छ महिनाको उमेरमै आमाको काखबाट छुटिनु परेको पीडा, किसान आन्दोलन, जनयुद्ध, जेल जीवन र शहीद परिवारको पृष्ठभूमिले खड्काको राजनीतिक जीवन निर्माण भएको छ। उनले आफ्नो राजनीतिक यात्रा जन्मसँगै सुरु भएको बताउँछन्।
पूर्वी नेपालको किसान आन्दोलनका क्रममा आमा पक्राउ परेपछि झण्डै दुई हप्ता आमाको दूध खान नपाएको स्मरण सुनाउँदै खड्काले राजनीतिमा आफ्नो चेतना निकै गहिरो रहेको बताए। उनका दाजु ज्ञानबहादुर खड्का पञ्चायतविरोधी आन्दोलनका क्रममा जेलमै हत्या भएका थिए भने अर्का दाजु रितबहादुर खड्का ०५२ सालमा सुरु भएको जनयुद्धका क्रममा शहीद भएका थिए।
‘म जन्मिँदै पञ्चायतविरोधी आन्दोलनको रगतसँग जोडिएको हुँ,’ खड्काले भने, ‘ती बलिदानहरूले मलाई राजनीतिबाट कहिल्यै अलग हुन नसक्ने गरी बाँधिदिए।’
०५२ सालमा एसएलसी दिएलगत्तै जनयुद्धमा समाहित भएका खड्काले आठ वर्ष जेल जीवन बिताएका छन्। उनले लोकतन्त्रलाई नेपालको सबैभन्दा ठूलो उपलब्धि माने पनि राजनीतिक परिवर्तनअनुसार आर्थिक रूपान्तरण हुन नसकेको स्वीकार गरे।
‘हाम्रो पुस्ताले १६–१७ वर्षमै भूमिगत भएर देशको भविष्यका लागि लड्यो। राजतन्त्रको अन्त्य गर्यौँ, गणतन्त्र ल्यायौँ, संविधान लेख्यौँ,’ उनले भने, ‘तर जनताको जीवनस्तर अपेक्षित रूपमा बदलिन सकेको छैन।’
नेपाल सानो र गरिब भएकै कारण केही गर्न सकिँदैन भन्ने मानसिकता गलत भएको उनको धारणा छ। योग्य जनशक्ति विदेशिनु मुलुकको गम्भीर समस्या भएको उल्लेख गर्दै खड्काले रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए।
‘समस्या देश सानो हुनु होइन, उत्पादन नहुनु हो,’ उनले भने, ‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका विषय हुन्।’
दोलखालाई जलविद्युतको राजधानी भनिए पनि स्थानीय जनताको जीवनस्तर कमजोर रहेको उल्लेख गर्दै खड्काले संघीय संसदमा दोलखालीको आवाज बलियो बनाउने प्रतिबद्धता जनाए।
‘लोडसेडिङ अन्त्यमा दोलखाको ४० प्रतिशतभन्दा बढी योगदान छ,’ उनले भने, ‘तर दोलखाली जनताले अझै उज्यालो जीवन पाएका छैनन्।’
पार्टीभित्र आत्मसमीक्षा गर्दै नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिष्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै खड्काले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्ने धारणा राखे।
प्रदेश सरकारमा मन्त्री भएर काम गरेको अनुभव उल्लेख गर्दै उनले संवाद, सहकार्य र जनसल्लाहमा आधारित राजनीतिलाई आफ्नो कार्यशैली बनाउने बताए। दोलखालाई नमुना जिल्लाका रूपमा विकास गर्ने लक्ष्य रहेको भन्दै उनले विकास आश्वासन होइन, निकास हुनुपर्ने बताए।
‘संवादमा विश्वास गर्छु,’ उनले भने, ‘आश्वासन होइन, निकास दिने विकास बोकेर अघि बढ्छु।’
त्यस्तै, केपी ओली नेतृत्वको सरकार असफल भएकै कारण देशले चुनाव थेग्नुपरेको दाबी गर्दै खड्काले सबै पुराना दल असफल नभएको टिप्पणी गरे।
‘ओली नेतृत्वको सरकार असफल भयो, तर सबै पुराना दल एउटै होइनन्,’ उनले भने, ‘सबैलाई एउटै डालामा हालेर हेर्नु गलत हो।’
देशमा व्याप्त निराशा चिर्ने, आशालाई बलियो बनाउने र समतामूलक समृद्धिको आधार निर्माण गर्ने संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको खड्काले बताए।
प्रतिकृया लेख्नुहोस्: