काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो ।
आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने । नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ । उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ ।
गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग जोडिएका थिए । नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताए । उनले ती दिन स्मरण गर्दै भने, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम गर्यौँ । हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उनलाई जिताउन खर्च गर्न थाल्यौँ ।”
उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए ।
तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए । दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराएका थिए । “विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनुपर्छ भनेर मैले पहिलो पटक पार्श्व गायनमा ल्याएँ । उनको सरलता देखेर म छक्क परेको थिएँ । विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भुत थियो । उनमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएन”, निर्देशक श्रेष्ठले उनको स्मरण गर्दै भने ।
पछि तामाङ अभिनेताको रूपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिए । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गरेका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे । गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो ।
अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायकभन्दा पनि अभिनेताको रूपमा अगाडि बढाए । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको शृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रूपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन (डबिङ) गर्ने तयारीमा थिए ।
सोही क्रममा दिल्लीमा रहँदा उनको निधन भयो । कोभिड–१९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थालेका थिए । निर्माता घतानीका अनुसार पत्नी काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा उनी तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्थे । पत्नी एयरहोस्टेस भएका कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनकै हुन्थ्यो ।
“आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्थे । छोरीमा उनले आमाको प्रतिबिम्ब देख्ने गरेको बताउँथे”, निर्माता घतानीले भने ।
कोभिड–१९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयम् कोभिडको बिरामी थिए । आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन नपाएको पीडा उनको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उनको स्वभाव थियो । उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका थिए । सन् २०२२ मा उनकी छोरी जन्मिएकी थिइन् ।
उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङका बुबाआमाको निधन भइसकेकाले उनकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् ।
नेपाली भाषाको गीत सङ्गीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल भएका तामाङलाई हरेक नेपालीले सधैँ सम्झिरहने छन् ।
प्रतिकृया लेख्नुहोस्: