काठमाडौं । जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील अभियान नेपालको यात्रा सुरुवातमै ठूलो धक्का लागेको छ । अभियाकी नेतृ तथा पूर्व सांसद अञ्जना विशंखेले शर्मा नेतृत्वको अभियानबाट औपचारिक रूपमा बिदाइ लिएकी छन् ।
शर्मा समूहले विशंखेलाई दोस्रो वरियता अर्थात् वरिष्ठ उपाध्यक्षको पदमा राखेर ठूलो विश्वास व्यक्त गरेको थियो, तर यो घटनाले समूहको आन्तरिक एकताको दाबीलाई प्रश्नचिन्ह लगाएको छ । विशंखेको यो कदमले शर्मा समूहको राजनीतिक विश्वसनीयता र संगठनात्मक क्षमतामाथि गम्भीर संदेह उत्पन्न गरेको छ, जसले गर्दा उनीहरूको 'तेस्रो बाटो' को अवधारणा नै जोखिममा परेको देखिन्छ ।
विशंखेले आफ्नो फेसबुक पेजमार्फत स्पष्ट पारेकी छन् कि उनी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा हुनेछिन् । विभिन्न पार्टी र समूहको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीमै रहनेछिन् । उनले व्यक्तिगत सम्बन्धका कारण शर्मा समूहमा सामेल भए पनि अब अभियानबाट अलग भएको बताउँदै, 'मेरो राजनीतिक प्रतिबद्धता प्रचण्डकै नेतृत्वप्रतिको विश्वासमा अडिग छ' भनेकी छन् ।
यो घोषणाले शर्मा समूहको नेतृत्व शैली र निर्णय प्रक्रियामा गम्भीर त्रुटि भएको संकेत गरेको छ । विशंखेको यो कदमले शर्मा समूहको 'प्रगतिशील' दाबीलाई खोक्रो साबित गरेको छ, किनकि उनीहरूले एकताको नाममा विभिन्न समूहबाट नेताहरू ताने पनि तिनलाई लामो समयसम्म एकजुट राख्न असफल भएका छन् ।
शर्मा निकटवर्तीहरूले भने यो घटनालाई सामान्य ठानेका छन् । तर, नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा विशंखेले केन्द्रीय समिति बैठक र राष्ट्रिय सम्मेलनको माइनुटमा हस्ताक्षर गरेको उल्लेख गर्दै, उनीहरूको अभियानसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पारेको छ ।
यो घटनाले शर्मा समूहको आन्तरिक कलहलाई मात्र होइन, उनीहरूको राजनीतिक रणनीतिको कमजोरीलाई पनि उजागर गरेको छ । यो घटना शर्मा समूहको विगतका विवादहरूसँग जोडेर हेर्दा झन् चिन्ताजनक देखिन्छ । शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपालको घोषणा केही दिन अघिको हो, जसमा माओवादी केन्द्रबाट अलग भएका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की लगायतका असन्तुष्ट नेताहरू सामेल थिए । तर, यो अभियानको सुरुवातमै विशंखेको बहिर्गमनले समूहको स्थिरतामाथि प्रश्न उठाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, शर्मा समूहको यो कदमले नेपाली कम्युनिष्ट आन्दोलनलाई थप खण्डित बनाउने खतरा छ, जसले युवा पुस्ताको जेन-जि आन्दोलनको भ्रष्टाचारविरोधी भावनालाई पनि अपमान गरेको छ । शर्मा समूहले एकताको नाममा भ्रष्टाचार मुद्दामा मुछिएका नेताहरूलाई समेटेको आरोप लाग्दै आएको छ, जसलाई राम कार्कीले नै 'भ्रष्टाचार मुद्दा लागेका नेताहरू टाउकामा कल्की झुन्ड्याएर एकताको स्वाङ' भनेर आलोचना गरेका थिए ।
यसबाहेक, शर्मा समूहको विगतका काण्डहरूले पनि उनीहरूको विश्वसनीयतालाई धराशायी बनाएका छन् । २०७९ मा अर्थमन्त्री हुँदा शर्मामाथि सिमेन्ट आयातमा अनियमितता र भ्रष्टाचारको गम्भीर आरोप लागेको थियो । विशेष समितिले थप अनुसन्धानको सिफारिस गर्दा पनि यो प्रकरण पूर्ण रूपमा ओझेलमा परेको छ, जसले गर्दा शर्मा समूहको 'सुशासन' को दाबी खोक्रो प्रमाणित भएको छ ।
राजनीतिक टिप्पणीकारहरू भन्छन्, 'शर्मा समूहले माओवादी केन्द्रको एकता प्रक्रियालाई भ्रष्टाचारको संरक्षण ठानेर बहिष्कार गरे पनि, उनीहरू स्वयं विगतका विवादहरूबाट मुक्त छैनन् । यो अभियानले नेपाली राजनीतिलाई नयाँ दिशा दिन्छ भन्ने दाबी अब हावामा उड्न थालेको छ ।'
यसरी, विशंखेको बहिर्गमनले शर्मा समूहको राजनीतिक यात्रालाई सुरुमै धक्का दिएको छ, जसले उनीहरूको गलत रणनीति र आन्तरिक कमजोरीलाई स्पष्ट रूपमा उजागर गरेको छ । अब प्रश्न उठ्छ, यो अभियान कति टिक्नेछ र नेपाली कम्युनिष्ट आन्दोलनमा यसको प्रभाव के हुने छ ?
प्रतिकृया लेख्नुहोस्: