काठमाडौं । ११औँ महाधिवेशनको प्रतिनिधि छनोटसँगै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी र प्रदेश अध्यक्षहरू क्रमश: अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहमा ध्रुवीकृत हुँदै गएका छन् । अहिलेसम्मको अवस्थामा केन्द्रको गणितमा ओलीलाई सहज देखिए पनि पोखरेल थप ध्रुवीकरणको पर्खाइमा छन् ।
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुन लागेको महाधिवेशनकेन्द्रित ध्रुवीकरणकै बिच पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मका नेता खुल्दै गएका छन् । ३५४ जनाको मौजुदा केन्द्रीय कमिटीमा ओलीको पक्षमा १२ पदाधिकारीसहित २९३ सदस्य खुलिसकेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा ६ पदाधिकारीसहित ४३ जना केन्द्रीय सदस्य खुलेका छन् ।
१२ जना केन्द्रीय सदस्य दुवैतिर सम्पर्कमा छन्, उनीहरू केही दिनभित्रै नेतृत्वका सन्दर्भमा स्पष्ट रूपमा धारणा बनाउने पक्षमा छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा वकालत गरेका आधा दर्जन सदस्यले पनि ओलीलाई नै समर्थन गर्ने जनाउ दिएका छन् ।
चारजना केन्द्रीय सदस्यमध्ये डा. शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियाको राजदूत भएर राजीनामा दिइसकेकी छिन् भने रुपन्देहीका कमल गौतमको मृत्यु भएको छ । त्यस्तै, वसन्त नेम्वाङले बिदा लिएका छन् भने प्रकाश शाह केही दिनअघि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
महाधिवेशन तयारी प्रचार समितिकी प्रमुख पद्मा अर्यालले देश विषम परिस्थितिमा रहेका वेला देश र पार्टी दुवैलाई जोगाउन अहिले केपी ओलीको विकल्प खोज्न नहुने बताइन् । ‘यो विषम परिस्थितिमा उहाँको कुनै विकल्प छैन, अबको महाधिवेशनबाट नेतृत्वमा ओलीको विकल्प ओली नै हो, उहाँलाई सर्वसम्मत बनाउनु उपयुक्त हुन्छ,’ ओलीनिकट मानिने उनले भनिन् ।
यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको सन्दर्भमा मौन बसेका कैयौँ केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्ष बनाउने पक्षमा खुल्दै जाने बताए । ‘प्रतिनिधि छनोट सकिएपछि केन्द्रीय कमिटीका लागि आकांक्षीहरू आफ्नो स्वार्थअनुसार खुल्नेछन्, त्यतिवेला मात्र ध्रुवीकरण पनि मूर्त हुन सक्छ,’ ज्ञवालीले भने ।
ओलीको पक्षमा खुलिरहेका नेता–कार्यकर्ताले ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ नारासहितको पोस्टर बनाएर प्रचार थालेका छन् । पोखरेल पक्षघरले ‘आवेग, प्रतिशोध र अहंकारले बच्दैन देश र पार्टीको अस्तित्व, विवेक, सहकार्य र सामूहिकताका लागि ईश्वर पोखरेलको नेतृत्व’को नारा राखेर प्रचारात्मक पोस्टर बनाएका छन् ।
प्रतिनिधि छनोट सकिएसँगै केन्द्रीय नेताहरूको ध्रुवीकरणले थप आकार लिने दुवैतर्फका नेताहरू बताउँछन् । त्यसपछि अध्यक्षका आकांक्षी ओली र पोखरेलमाथि पदाधिकारी र आकांक्षी केन्द्रीय सदस्यको सूची निर्माणमाथि दबाब पर्दै जाने नेता–कार्यकर्ता बताउँछन् ।
यसैबिच, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा अडान राख्दै आएका केही केन्द्रीय सदस्य आसन्न महाधिवेशनबाट पनि ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिन थालेका छन् । पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिएकी स्थायी समिति सदस्य थममाया थापा, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, प्रभा बराल, कृष्ण थापासहित केही केन्द्रीय सदस्य ओलीलाई अध्यक्ष बनाउने गरी खुलेका हुन् ।
भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गरेकी छिन् । उता, भण्डारीको पक्षमै खुलेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल पनि ओलीलाई नै अध्यक्ष बनाउने पक्षमा उभिएका छन् । सात प्रदेश अध्यक्ष र सम्पर्क समन्वय विशेष कमिटीसहित आठ प्रदेश अध्यक्ष कोही पनि पोखरेलको पक्षमा उभिएका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: