इस्लामाबाद। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ । एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा सहभागी हुन इस्लामाबाद पुग्दैछ । यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ । उनले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइबारे छलफल हुने सङ्केत गरेको छन् ।
यद्यपि, वार्ता सुरु हुनुअघि नै चुनौतीहरू स्पष्ट देखिएका छन् । दक्षिणी लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी रहनु र इरानले पूर्वसर्तहरू अघि सार्नुले पाकिस्तानले मध्यस्थता गरेको युद्धविरामलाई कमजोर बनाउने जोखिम देखिएको छ ।
वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन् । सुरक्षा निकायहरूले मुख्य मार्गहरू बन्द गरेका छन् भने सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ । यसले सहरमा कफ्यू जस्तो अवस्था सिर्जना गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले द्वन्द्व ‘कठिन चरण’ मा प्रवेश गरिरहेको बताउँदै अस्थायी युद्धविरामलाई स्थायी समाधानतर्फ रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे।
वासिङ्टनबाट इस्लामाबादतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भान्सलाई शुभकामना दिँदै इरान सैन्य रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गरे। भान्सले पनि वार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेको छन्, तर आवश्यक परे कडा अडान अपनाइने चेतावनी दिएको छन्।
यसैबिच, इजरायल र लेबनानबिच पनि प्रत्यक्ष वार्ताको तयारी भइरहेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनको कार्यालयका अनुसार उक्त वार्ता अमेरिकी राजधानीमा सुरु हुने अपेक्षा गरिएको छ । बेरुतले इजरायलसँग प्रत्यक्ष संवाद गर्न तत्परता देखाए पनि त्यसलाई इरानसँगको जस्तै युद्धविरामको ढाँचामा अघि बढाउन चाहेको छ ।
तर इजरायलले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही नरोकिने अडान लिँदा सहमति प्रक्रिया थप जटिल बनेको छ । हिजबुल्लाह इरानको समर्थनमा युद्धमा संलग्न भएको हो । युद्धविराम घोषणा भएकै दिन बेरुतमा इजरायली हवाई आक्रमण हुँदा ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वयताकै सबैभन्दा ठुलो क्षति हो ।
त्यसपछि पनि आक्रमणहरू जारी रहेका छन् । दक्षिणी सहर नबातीहमा इजरायली आक्रमणमा १३ जना सुरक्षा अधिकारी मारिएको लेबनानी पक्षले जनाएको छ । इजरायली सेनाले भने उत्तरी इजरायलतर्फ प्रहार गरिएका रकेट लन्चरहरूलाई निशाना बनाएको दाबी गरेको छ ।
यस द्वन्द्वको अर्को महत्त्वपूर्ण आयाम स्ट्रेट अफ होर्मुज बनेको छ । इरानले यो जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठुलो असर परेको छ । तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने विश्व अर्थतन्त्रमा दबाब सिर्जना भएको छ । युद्धअघि दैनिक १०० भन्दा बढी जहाज आवतजावत गर्ने उक्त मार्गबाट अहिले अत्यन्तै कम जहाज मात्र गुज्रिरहेका छन् ।
ट्रम्पले इरानसँग वार्तामा सीमित विकल्प रहेको दाबी गर्दै उसले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोगलाई दबाबको साधन बनाएको टिप्पणी गरे। उनका अनुसार वार्तामा सहभागी हुनु नै इरानका लागि अहिलेको प्रमुख विकल्प बनेको छ ।
यस परिस्थितिमा पाकिस्तानमा सुरु हुन लागेको अमेरिका–इरान वार्ताले केवल द्वन्द्वमा अस्थायी विराम ल्याउने मात्र नभई व्यापक क्षेत्रीय स्थायित्वतर्फ मार्ग खोल्न सक्छ कि सक्दैन भन्ने चासो अन्तर्राष्ट्रिय समुदायमा बढ्दो छ ।
प्रतिकृया लेख्नुहोस्: