Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सिंहदरबार फर्किए कर्मचारी- के काम, कहाँ बसेर गर्ने भन्ने अन्योलता

खबरडबली संवाददाता

काठमाडौँ। सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्योलता देखिएको छ । 

कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने भनेर माथिल्लो निकायको स्पष्ट निर्देशन आइनसकेको अवस्थामा अन्योलता देखिएको हो ।

प्रष्ट कार्ययोजना र तत्कालीन प्राथमिकता तय नहुँदा केही कर्मचारीहरू हाजिर गरेर घर फर्किएका छन् भने केही मन्त्रालय परिसरबाहिर समूह बनाएर गफ गरिरहेका भेटिन्छन् । कम क्षति भएका मन्त्रालय तथा निकायका कर्मचारी तत्काल सेवामा खटिनसक्ने अवस्था भए पनि नेतृत्व र निर्देशन अभावमा काम रोकिएको हो ।

जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयका कर्मचारीहरूले आज अस्थायी रूपमा रजिस्टर वा हाजिरी कापीमार्फत उपस्थिति जनाएका छन् । 

आज मध्याह्न करिब १२:०० बजेतिर राससकर्मी त्यहाँ पुग्दा ऊर्जा सचिव सरिता दवाडीको कार्यकक्षमा अब कसरी अघि बढ्ने भनेर माथिल्लो तहका कर्मचारीको अनौपचारिक बैठक बसिरहेको थियो । आगजनी र तोडफोडबाट क्षतिग्रस्त अन्य केही कोठामा पनि कर्मचारीको उपस्थिति देखिन्थ्यो तर कागजात र महत्त्वपूर्ण सामग्रीको सुरक्षामा भने मन्त्रालयको चासो देखिएन । 

ऊर्जा मन्त्रालयमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन् । मन्त्रालयका सूचना अधिकारी राजु महर्जनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन, मुचुल्का तयार पार्ने र अभिलेख राख्ने प्रारम्भिक तयारी भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति देखिए पनि अहिलेको अवस्थामा के काम गर्ने र कसरी अघि बढ्ने भन्नेबारे कर्मचारीलाई स्पष्ट निर्देशन छैन । “हाल क्षतिको विवरण सङ्कलन र त्यसको अभिलेख बनाउने काम भइरहेको छ । त्यसबाहेक अन्य काम मन्त्री वा सरकारको प्रष्ट निर्देशनपछि मात्र अघि बढ्छ”, मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले रासससँग भन्नुभयो । 

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर सार्वजनिक यातायात सञ्चालनबारे छलफल भए पनि अन्य नियमित सेवा प्रवाहमा गतिशीलता देखिएन । 

अब कसरी अघि बढ्नेबारे अर्थ मन्त्रालयको भने तुलनात्मक रूपमा सक्रियता देखिएको छ । बजेट महाशाखाभित्रको एउटा शाखा प्रभावित भए पनि मन्त्रालयको काम सञ्चालनमा आइसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठक बस्ने तयारी भइरहेको छ । 

“अब पुनर्निर्माण र आगामी निर्वाचनका लागि आवश्यक खर्च व्यवस्थापनमा बढी जोड गर्नुपर्छ भनेर आन्तरिक छलफल तथा तयारी सुरु भइसकेका छन् । यसका लागि अहिलेको बजेटमा के व्यवस्था गर्न सकिन्छ, सोको छलफल र विश्लेषण भइरहेको छ । राजस्व स्रोत व्यवस्थापन गर्ने र खर्च कटौतीबारे छलफल भइरहेको छ”, पाण्डेयले भन्नुभयो । 

जेनजी प्रदर्शनका क्रममा देशभर भएको क्षतिको विवरण यकीन गर्ने र त्यसको लागत तयार पार्ने विषयमा राष्ट्रिय योजना आयोगले पनि आन्तरिक तयारी थालेको छ । आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आयोगले ‘पोस्ट डिजास्टर निड एसिसमेन्ट’ का लागि आन्तरिक छलफल थालेको हो ।

जलेर नष्ट भएका भग्नावशेषको अगाडि उभिएर हेरिरहेका भेटिए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी । भवन जलेपछि कामको अन्यौलतामा रहेका कर्मचारीहरू अहिले हातले हाजिरी गरिरहेका छन् । केही कर्मचारी क्षतिको विवरण सङ्कलनमा खटिएका थिए । पूर्ण रूपमा क्षति भएको स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट काम थाल्ने तयारी गरिरहेको स्वास्थ्य सचिव डा विकास देवकोटाले जानकारी दिनुभयो ।

यसरी मन्त्रालयका संरचना क्षतिग्रस्त, विद्युत् तथा इन्टरनेट जस्ता आधारभूत सुविधा विच्छेद र प्रष्ट निर्देशन नहुँदा नियमित काम अघि बढ्न सकेका छैनन् । उच्च तहबाट अबको नीति र त्यसको कार्यान्वयनका लागि स्पष्ट निर्देशन आउन ढिलाइ हुँदा कर्मचारीमा के काम गर्ने भन्ने अन्योलता बढेको हो । 

सिंहदरबारभित्रको यो अवस्था केबल आगजनी र तोडफोडको क्षति मात्र होइन, समग्र प्रशासनिक संयन्त्रको कमजोर तयारी र सङ्कट व्यवस्थापन क्षमताको पनि सूचक हो । स्थायी सरकार मानिने प्रशासनिक संरचनामा देखिएको यस्तो अन्यौलतले सङ्कट व्यवस्थापन क्षमतामाथिसमेत प्रश्न उठाउँछ ।

क्षतिको पूर्ण मूल्याङ्कन र पुनर्निर्माण कति छिटो सम्भव हुन्छ रु, सामान्य नागरिकलाई प्रभाव पार्ने प्रशासनिक सेवा कति दिन ठप्प रहन्छ रु, आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार र बजेट समयमै जुट्छ रु लगायत प्रश्नको जवाफ अझै स्पष्ट छैन । राज्य सञ्चालनलाई पुन:गतिमा ल्याउन तत्काल उच्च तहको निर्णय, स्पष्ट प्राथमिकता र प्रभावकारी सङ्कट व्यवस्थापन रणनीति अपरिहार्य देखिन्छ । तर क्षतिग्रस्त कोठाहरूमा कुनै सुरक्षा व्यवस्था नहुँदा बाह्य व्यक्तिलेसमेत सजिलै प्रवेश गर्नसक्ने अवस्था देखिनु प्रशासनिक संवेदनशीलता र सुरक्षात्मक कमजोरीको सङ्केत हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending