Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नाबालिगको डिम्ब खरिद घटनामा मुद्दा नचलाउने निर्णयले विवाद, प्रश्नको घेरामा कोको?

अब यो मुद्दामा के हुन्छ?

खबरडबली संवाददाता

काठमाडौं । राजधानीको एउटा निजी फर्टिलिटी क्लिनिकले दुई जना नाबालिगबाट डिम्ब सङ्कलन गरेको एउटा घटनामा मुद्दा दायर नगर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बहिरिएसँगै त्यसलाई लिएर प्रश्नहरू उठिरहेका छन्।

जेन जी आन्दोलनपछि महान्यायाधिवक्तामा नियुक्त भएकी सबिता भण्डारीको पनि उक्त क्लिनिकमा आबद्धता रहेको भन्दै स्वार्थको द्वन्द्वसँग हेरेर त्यो निर्णयलाई कानुनी चुनौती दिने कतिपय वकिलहरूले बताएका छन्।

उक्त फर्टिलिटी क्लिनिकको एउटा 'पक्ष' आफू पनि रहेकाले मुद्दा नचलाउने निर्णयमा आफू संलग्न नभएको महान्यायाधिवक्ता भण्डारीले बीबीसीलाई बताइन्।

उनले आफूले निरन्तर निष्ठाको पैरवी गरेको भन्दै अर्को पक्षलाई चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो कायमै रहेको बताइन्।

आरोप लागेका क्लिनिकका सञ्चालक र चिकित्सकहरूलाई गएको असारको अन्त्यमा प्रहरीले पक्राउ गर्दा उनीहरू हाजिरी जमानीमा रिहा भएका थिए। त्यस बेला आरोपितहरूका पक्षमा अदालतमा बहस गरेकी उनलाई उक्त क्लिनिकसँग जोडेर प्रहरीले बयान पनि लिएको थियो, जसका क्रममा उनले नाबालिगहरूको डिम्ब प्रयोगयोग्य नै नहुने भन्दै क्लिनिकहरूको दोष नै नरहेको जिकिर गरेकी थिइन्।

भण्डारी गत भदौ अन्तिम साता नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ता नियुक्त भएकी थिइन्।

नेपाल प्रहरीका एक जना अधिकारीले अनुसन्धानमा आफ्नो संलग्नता रहने भए पनि मुद्दा चलाउने या नचलाउने निर्णयमा आफ्नो भूमिका नहुने बताएका छन्।

यो प्रकरण सतहमा आएपछि सर्वोच्च अदालतले मानव डिम्ब सङ्कलनमा अङ्कुश लगाएको थियो भने स्वास्थ्य मन्त्रालयले दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने सहितका व्यवस्था राखेर नयाँ मापदण्ड ल्याएको थियो।

सर्वोच्च अदालतसम्म यो मुद्दा पुर्‍याएका एक जना अधिवक्ताले महान्यायाधिवक्ताको प्रभावमा पछिल्लो निर्णय भएको दाबी गर्दै यसविरूद्ध सर्वोच्च अदालतमा उत्प्रेषणको माग गर्दै निवेदन दायर गराउने बताएका छन्।

महान्यायाधिवक्ता भण्डारी के भन्छिन्?

'बिचौलियामार्फत्' रकम दिएर दुई जना किशोरीहरूलाई शल्यक्रियामार्फत् अण्डादान दिन लगाइएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त फर्टिलिटी क्लिनिककी सञ्चालकसहित सात जनामाथि बालबलिकाविरूद्धको कसुरमा मुद्दा चलाउन काठमाण्डू जिल्ला न्यायाधिवक्ताको कार्यालयमा सिफारिस गरेको थियो।

प्रहरी प्रतिवेदनमा अभिभावकको मन्जुरीसमेत नलिईकन १८ वर्ष भन्दा कम उमेरका किशोरीहरूलाई प्रलोभनमा पारेर 'पीडादायी' प्रक्रियाबाट डिम्ब निकालिएको जिकिर गरिएको थियो।

केपी ओली प्रधानमन्त्री रहँदाकै समयमा यसबारे मुद्दा चलाउने या नचलाउनेबारे सरकारी पक्षले छलफल थालेको थियो। जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट सुरु भएको मुद्दा नचलाउने निर्णयलाई सुरुमा उच्च सरकारी वकिल कार्यालय पाटन र असोजको अन्त्यमा महान्यायाधिवक्ता कार्यालयले अनुमोदन गरेको हो।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानेले बीबीसीसँग भने, "नेपालको कानुनले त्यसलाई कसुर स्थापित गरेको रहेनछ। कसुर स्थापित नभएको आधारमा मुद्दा नचल्ने निर्णय भएको हो। जाहेरवालालाई पनि मुद्दा नचलेको जानकारी दिइएको छ।"

महान्यायाधिवक्ता भण्डारीको परिवारका सदस्य उक्त क्लिनिकमा जोडिएका छन्। उक्त क्लिनिकको 'शेअरहोल्डर' पनि रहेकी उनी त्यसको पक्षमा कानुनी पैरवी गर्न समेत सक्रिय थिइन्। सीआईबीले त्यस बेला उनको समेत बयान लिएको थियो।

बीबीसीलाई मङ्गलवार दिएको प्रतिक्रियामा पनि भण्डारीले आफू उक्त क्लिनिकको 'पक्ष' रहेको बताउँदै आफू अहिलेको निर्णय प्रक्रियामा भने संलग्न नभएको बताइन्।

उनले भनिन्, "जिल्ला, उच्च[सरकारी वकिल कार्यालय]हुँदै निर्णय भएर आउँछ। म भन्दा अघिकै महान्यायाधिवक्ताले यो मुद्दा चल्न सक्ने ठाउँ नै छैन भनिसक्नुभएको थियो। तर यो मुद्दामा मैले निर्णय गर्न मिल्दैन भनेर लेखेर पठाइदिएको थिएँ। पहिले नै टुङ्गिसकेको विषय भएकाले अर्को नायब महान्यायाधिवक्ताले यसबारे निर्णय लिनुभएको हो।"

उनले आफूले सदैव निष्ठाको पक्षमा वकालत गरेको भन्दै त्यसै अनावश्यक आक्षेपहरू सहनुपरेको पनि उल्लेख गरिन्।

निर्णयमा के भनिएको छ?

मुद्दा नचलाउने निर्णयको बेहोरोमा नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले हस्ताक्षर गरेका छन्।

बीबीसीले प्राप्त गरेको त्यससम्बन्धी पत्रमा भनिएको छ, "उमेर नपुगेका पुरुष तथा महिलाले वीर्य वा डिम्ब दान गर्न नहुने गरी प्रचलित कानुनको निषेध गरेको अवस्था देखिदैँन। बालबालिकासम्बन्धी ऐनले यस्तो कार्यलाई स्पष्ट रुपमा बालबालिकाविरूद्धको हिंसा वा बालबलिकाविरूद्धको यौनदुर्व्यवहारका रूपमा निषेधित कार्य अन्तर्गत राखेको अवस्था छैन।"

प्रहरीले कारबाही चलाउन भनि सिफारिस गरेको आईभीएफ क्लिनिकले नेपाल सरकारबाट २०८० श्रावणमा सञ्चालनको अनुमति लिएको भन्दै त्यसको अनुमतिपत्रको नवीकरणको म्याद २०८३ श्रावणसम्म रहेको स्वास्थ्य मन्त्रालयले जनाएको पनि त्यसमा उल्लेख गरिएको छ।

"बालबालिकालाई यस्तो कार्यमा बलपूर्वक प्रयोग गरेको, स्वेच्छाविपरीत प्रयोग गरेको भन्ने अवस्था पनि मिसिलबाट देखिँदैन। पीडितहरूले भरेको फर्ममा उमेर १८ वर्ष पूरा गरेको भन्ने उल्लेख समेत रहेको छ। तसर्थ कानुनले स्पष्टत: कसुरजन्य नमानेको र तथ्यगत आधारमा समेत नाबालिकाको प्रयोगबाट डिम्ब निलेको भन्ने नदेखिँदा ... बालबालिकासम्बन्धी ऐन २०७५ को कसुरअन्तर्गत मुद्दा नचलाउने निर्णय लिएको छु।"

डिम्बको कारोबार गर्न पाइने या नपाइने विषयमा कानुन मौन रहेकाले बालबालिकासम्बन्धी ऐन, २०७५ आकर्षित हुने गरी आफूले अनुसन्धान गरेको तात्कालीन प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका थिए।

तत्कालीन सीआईबी प्रमुख रही आजै प्रहरी महानिरीक्षक पदबाट अवकाश लिन लागेका चन्द्रकुबेर खापुङले एक जना बिचौलिया प्रयोग गरी ती किशोरीहरूलाई आईभीएफ क्लिनिक पुर्‍याइएको र उनीहरूलाई वाचा गरिएको ४५ हजार रुपैयाँको सानो अंश दिइएको बीबीसीलाई बताएका थिए।

उनको भनाइ थियो, "यी नाबालिगहरू डिम्ब निकालिनुअघि पीडादायी प्रक्रियाबाट गुज्रिएको पनि पाइयो। उनीहरूलाई लगातार १० दिनसम्म सुई दिइएको थियो। त्यसपछि डिम्ब परिपक्व भएको भन्ने लागेपछि शल्यक्रियाबाट त्यसलाई निकालिएको थियो। शल्यक्रिया गर्दा कहिलेकाहीँ जटिल समस्या पनि देखिन सक्छ तर त्यसमा समेत अभिभावकको स्वीकृति लिएको पाइएन।"

डिम्ब कारोबारको प्रकरणमा विवादमा तानिएको क्लिनिकका निकटस्थ जानकारहरूले कुनै पनि व्यक्तिले आफ्नो उमेर १६ वर्षभन्दा माथि दाबी गर्दै अस्पतालमा आएमा अन्य कागजपत्र माग्नुपर्ने व्यवस्था नेपाल मेडिकल काउन्सिलले नगरेको तर्क गर्ने गरेको पाइन्छ।

उनीहरूले पीडित भनिएका किशोरीहरूले नै गलत नाम र उमेर टिपाएको भन्दै प्रहरी अनुसन्धानमाथि समेत प्रश्न गर्ने गरेका छन्।

प्रहरीले पनि यो प्रकरणलाई अण्डाको 'तस्करी' को घटनाका रूपमा प्रस्तुत गरे पनि अरू उजुरी नपरेकामा उनीहरूको प्रश्न छ।

त्यस बेला प्रहरी अधिकारीहरूले देशका विभिन्न ठाउँका फर्टिलिटी क्लिनिकहरूलाई पनि आफूहरूले अनुसन्धानको दायरामा ल्याएको बताएका थिए। तर अन्य ठाउँबाट यस्ता घटना भएका गुनासाहरू भने आएका छैनन्।

अब यो मुद्दामा के हुन्छ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयबारे आफूहरूलाई जानकारी गराइएको बताए।

उनले भने, "मुद्दा चल्ने नचल्ने सबै अधिकार कानुनले सरकारी वकिलको कार्यालयलाई दिएको हुन्छ। त्यहाँबाट निर्णय भएपछि हामीले थप केही गर्न सक्ने अवस्था हुँदैन। सम्बन्धित मान्छेहरूले नै रिट निवेदन हालेर अदालतबाट मुद्दा चलाउनू भन्ने भयो भने त्यो अघि बढ्न सक्छ। नत्र प्रहरीले केही गर्न सक्दैन।"

पीडित परिवारले घटनालगत्तै बीबीसीसँग कुरा गर्दा अरू किशोरिहरू डिम्ब ब्रिक्रीका लागि प्रलोभनमा नपरून् भनेर आफूहरू प्रहरीकोमा आएको बीबीसीलाई बताएका थिए।

यो प्रकरण सतहमा आएपछि घटनाबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयले पनि एउटा समिति बनाएको थियो।

उक्त समितिको अनुसन्धानले आरोपित क्लिनिकको इज्जातपत्र कायम रहेको भए पनि नाबालिग किशोरीबाट डिम्ब खरिद गरिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले सोबारे थप उल्लेख गर्नुनपर्ने सुझाव दिएको थियो।

उसले दिएको सिफारिसबमोजिम स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले डिम्ब तथा विर्यदानको मापदण्डसहितका व्यवस्था राखेर निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड ल्याएको थियो।

तर त्यसको केही दिन नबित्दै गएको भदौ ३ गते सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यो प्रकरण देखाएर प्रस्तुत गरिएको एउटा रिट निवेदनमा इजलासले डिम्ब निष्काशन र भण्डारण रोक्न आदेश दिएको थियो।

त्यसमा 'बालिका तथा किशोरी शोषण हुन सक्ने जोखिम र सुविधा सन्तुलनलाई समेत दृष्टिगत गरी प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नेपाल राज्यभर महिला तथा बालबालिकाबाट डिम्ब निष्काशन तथा भण्डारण गर्ने कार्यमा रोक लगाई सरकारको नियमन र निगरानी प्रभावकारी बनाउनू भनी विपक्षीको नाममा अन्तरिम आदेश' जारी गरिएको उल्लेख छ।

उक्त मुद्दा अझै चलिरहेको छ। त्यसमा पैरवी गरेका एक जना अधिवक्ता ध्रुव भण्डारीले महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिने तयारी आफूहरूले गरिरहेको बताएका छन्।

उनले बीबीसीसँग भने, "मुद्दा नचलाउने निर्णय गर्दा पनि खासै औचित्यपूर्ण कारणहरू दिइएको छैन। बच्चाहरू जोडिएको मुद्दामा संवेदनशीलता अपनाइएको छैन। उनीहरूको जन्मदर्ता [जस्ता कागजात] केही पनि हेरिएको छैन।"

उनले थपे, "महान्यायधिवक्ता नियुक्त हुनुभन्दा अघि उहाँ प्रतिवादीको तर्फबाट बहसमा जानुभएको थियो। उहाँ नियुक्त भएको एक महिनामा नै अति प्राथमिकतामा राखेर मुद्दा नचलाउने निर्णय गरियो। यसमा स्वार्थ बाझियो र उहाँले आफ्नो अनुकूल गर्नुभयो भन्नेमा दुईमत छैन।"

उनले मुद्दा नचलाउने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयले सर्वोच्च अदालतले आफूहरूले विगतमा दायर गरेको मुद्दामा गम्भीरताका साथ उठाएका प्रश्नहरूलाई समेत 'अवमूल्यन' गरेको टिप्पणी गरे। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending