दार्चुला। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकप्टर मार्फत ढुवानी गरिने भएको छ ।
जिल्लाको व्यास गाउँपालिकामा रहेका मतदान केन्द्रहरू शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ तथा रानीस्थान आधारभूत विद्यालय मालको मतपेटिका र अपि हिमाल गाउँपालिकाको हिमालय आधारभूत विद्यालय पाथा, भवानी आधारभूत विद्यालय सिती, खण्डेश्वरी माध्यमिक विद्यालय क्षत्ती र महिला सामुदायिक भवन सितोलाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गर्ने निर्णय भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विनोद दाहालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालना सम्बन्धी राजनीतिक दलहरूसँग आज भएको बैठकमा उक्त निर्णय गरिएको उनले बताए।
यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखी पठाइएको तथा सानो हेलिकप्टर प्राप्त हुने जानकारी प्राप्त भएको भन्दै उहाँले मतपेटीका र मतदान अधिकृतलाई हेलिकप्टर मार्फत ल्याउने विषयमा बैठकमा पार्टीको प्रतिनिधिहरूले समेत सहमति जनाएको उनको भनाइ छ ।
कारणबस हेलिकप्टर मार्फत ढिला हुने अवस्था भएमा तथा मौसम अनुकूल नभएमा प्रशासन/सुरक्षा निकायले अवस्था हेरी पैदल/सडक मार्ग प्रयोग गरी मतपेटिका ढुवानीको व्यवस्था मिलाउने कुरामा दलका प्रतिनिधिसँग सहमति भएको उनले बताए ।
यस्तै निर्वाचनमा मतदातालाई निर्धक्क भई मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएको छन् ।
मतदानको दिन सबै राजनीतिक दलका तोकिएका आधिकारिक प्रतिनिधिहरूले मतदान केन्द्रमा सहयोग गर्ने र मतदान प्रक्रियालाई बाधा पुग्ने गरी प्रचारप्रसार नगर्ने, तथा मतदान अधिकृत र सुरक्षाकर्मीलाई पूर्ण रुपमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको हो ।
बैठकमा दलका नेताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहितालाई अक्षरस:: पालना गर्ने सहमति पनि जनाएको उनले जानकारी दिए।
मतदानको दिन मतदान केन्द्रको वरिपरि निषेधित गरिएका गतिविधिहरू नगर्ने/नगराउने कुरामा सबै राजनीतिक दल सहमत रहने निर्णय गरिएको उनले बताए।
प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात मतपेटिका ढुवानी गरी ल्याउँदा तोकिएको सवारी साधनमा बस्ने ठाउँको सीमितताका कारण सबै राजनीतिक दलका प्रतिनिधिहरू एकसाथ आउन नसक्ने अवस्था भए राजनीतिक दलहरूले सहयोग गर्न आपसी सहमतिमा समन्वय गरी एक जना साझा प्रतिनिधि मात्र पठाउन दलहरू सहमत भएका छन् ।
यसैगरी मतपेटिका ढुवानीका लागि प्रयोग गरिने सवारी साधनहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, सुरक्षा निकायले तय गरेको सुरक्षित रुटमा रहेर मात्र ढुवानी गने, ढुवानीका क्रममा हुने अनावश्यक ढिलाइ वा अवरोधलाई शून्यमा झार्न र तोकिएको समयमै मतगणना स्थलमा मतपेटिका बुझाउन सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरिएको उनले बताउनुभयो ।
बैठकले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिको पूर्ण पालना गर्ने, यस अवधिमा भौतिक रूपमा वा सामाजिक सञ्जाल मार्फत कुनै पनि प्रकारको मत माग्ने वा प्रचार गर्ने कार्यलाई पूर्ण रूपमा रोकी निर्वाचनको निष्पक्षता कायम राख्न सबै दलले आ–आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिने निर्णय गरेको सूचना अधिकारी दाहालले जानकारी दिए।
मतदानको दिन मतदान केन्द्रमा कुनै विवाद वा असहमति उत्पन्न भएमा, त्यसलाई तत्कालै सम्बन्धित मतदान अधिकृत र उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबिचको आपसी छलफल र सहमतिमा समाधान गर्ने, मतदान कार्यलाई कुनै पनि बहानामा स्थगित हुन नदिन र कानुनी प्रक्रिया भित्र रहेर समस्या सुल्झाउन सबै पक्ष सहमत रहने निर्णय गरिएको उनले बताए।
बैठकमा नेकपा एमालेका उमेशराज जोशी, नेपाली कांग्रेसका पुलेन्द्रबहादुर कार्की, राप्रपाका देवबहादुर बम, रास्वपाबाट परमानन्द बडू, नेपाली कम्युनिस्ट पार्टीका गणेशसिंह खत्री र नेपाल कम्युनिस्ट पार्टी संयुक्तका शेखरचन्द्र बडू सहभागि थिए।
एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा ११ दलका उम्मेदवारले उम्मेदवारी दिएको छन् ।
प्रतिकृया लेख्नुहोस्: