Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

ऐनको मुद्दामा पनि झल्कियो सत्ताको अनुहार

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सञ्जालबाट पटक–पटक चरित्रहत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भए पनि एमाले केन्द्रीय सदस्य ऐन महरले सत्ताको आशीर्वादमा हिरासत बस्नबाट उन्मुक्ति पाएका छन् । पक्राउ छल्न बुधबार दिउँसो आफैँ भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरो पुगेका महरलाई म्याद थप प्रक्रियाका लागि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको थियो । 

तर, सरकारी वकिलले म्याद थपका लागि जिल्ला अदालत नै नलगी हाजिरी जमानीमा छाड्ने निर्णय गरेर महरलाई तीन घण्टामै ससम्मान घर पठाएको छ । महरलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले नै अनुमति दिएको थियो । यसबाहेक पनि उनीविरुद्ध बलात्कारको अर्को जाहेरी पनि प्रहरीमा छ ।

महरविरुद्ध बलात्कारको जाहेरीसमेत दिएकी उनै महिलालाई भने उल्टै महर, उनकी श्रीमती सनुजा श्रेष्ठ र आफन्तको उजुरीका आधारमा प्रहरीले तीनपटकसम्म पक्राउ गरेर ५० दिन हिरासतमा राखिसकेको छ । तर, पीडित महिलाले नेता महर र उनकी श्रीमती श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्न नै ठुलो संघर्ष गर्नुपर्‍यो । उनका अनुसार १२ असारमै जाहेरी लिएर ब्युरो कार्यालय पुगेकी थिइन् । तर, सत्ता र शक्तिको दबाबमा ब्युरोले जाहेरी दर्ता नै गरेन । त्यसपछि पनि दुई दिन बिराएर धाउँदासमेत दर्ता नभएपछि हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । उक्त जाहेरी ३ भदौमा दर्ता भएको थियो ।

पीडित महिलाले सत्ता र शक्तिको आडमा न्याय पाउन गाह्रो भएको गुनासो गरिन् । ‘महर मात्रै होइन, उनकी श्रीमती र आफन्तले समेत मेरो फोटो राखेर तथानाम लेखे । तथानाम गाली गरे । डिप फेक भिडियो बनाए । सामाजिक सञ्जालमा हाले,’ उनले भनिन्, ‘पटक–पटक चरित्रहत्या भएपछि म जाहेरी लिएर साइबर ब्युरो पुगेँ, तर प्रहरीले जाहेरी दर्ता नै गर्न मानेन । केही सिप नलागेपछि हुलाकबाट पठाएको जाहेरी बल्ल दर्ता भयो । अदालतबाट पक्राउ पुर्जी पनि जारी भएपछि केही आशा पलाएको थियो । तर, सरकारी वकिलको कार्यालयले उनलाई तीन घण्टामै हाजिरी जमानीमा छाडेको घटनाले मर्माहत बनाएको छ । सत्ता र शक्तिको आडमा पीडितले न्याय पाउन गाह्रो हुने अनुभूति भएको छ ।

त्यसो त अदालतबाट पक्राउ अनुमति लिए पनि साइबर ब्युरोले उनलाई पक्राउ गरेन । ‘आफैँ कार्यालयमा उपस्थित हुनू’ भनेर सहज बनाइदियो । महर श्रीमतीसहित दिउँसो ब्युरो कार्यालय पुगेका थिए ।

सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि महरदम्पतीलाई छाडिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए । ‘महरदम्पती दिउँसो ब्युरोमा हाजिर हुन आउनुभएको थियो । बयानपछि उहाँहरूलाई सरकारी वकिल कार्यालय लगियो । वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको निर्देशन ब्युरोमा आएपछि छाडिएको हो ।’ 

सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले अनुसन्धान गर्न म्याद थप गर्नुपर्ने कारण नदेखिएपछि महरलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको बताए । उनले भने, ‘साइबर कसुर गरेको भन्दै उहाँ (महर)विरुद्ध उजुरी परेको थियो ।

प्रहरीले पक्राउ गरेर हामीकहाँ उपस्थित गरायो । घटना विवरण हेर्दा थप अनुसन्धानका लागि म्याद माग गर्नुपर्नेजस्तो देखिएन, अनि हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो,’ उनले भने ।

नेता महरले भने आफूमाथि भ्रम फैलाएर चरित्रहत्या गरिएको दाबी गरेका छन् । बुधबार साँझ श्रीमतीसहित फेसबुक लाइभमा आएर उनले साना विषयलाई अत्यन्त ठुलो बनाएर प्रचारप्रसार गरिएको बताएका छन् । ‘हामी दुवैजना (श्रीमतीसहित) ८–९ महिनाअघि फेसबुक लाइभमा बसेर जे कुरा भनेका थियौँ, त्यसैलाई लिएर चरित्रहत्या भयो भनियो । तर, म फेरि भन्न चाहन्छु उक्त लाइभमा असाध्यै मर्यादित शब्दहरू, कसैको चरित्रहत्या नगरी हाम्रो विषयमा उठेका प्रश्नहरूको जवाफ दिएको हो,’ उनले भने, ‘त्यो विषयमा साइबर ब्युरोमा उजुरी दर्ता भएको र त्यसै विषयमा बुझ्नका लागि फोन आएपछि हामीहरू गएका हौँ ।’

कसैप्रति लक्षित केही नबोल्दा पनि साइबर क्राइमको मुद्दा लगाउन खोजिएको उनको भनाइ छ । राजनीतिक मान्छे भएकै कारणले न्याय नपाउने भन्ने नहुने पनि उनले बताए । उनले साइबर क्राइमको परिभाषाकै पुनव्याख्या आवश्यक रहेको पनि बताए ।

पीडित महिलाको आर्तनाद– ममाथि राज्यले नै अन्याय गर्‍यो

घटना २ जेठ ०८० को हो । ऐन महरले मलाई अनामनगरस्थित कार्यालयमा बोलाएपछि कार्यकर्ताको हैसियतमा म गएँ । कार्यालयमै ममाथि जबर्जस्ती भयो । म प्रहरीमा जाहेरी दिने तयारीमा लागेको थाहा पाएपछि उसले ‘आफू एचआइभी संक्रमित भएको’ भन्दै मानसिक टर्चर र धम्की मात्रै दिएन, मोबाइल लुटेर प्रमाणहरू पनि नष्ट गरिदियो । अनेक प्रयासबिच हुलाकमार्फत दिएको जाहेरी २५ वैशाख ०८१ मा काठमाडौं प्रहरी परिसरमा दर्ता भयो । तर, प्रहरीले घटनाको अनुसन्धान नै गरेन । अनुसन्धान रोक्न सरकारी वकिलको कार्यालयले जाहेरी नै तामेलीमा राखिदियो । त्यसविरुद्ध उच्च अदालत पाटन पुगेँ । उच्चले घटनाको अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । न्याय पाउने आशामा थिएँ । तर, फेरि सरकारी वकिल कार्यालयले तामेलीमै राख्ने निर्णय गर्‍यो । राज्यशक्तिको बलमा उल्टै महरदम्पतीले मविरुद्ध पाँचवटा जाहेरी प्रहरीमा दर्ता गराए । तीनवटा जाहेरीमा मलाई पक्राउ गरेर ५० दिन हिरासतमा राखिसकेको छ । दुई जाहेरी अझै विचाराधीन छन् । ममाथि मुद्दामाथि मुद्दा लगाएर अत्याचार गरेका छन्, जबकि पीडित म हुँ । मविरुद्ध टर्चर सकिएको छैन । सामाजिक सञ्जालमार्फत मेरो चरित्रहत्या गर्ने क्रम जारी छ । मेरो जाहेरी बल्लतल्ल दर्ता भए पनि सत्ताको आडमा उसले उन्मुक्ति पाएको छ । मलाई राज्यले नै अन्याय गर्‍यो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending