयले सीमित स्रोतसाधनका बीच पनि शैक्षिक गुणस्तर सुधारका प्रयासलाई निरन्तरता दिइरहेको भन्दै स्थानीयले दरबन्दी थप, आर्थिक सहयोग तथा पूर्वाधार विकासमा राज्यको ध्यानाकर्षण गराएका छन्।
प्रतिकृया लेख्नुहोस्: