काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका नदीहरूको स्वरूप र बहावमा तीव्र परिवर्तन देखिन थालेको एक नयाँ अध्ययनले जनाएको छ। विश्वप्रसिद्ध विज्ञान जर्नल साइन्स मा प्रकाशित अनुसन्धानअनुसार विगत चार दशकमा हिमालबाट उत्पन्न नदीहरूको किनार कटान तथा धार परिवर्तन (ल्याटेरल माइग्रेसन) को दर झण्डै दोब्बर भएको छ।
चीनको चाइना युनिभर्सिटी अफ जियोसाइन्सेज का प्रोफेसर चङसान वाङ र डा. जोङपेङ हानको नेतृत्वमा गरिएको अध्ययनले हिमाली नदीहरू खतरनाक रूपमा अस्थिर बन्दै गएको निष्कर्ष निकालेको छ। अध्ययनमा नेपाल, भारतलगायत दक्षिण एसियाली मुलुकका जलविद्युत् आयोजना, खानेपानी प्रणाली, पूर्वाधार र मानव बस्तीमाथि गम्भीर जोखिम बढ्दै गएको चेतावनी दिइएको छ।
अनुसन्धान टोलीले सन् १९८० देखि २०२० सम्मका भू–उपग्रह तस्बिर र स्थलगत अध्ययनको विश्लेषण गरेको थियो। अध्ययनमा सिन्धु, गंगा र ब्रह्मपुत्र नदी प्रणालीअन्तर्गतका १,५८२ किलोमिटर नदी खण्ड तथा १,०७९ वटा नदी घुम्तीको परिवर्तनको नक्साङ्कन गरिएको थियो।
अध्ययनमा के भेटियो ?
अनुसार सन् १९८०–२००० को तुलनामा सन् २०००–२०२० बीच नदीले धार परिवर्तन गर्ने र किनार कटान गर्ने दर करिब १०० प्रतिशतले बढेको छ। नदीले पुरानो धार छोडेर नयाँ मार्ग बनाउने ‘कटअफ फ्रिक्वेन्सी’ ११५ प्रतिशतले वृद्धि भएको छ भने अचानक नयाँ धार बनाएर बग्ने प्रक्रिया (अभल्सन) ७७ प्रतिशतले बढेको पाइएको छ।
नदी एक स्थानबाट अर्को स्थानमा सर्ने समयावधि समेत ४० प्रतिशतले घटेको अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार हिमालय क्षेत्रका नदीहरू आर्कटिक क्षेत्रका नदीभन्दा बढी जोखिमपूर्ण बन्दै गएका छन्।
आर्कटिक क्षेत्रमा तापक्रम बढेपछि वनस्पति विस्तार भई नदी किनारलाई केही हदसम्म स्थिर बनाउने प्राकृतिक संयन्त्र विकसित हुने गरेको पाइन्छ। तर हिमालयको उच्च क्षेत्रमा वनस्पतिको अभाव भएकाले नदी किनार संरक्षण गर्ने यस्तो प्राकृतिक व्यवस्था कमजोर छ, जसले नदीलाई अझ आक्रामक बनाइरहेको अध्ययनले जनाएको छ।
जलवायु परिवर्तन मुख्य कारण
प्रतिवेदनअनुसार हिमालय क्षेत्र विश्वको औसत तापवृद्धिभन्दा झण्डै दोब्बर गतिमा तातिरहेको छ। तापक्रम वृद्धिसँगै वर्षौंदेखि जमेको माटो र चट्टान (परमाफ्रोस्ट) पग्लिँदा नदी किनार कमजोर बन्दै गएका छन्। साथै हिमनदी तीव्र गतिमा पग्लिँदा नदीमा पानी र गेग्रानको मात्रा बढेर कटान तथा धार परिवर्तनको जोखिम थप बढेको छ।
नेपाल र भारत सबैभन्दा बढी जोखिममा
अध्ययनले हिमाली नदी प्रणालीमा निर्भर करिब दुई अर्ब मानिसको जीवनयापन प्रभावित हुन सक्ने चेतावनी दिएको छ। विशेषगरी नेपाल र भारतलाई सबैभन्दा जोखिममा रहेका मुलुकका रूपमा औंल्याइएको छ।
नेपाल र भारतमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजना, बाँध, पुल, सडक र अन्य पूर्वाधार नदीको धार परिवर्तनका कारण उच्च जोखिममा पर्न सक्ने अध्ययनले जनाएको छ। नदीले नयाँ धार समात्ने, बाढीले संरचना बगाउने वा गेग्रानले पुरिने सम्भावना बढ्दै गएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।
विशेषगरी कोशी नदी क्षेत्रलगायत नेपाल–भारत सीमावर्ती बाढी मैदानमा गेग्रान थुप्रिने र नदी अस्थिर हुने प्रक्रिया तीव्र बन्दै गएको अध्ययनले देखाएको छ। यसले नेपालको पहाडी तथा तराई क्षेत्रसँगै भारतका बिहार र उत्तर प्रदेशमा ठूलो बाढी, कटान र धनजनको क्षति निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
अनुसन्धानकर्ताले हिमाली नदीको तीव्र परिवर्तनलाई जलवायु परिवर्तनको स्पष्ट ‘भू–आकृतिक संकेत’का रूपमा व्याख्या गर्दै आगामी विकास योजना र पूर्वाधार निर्माणमा नदीको सम्भावित धार परिवर्तनलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्न सरकारहरूलाई सुझाव दिएका छन्। अन्यथा भविष्यमा अर्बौं रुपैयाँको लगानी जोखिममा पर्न सक्ने चेतावनी प्रतिवेदनले दिएको छ।
प्रतिकृया लेख्नुहोस्: