काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । विश्लेषकहरूका अनुसार नेतृत्वको दम्भ, अहंकार र एकल शैलीको राजनीतिले एमालेको शक्ति खुम्चिएको हो ।
तीनपटक प्रधानमन्त्री र ६ पटक संसदीय निर्वाचन जितेका एमाले अध्यक्ष केपी ओलीले चुनाव हारेका छन् । त्यति मात्र होइन निर्वाचन लडेका पार्टी पदाधिकारी सबैले सर्मनाक पराजय व्यहोर्नुपरेको छ । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा एमाले तेस्रो स्थानका लागि संघर्षरत छ, जबकि ०७९ मा समानुपातिकतर्फ उसले सबैभन्दा धेरै मत पाएको थियो ।
पार्टी नेता र विश्लेषकको बुझाइमा जेन–जी आन्दोलनप्रति ओली सरकारको कठोर व्यवहार, नेतृत्वको अहंकारी शैली, पार्टीभित्रको असन्तुष्टि र विभाजनको शृंखलाले एमालेलाई अहिलेको अवस्थामा पर्याएको हो । अध्यक्षसहित अधिकांश शीर्ष नेताको हारले एमालेको नेतृत्व संरचना हेरफेरको बहस फेरि जागेको छ । अध्यक्ष ओलीलाई नेतृत्वको प्रतिरक्षा गर्न कठिन हुने अवस्था आएको छ ।
जेन–जी विद्रोह, तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीको सत्ताच्युत र भावी नेपालको मार्गचित्रको मुद्दामा भएको निर्वाचनमा एमाले सुरुदेखि नै रक्षात्मक थियो । उसलाई चुनावमा गहिरो धक्का लाग्न सक्ने पार्टीभित्र र बाहिर अनुमान थियो । तर, त्यसलाई पूरै नजरअन्दाज गरेर आफ्नै नेतृत्वमा ओली चुनावमा होमिए । र, चुलिएको असन्तुष्टिबिच मतदाताले पुराना दललाई एकैपटक बिदा गर्ने जनादेश दिए ।
जेन–जी आन्दोलनमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी नलिनु, माफी नमाग्नु, यहीबिचमा पार्टीभित्र फरक मतलाई दण्डित गर्नु र अहंकारले भरिएको नेतृत्व शैलीले अन्तत: एमालेको जनाधार भत्किएको पार्टीभित्र केही नेताको विश्लेषण छ । जेन–जी आन्दोलनकै केन्द्रमा चुनाव भएका वेला पनि ओली र एमाले नेताहरूले सिंहदरबार जलाउने भनेर जेन–जी आन्दोलनका पक्षधरमाथि प्रहार गरिरहँदा त्यसको चोट चुनावमा खानुपर्यो ।
जेन–जी आन्दोलनपछि राज्यले ठुलो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्यो । आन्दोलनका क्रममा विद्यालय पोसाकमै रहेका विद्यार्थीको मृत्यु भएपछि समाजमा गहिरो आक्रोश फैलिएको थियो । धेरै अभिभावकले त्यो घटनालाई आफ्नै छोराछोरीको छातीमा गोली हानेजस्तै पीडाका रूपमा महसुस गरका थिए । तर, ओलीले आन्दोलनलाई ‘विध्वंस’, ‘बाह्य षड्यन्त्र’ र ‘विदेशी इसारामा भएको गतिविधि’का रूपमा व्याख्या गर्दै आएका थिए ।
आन्दोलनमा स्कुले विद्यार्थीको हत्या हुँदा पनि ओलीले क्षमा नमागेकोमा चौतर्फी आलोचना भएको थियो । कार्यकर्ताले प्रधानमन्त्रीबाट राजीनामा नैतिक जिम्मेवारी भए पनि माफी नमागेकोमा सार्वजनिक आलोचना हुँदा पनि ओलीले बेवास्ता गरिरहे । त्यति मात्र होइन, पार्टीभित्रै पनि क्षमायाचनाका लागि सुझाव दिने पदाधिकारी तहका नेतालाई उनले शत्रु करार गर्ने र उल्टै अनुशासन उल्लंघन गरे कारबाहीको डन्डा लगाउनेसम्मको त्रास सिर्जना गरे ।
कोशी प्रदेशमा एक मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटनामा पनि नेतृत्वले संवेदनशीलता नदेखाएको आरोप लाग्यो । त्यस घटनालाई समेत ओलीले ‘पार्टी विधान महाधिवेशन भाँड्ने षड्यन्त्र’का रूपमा व्याख्या गरे । उनको अभिव्यक्तिले आलोचना झन् चर्कियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र त्यसमा राष्ट्रवाद कार्ड उनकै लागि प्रत्युत्पादक भयो । ओलीको चरित्रका कारणले पहिलेका मतदातासँगै एमालेकै कार्यकर्ता र समर्थक असन्तुष्ट रहे ।
एमालेकै थुप्रै नेता जेन–जी आन्दोलनपछि हरेक पार्टीमा नेतृत्व हस्तान्तरणको बहस तात्यो । तर, ओलीले समयअगाडि नै महाधिवेशन गरेर आफूलाई पुन: नेतृत्वमा विराजमान गराए, जसले एमालेभित्रै ठुलो असन्तुष्टि पैदा भयो । महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट पुन: नेतृत्वमा प्रतिनिधिबाट निर्वाचित भएर आए र विरोधी स्वरलाई पन्छाए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निलम्बन गरे भने भण्डारीनिकट कित्तामा रहेका नेता ईश्वर पोखरेलसहितको फरक समूहसँग प्रतिस्पर्धामार्फत निर्वाचित भएर आएपछि फरक समूहलाई पन्छाए ।
आफ्नो शैलीप्रति विमति राख्ने नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बाँस्कोटा, कर्णबहादुर थापालगायतलाई चुनावको टिकट नै दिएनन् । बाँस्कोटा अलोकप्रिय रहेको अर्थ लाग्ने गरी ओलीले तलकै (जिल्ला र क्षेत्रको कमिटी) साथीहरू उनको पक्षमा नरहेको बताएनन् मात्र अरूका हकमा पनि पार्टीले जित्नेहरूलाई मात्र टिकट दिएको प्रतिक्रिया दिए । पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने वेला ती नेताहरूलाई भीम रावललाई जस्तै व्यवहार गरिएकोमा पार्टीभित्र ठुलो कार्यकर्ता पंक्ति असन्तुष्ट बने पनि ओलीले बेवास्ता गरिरहे । न त ती नेताहरूलाई चुनावी परिचालनको परिभाषित जिम्मेवारी दिए ।
राजनीतिक विश्लेषक झलक सुवेदीले सत्तारूढ वर्गसँग सम्झौता गर्दै जाँदा एमालेको यो अवस्था आएको र अब एमालेले माथिदेखि तलसम्म परीक्षित नेतृत्व बिदा गरेर नयाँ नेतृत्व स्थापित गर्ने वेला आएको बताए । ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ मा गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्चले उल्टाइदिएपछि क्रमश: एमालेले आफ्नो नीति–विचार छाड्दै आएको छ । एमाले जुन वर्गमा आधारित थियो, त्यो धरातल गुमाउँदै सत्तारूढ वर्गसँग सम्झौता गर्दै आयो । पार्टीमा आन्तरिक जनवाद र सामूहिक नेतृत्व प्रणाली कमजोर भयो । राज्य सञ्चालनमा नीतिगत विचलन देखिए,’ उनले भने, ‘यी सबै कारणले अहिले एमालेको यो हालत भएको हो । अब एमालेले माथिदेखि तलसम्म परीक्षित नेतृत्व बिदा गरेर नयाँ नेतृत्व स्थापित गर्नुपर्छ । सामाजिक न्याय र वामपन्थी एजेन्डामा फर्किनुपर्छ । यो भयो भने एमाले फेरि उठ्न सम्भव छ ।’
यस्तै, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘एमालेको मात्र होइन, कांग्रेस, नेकपासहित पुराना सबै पार्टीको उस्तै अकल्पनीय पराजय हो । सँगसँगै रास्वपाको जित पनि अकल्पनीय छ । कांग्रेससहित सत्तासीन मूल धारको विचारको राजनीति गर्ने सबै पार्टीहरूको असफलता, राज्यदोहन र भ्रष्टाचारको एउटै जवाफ जनताले मतबाट दिएका छन् । सिद्धान्त र विचारलाई सत्ताबाट सेवाप्रवाहमार्फत अनुभूत गराउनुको सट्टा सधैँ ठगीखाने भाँडो बनाइयो, सरकारमा बिचौलियातन्त्र हाबी भयो र जनतामा निराशा आयो, त्यसकारण अहिलेको नतिजा आयो । त्यसैले अब ओलीजी र अरू पार्टीका नेतृत्वकर्ताले पनि नैतिकताका आधारमा राजीनामा दिएर नयाँ शिराबाट पार्टीहरूलाई पुनर्गठन गर्दै अगाडि लैजानुपर्छ । आवश्यकताभन्दा बढी पद तन्काइएछ भन्ने अहिलेको क्षतिबाट ओलीजीले बुझ्नुपर्छ ।’
राजनीतिशास्त्रका उपप्राध्यापक दीपेश घिमिरेका अनुसार एमालेको हारमा एउटै कारणभन्दा पनि बहुपक्षले काम गरेको छ । उनका अनुसार एमालेले चुनावमा अहिलेसम्मकै कमजोर नतिजा प्राप्त गर्नुका पछाडि मुख्य तीन कारण देखिन्छन् ।
‘पहिलो– अहिलेको नवपुस्ता अर्थात् जेन–जी पुस्ता कुनै पनि पार्टीको दर्शन, सिद्धान्त र विचार मात्र बोकेर हिँड्ने पक्षमा देखिँदैन । त्यसकारण क्याडर बेस्ड (कार्यकर्ता आधारित) पार्टी एमालेले नसोचेको पराजय व्यहोर्यो । अहिलेको राजनीति क्याडर बेस्डबाट मास बेस्डतर्फ सिफ्ट हुन खोजिरहेको छ । कांग्रेसले पनि किन उस्तै नतिजा ल्यायो भने ऊ पनि सदस्य आधारित सेमिक्याडर बेस्ड पार्टी नै हो । त्यसैले निश्चित पार्टीको मात्र विचार र सिद्धान्त बोक्ने राजनीति घट्दै गएको छ,’ उनी भन्छन् ।
यस्तै उनको बुझाइ छ, ‘दोस्रो– एमाले नेतृत्वले त्यति ठुलो जेन–जी विद्रोहमा सत्ताको नेतृत्वकर्ताको हैसियतमा सामान्य कमजोरी पनि स्वीकार नगरेका कारण पनि अहिले उसले ठुलो पराजय व्यहोरेको हो । एमालेकै कार्यकर्ता–समर्थकले नेतृत्वप्रतिको असन्तुष्टि मतमार्फत व्यक्त गरेका छन् ।’
र, ‘तेस्रो– अहिले विश्व राजनीतिमै वर्गीय र असमानताको धारको कुरा गर्ने कम्युनिस्ट राजनीति कमजोर बन्दै गएर असुरक्षातर्फ मोडिँदै गएको छ । अहिले भ्रष्टाचार र राज्यदोहनजस्ता कुराबाट सिर्जित असमानता प्रमुख मुद्दा बनेकाले संसारभरि कोर्स बदलिँदै गएको छ । यो बुझ्न नसक्दा पनि एमालेले ठुलो धक्का व्यहोरेको छ,’ उनले भने ।
एमाले अध्यक्ष ओलीसहित उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव रघुवीर महासेठ तथा सचिवहरू महेश बस्नेत, भानुभक्त ढकाल, शेरधर राई र डा. राजन भट्टराई पराजित भएका छन् । ओली झापा ५, पौडेल रुपन्देही २, पोखरेल दाङ २, गुरुङ लमजुङ र विष्ट गुल्मी २ बाट पराजित भएका हुन् । त्यस्तै, महासेठ धनुषा ४, बस्नेत भक्तपुर २, ढकाल तेह्रथुम, राई भोजपुर र डा. भट्टराई काठमाडौं ४ बाट पराजित भए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: