भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रको विकास र जनहितमा काम गर्न सक्ने प्रतिनिधि छान्नेतर्फ ध्यान दिएका छन्।
देशभर नयाँ अनुहारप्रति आकर्षण बढिरहेको अवस्थामा भक्तपुर–२ का स्थानीय पनि यस लहरबाट अछुतो छैनन्। पुराना दल र नेताप्रतिको वितृष्णा, सुस्त प्रशासनबाट आक्रोश, र नयाँ प्रतिनिधिबाट समस्या समाधानको आशा—यी सबैले निर्वाचनलाई अझ रोमाञ्चक बनाएको छ।
पुराना दबदबा र पछिल्लो इतिहास
गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेसका दुर्लभ थापाले महेश बस्नेतलाई पराजित गर्दै विजयी भएका थिए। त्यसअघि २०७४ मा बस्नेत विजयी भएका थिए। यस पटक बस्नेत ‘कमब्याक’का लागि मैदानमा छन्। यस क्षेत्रको अंकगणित हेर्दा एमाले र कांग्रेस दुबै बलियो पार्टीका रूपमा देखिन्छन्।
नेपाल मजदुर किसान पार्टी र रास्वपाले पनि राम्रो मत पाएका छन्। यसै कारण, आगामी चुनावमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, नेमकिपा, उज्यालो नेपाल र राप्रपा बीच प्रतिस्पर्धा हुने देखिन्छ।
मतदाता संरचना
भक्तपुर–२ मा कुल ९८,३५६ मतदाता छन्, जसमा ४८,०७४ पुरुष, ५०,२७७ महिला र ५ अन्य मतदाता रहेका छन्। क्षेत्रको ३९ मतदान स्थल र ११४ मतदान केन्द्र छन्। यहाँ सुर्यविनायक नगरपालिकाका १० वडा र मध्यपुर थिमी नगरपालिकाका ९ वडा पर्दछन्।
के छन् उम्मेदवारका रणनीति ?
रामप्रसाद सापकोटा दीपशिखा नेकपाः रामप्रसाद सापकोटा, जसलाई 'दीपशिखा' भनेर पनि चिनिन्छ, युवा नेता र माओवादी आन्दोलनबाट उदाएका नेता हुन् उनी । यस क्षेत्रका पुराना दलको सीमित कार्यशैलीबाट निराश मतदातामा नयाँ आशा बोकेर आएका छन् सापकोटा। सापकोटाको राजनीतिमा मुख्य ध्यान स्थानीय उत्पादन, पर्यटकीय क्षेत्र, स्वास्थ्य, कृषि र आत्मनिर्भरता बढाउने योजनामा केन्द्रित छ।
उनले भक्तपुरमा एउटै प्रतिनिधि पटकपटक नदोहोरिने नीति अपनाउने बताउँदै मतदातासँग आफ्नो समर्थन मागेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा विकास गर्ने उनका ठोस योजना छन्। उनले विशेष गरी स्थानीय रैथाने उत्पादनको प्रवद्र्धन गरेर युवालाई रोजगारीको अवसर दिन, कृषि उत्पादन बढाउन, र पर्यटकलाई आकर्षित गर्न लक्ष्य राखेका छन्।
सापकोटाले यो चुनावलाई केवल व्यक्तिगत विजयको माध्यम होइन, भक्तपुरमा दीर्घकालीन परिवर्तन ल्याउने अवसरको रूपमा हेरेका छन् । उनी मतदातालाई विश्वास दिलाउन चाहन्छन् कि प्रतिनिधि केवल नीति बनाउने मात्र नभई त्यसलाई कार्यान्वयन गर्ने क्षमता भएको हुनुपर्छ। उनको युवा ऊर्जा र आन्दोलन अनुभवले उनलाई 'नयाँ र सक्षम प्रतिनिधि'को रूपमा प्रस्तुत गरेको छ।
सापकोटा आफ्नो चुनावी अभियानमा स्थानीय समस्या बुझ्न, जनता नजिक पुग्न, र वास्तविक कार्यदिशा प्रस्तुत गर्न सक्रिय छन्। उनी भन्छन् कि पुराना दलहरूले मत माग्दा मात्र काम गर्ने प्रवृत्ति दोहोरिने छ भने नयाँले सक्रियतापूर्वक समस्या समाधान गर्ने छन्।
महेश बस्नेत (एमाले): पूर्व उद्योगमन्त्री, भक्तपुर विकासमा योगदान गरेको दाबी। नीति निर्माता मात्र नभई कार्यकर्ता नेताका रूपमा मतदातासँग जोड्ने योजना।
कविर राणा (कांग्रेस): जिल्ला सभापति, विकास र सुशासन प्रमुख एजेन्डा।
राजीव खत्री (रास्वपा): पत्रकारिता पृष्ठभूमि, नीति सहजीकरणमा बल।
रमेश वैद्य (नेमकिपा): शिक्षा–स्वास्थ्य निःशुल्क, युवाको रोजगारी सुनिश्चित।
जितराम लामा (उज्यालो नेपाल पार्टी): स्थानीय समस्यामा नजिक, शिक्षा–स्वास्थ्य–कृषि–आर्थिक विकासमा काम गर्ने योजना।
जन्मदेव जैसी प्रलोपाः जन्मदेव जैसी भक्तपुर–२ का लागि नयाँ अनुहारका रूपमा प्रस्तुत भएका उम्मेदवार हुन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मैदानमा आएका छन् र आफ्नो चुनावी अभियानमा यस क्षेत्रलाई केवल ऐतिहासिक सहर मात्र नभई उत्पादन, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने लक्ष्य राखेका छन्।
जैसीले मतदातालाई विश्वास दिलाउने प्रयास गर्दै भन्छन् कि प्रतिनिधि केवल चुनाव जित्ने मात्र होइन, कार्यान्वयनयोग्य योजनासहित जनता नजिक पुग्नुपर्ने हुन्छ। उनी स्थानीय उद्योग, कृषि, शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा दीर्घकालीन विकास ल्याउने योजनासहित चुनावी मैदानमा छन्।
उनको रणनीति विशेषगरी नवयुवालाई अवसर दिने, रोजगारी सिर्जना गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नेमा केन्द्रित छ। साथै, जैसीले लोकतान्त्रिक र पारदर्शी शासनको पक्षमा आफ्नो अभियान अघि बढाएका छन्। उनी भक्तपुरका स्थानीय समस्या बुझ्ने र समाधान गर्ने क्षमता भएको दाबी गर्छन्, जसले मतदातामा नयाँ विकल्पको आशा जगाएको छ।
प्रलोपा पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा जन्मदेव जैसीले छोटो समयमा धेरै जनमानसमा आफ्नो परिचय बनाइसकेका छन्। उनका योजनाहरू स्थानीय उत्पादन प्रवर्द्धन, रोजगार सिर्जना र भक्तपुरलाई समृद्धि तर्फ लैजाने योजनासहित तयार छन्।
विक्रम थापा (राप्रपा): भ्रष्टाचार नरोकिने र नगर्ने प्रतिबद्धता।
२०७९ को अंकगणित
प्रत्यक्षतर्फ कांग्रेस पहिलो भए पनि समानुपातिकमा एमालेले बाजी मारेको थियो। रास्वपा तेस्रो, नेमकिपा चौथो, र राप्रपा पाँचौँ स्थानमा थिए। वडागत परिणाम मिश्रित देखिएका थिए, जसले विभिन्न क्षेत्रीय मतदाताको झुकाव स्पष्ट गर्छ।
भक्तपुर–२ सधैं नयाँ अनुहार खोज्ने क्षेत्र हो। यसपटक पनि पुराना दल र नेताले आफ्नो दबदबा जोगाउने प्रयासमा छन् भने नयाँ दल र उम्मेदवारहरूले इतिहास दोहोरिन नदिने रणनीतिमा छन्। मतदाताले अब केवल नाममा होइन, कार्यक्षमता र विश्वासको आधारमा निर्णय गर्ने तयारीमा छन्।
भक्तपुर–२ मा मुख्य प्रतिस्पर्धा तीनतर्फी देखिन्छ: पुराना दबदबा कायम राख्ने एमाले र कांग्रेस, र नयाँ अवसर खोज्ने रास्वपा। नेमकिपा र अन्य नयाँ दलले पनि मतदाताको नयाँ आकांक्षालाई प्रकट गर्ने सम्भावना छ।
प्रतिकृया लेख्नुहोस्: