Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

चार वर्षदेखि ‘पूर्व’ हटाएर ‘श्री ५’ बनेका ज्ञानेन्द्र शाहले बदलेका राजनीतिक सन्देश

राजसंस्थाको पक्षमा पूर्वराजाको अभिव्यक्ति, आन्दोलनबाट फर्कन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नारायणहिटी दरबारबाट बाहिरिएको झन्डै १७ वर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालि नयाँ वर्षको पूर्वसन्ध्यामा जारी आफ्नो वक्तव्यमा 'संवैधानिक राजसंस्था'बारे आफ्नो मान्यता कायमै रहेको बताएका छन्।

पछिल्लो समय राजनीतिक सक्रियता बढाएको आरोपमा सरकार र गणतन्त्र पक्षधर दलहरूले कारबाहीको चेतावनी दिइरहँदा शुभकामना सन्देशमा पूर्वराजा शाहले 'मुलुकको समग्र संरचनामा हेरफेर'को प्रस्ताव समेत अघि सारेका छन्।

विशेष गरी गत महिना राजतन्त्र पक्षधर समर्थकहरूको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटजस्ता घटना समेत भएपछि गणतन्त्रवादी दलहरूले पूर्वराजामाथि कारबाहीको माग गरेका थिए। पूर्वराजाले भने उक्त घटनाबारे दुःख व्यक्त गरेका छन्।

विसं २०६५ जेठ २९ गते दरबार छाडेका शाहले लामो समय आफूलाई पूर्वराजाकै रूपमा चिनाएका थिए। चार वर्ष अघिसम्म नयाँ वर्षका दिन पूर्वराजाकै हैसियतमा शुभकामना सन्देश दिएका शाहले विसं २०७९ साल वैशाख १ गते दिएको शुभकामना सन्देशमा भने पूर्व हटाएर 'श्री ५ महाराजधिराज' उल्लेख गरेका छन्।

बीबीसीले पछिल्लो पाँच वर्ष नयाँ वर्षका अवसरमा पूर्वराजा शाहले दिएका शुभकामना सन्देश अध्ययन गरेको छ।

शुभकामना सन्देशमा फेरिएको राजनीतिक भाषा

नयाँ वर्ष २०७८ सालको शुभकामना सन्देशमा पूर्वराजा शाहले अप्रत्यक्ष रूपमा दलहरूको आपसी असमझदारीप्रति सङ्केत गरेका छन्। उनले "राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी" कायम राख्न आग्रह गरेका छन्।

अर्को वर्षको शुभकामना सन्देशमा पूर्वराजाले आफ्नो नामअघि 'पूर्व' हटाएका छन्। नयाँ वर्ष २०७९ को अवसरमा जारी सन्देशमा शाहले भूराजनीतिक मामलामा देशले कसैसँग टाँसिने र कसैसँग दूरभाव राख्ने नीति लिएको धारणा देखिएकोप्रति सरकारलाई सचेत गराएका छन्।

त्यस वर्ष उनको राजनीतिक असन्तुष्टि अघिल्लो वर्षभन्दा स्पष्टसँग व्यक्त गरिएको छ।

"चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन। यो हाम्रो चिन्ताको विषय हो," पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ।

त्यही वर्ष नेपालमा स्थानीय, प्रदेश र सङ्घीय संसद्‌का चुनाव भए। चुनावमा प्रमुख राजनीतिक शक्तिहरूप्रति देखिएको भनिएको निराशालाई पूर्वराजाले शासकीय पद्धतिसँग जोडेर विसं २०८० को नयाँ वर्षको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

"युवा पिँढी विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ। विगत तीन दशकभन्दा बढी समयको अनर्थ प्रयत्नउपर उनीहरूको चरम विद्रोहभाव देखिन थालेको छ," पूर्वराजाले भनेका छन्।

उक्त वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभामा उम्मेदवारी दिएको थिएन भने काठमाण्डूका चर्चित मेअर बालेन शाहले पनि प्रदेशतर्फ मतदान गरेका थिएनन्।

पूर्वराजाले त्यस वर्ष "आम नेपालीको आशा र अनुभूतिलाई बुझेर अग्रगतितर्फ" लाग्न आह्वान गरेका थिए।

अर्को वर्ष २०८१ सालको शुभकामना सन्देशमा पूर्वराजाले "देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर (यो) सोच र समझदारी बनाउन" आह्वान गरेका थिए।

उनले उक्त शुभकामना सन्देशमा देशमा 'विधि, व्यवस्था, शब्द र रूप बदलिए पनि गुणात्मक परिवर्तन हुन नसकेको' उल्लेख गरेका थिए।

उनले देशको अस्थिरताप्रति चिन्ता गर्दै गत वर्षको शुभकामना सन्देशमा भनेका थिए, "अब सबै कुराको पुनरवलोकन गरौँ, गम्भीर भएर सोचौँ, सबै मिलौँ, कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट अघि बढौँ।"

राजसंस्थाको पक्षमा पूर्वराजाको अभिव्यक्ति

नयाँ वर्षबाहेक दसैँ-तिहार, पृथ्वी जयन्ती, प्रजातन्त्र दिवस लगायतका विभिन्न अवसरमा सार्वजनिक गर्ने आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले राजनीतिक असन्तुष्टिसँगै पछिल्ला वर्षहरूमा व्यवस्था परिवर्तनबारे आफ्नो मत पनि राख्दै आएको जानकारहरू बताउँछन्।

यो पटक भिडिओ सन्देशमार्फत् नयाँ वर्षको शुभकामना दिएका पूर्वराजाले आफ्नो वक्तव्यमा पहिलो पटक स्पष्ट शब्दमा राजसंस्थाको पक्षमा आफूलाई देखाएका छन्।

शुभकामना सन्देशमा उनले भनेका छन्, "जनभावनामाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ।"

बदलिँदो जनचाहनाको कदर गरिनुपर्ने प्रसङ्ग उल्लेख गर्दै पूर्वराजाले "राज्यशक्तिको स्रोत जनता" नै हुनेमा आफू स्पष्ट रहेको सन्देश दिएका छन्।

तर 'बाह्रखरी' समाचार पोर्टलका प्रधान सम्पादक प्रतीक प्रधान पछिल्ला सन्देशहरूमा पूर्वराजामा पुनः सक्रिय हुने महत्त्वाकाङ्क्षा पलाएको देखिएको टिप्पणी गर्छन्।

"पूर्वराजामा आफूलाई जनताले नभई राजनीतिक दलहरूले मात्रै हटाएको सोच बिस्तारै पलाउँदै गएको देखिन्छ," प्रधान भन्छन्। "जनताहरू मैसँग छन् भन्ने र अहिले पनि संवैधानिक राजतन्त्रको नाममा राजतन्त्र भित्र्याउने र आफ्नै तरिकाले शासन गर्ने इच्छा देखिएको छ।"

शाहले कार्यकारी शासन हातमा लिएर चलाउने प्रयास गरेकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको प्रधानको दाबी छ।

'घटना र विचार' साप्ताहिकका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी भने आन्दोलनका माध्यमबाट राजसंस्था पुनर्स्थापित गर्न खोजिएको आशङ्का चिर्न पूर्वराजाले आफ्नो सन्देशमा संवैधानिक राजतन्त्रबारे प्रतिबद्धता दोहोर्‍याएको बताउँछन्।

"हामीले चाहेको चाहिँ संवैधानिक राजतन्त्र नै हो भन्ने सन्देश स्पष्ट रूपमा दिनुपर्ने महसुस उहाँले गर्नुभएको हुनाले पछिल्लो वक्तव्यमा अलि स्पष्ट ढङ्गले संवैधानिक राजसंस्थाको कुरा आएजस्तो मलाई लाग्छ," त्रिपाठी भन्छन्, "उहाँ राजसंस्था पुनर्बहालीको पक्षमा हुनुहुन्छ भन्न धेरै दृष्टिले सकिन्छ।"

पूर्वराजाले राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भावबारे भने लामो समयदेखि नै एकै किसिमको सन्देश दिने गरेको त्रिपाठी बताउँछन्।

आन्दोलनबाट राजसंस्था फर्कन्छ?

पूर्वराजाले आन्दोलनबाट राजसंस्था फर्काउन नसक्ने सम्पादकहरू प्रधान र त्रिपाठी दुवैको दाबी छ। "पूर्वराजाले गलत मान्छेहरू अघि राखेर आफ्नो मनोभावना पुर्‍याउन कोसिस गरेको देख्दा मलाई उदेक लाग्छ," प्रधान भन्छन्।

"लोकतन्त्रमा राजतन्त्र आउन पनि जनताबाट चुनिएर आउनुपर्छ, त्यसका लागि संविधान परिवर्तन गर्न सक्नुपर्छ र त्यसो गर्न निर्वाचनभन्दा अर्को बाटो छैन," प्रधान भन्छन्।

"अहिले आन्दोलनको बाटोबाट आउने पूर्वराजाका सन्ततिलाई देशमा शान्तिपूर्ण रूपमा बस्न समेत समस्या पर्छ जस्तो मलाई लाग्छ।"

त्रिपाठी पनि ठूला राजनीतिक दलको सहयोग नभएसम्म आन्दोलनका माध्यमबाट राजसंस्था पुनर्स्थापना हुने सम्भावना आफूले नदेखेको बताउँछन्।

"राजाको इच्छाले मात्रै राजसंस्था फर्कँदैन। जनताका बीचमा लोकप्रिय वा अलोकप्रिय भएर पनि एउटा शक्तिमा रूपमा रहेका राजनीतिक दलहरू, खास गरी कांग्रेस र एमालेको सहमतिबिना राजसंस्था पुनर्बहालीको सम्भावना धेरै कम देखिन्छ," उनी भन्छन्।

"कांग्रेस र एमालेले समेत राजसंस्थाको पक्षमा आफूलाई उभ्याउन सक्दैन भने त्यो अवस्थामा राजसंस्था फर्कन सम्भव हुँदैन। फर्किए पनि त्यो दिगो हुँदैन, टिक्दैन।"

पूर्वराजाको अर्थपूर्ण सन्देश

नयाँ वर्षको पछिल्लो शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको दिव्योपदेशलाई राज्यसत्ता सञ्चालनको "मूलमन्त्र" बनाउन प्रस्ताव गर्नुअघि नेपालमा राजसंस्थाको योगदानबारे पनि चर्चा गरेका छन्।

नेपालमा सुशासनदेखि शिक्षा, स्वास्थ्य लगायतका समस्या र युवाहरूको विदेश पलायनसम्मका समस्याबारे चर्चा गर्दै पूर्वराजाले राप्रपाका नेताहरूले भन्ने गरेजस्तो 'संरचनागत परिवर्तन'को कुरा अघि सारेका छन्।

"जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ," पूर्वराजाको वक्तव्यमा भनिएको छ।

पूर्वराजाले संरचनात्मक परिवर्तनबारे गरेको प्रस्तावको भाव उनले नारायणहिटी छोडेर बाहिरिँदादेखि नै व्यक्त गर्ने गरेको सम्पादक त्रिपाठीको बुझाइ छ।

"२०६२ साल वैशाख ११ गते जुन सहमतिमा पुगेर संसद्को बहाली भएको थियो, त्यो सहमतिभन्दा बाहिर दलहरू गएको हुनाले त्यही बिन्दुमा फर्कनुपर्छ र संरचनात्मक परिवर्तन गरे पनि त्यही बिन्दुमा टेक्नुपर्छ भन्ने चाहिँ भाव उहाँका वक्तव्यहरूमा देखिन्छ," त्रिपाठी भन्छन्।

पूर्वराजाले यो वर्ष आफ्नो शुभकामना सन्देशमा कूटनीतिक विषयदेखि विश्वव्यापारसम्मका विषय समेटेका छन्।

"हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरूमा ऐक्यबद्धता रहने छ," पूर्वराजाले भनेका छन्।

भ्रष्टाचार र बेथितिबारे यसअघि पनि पूर्वराजाले सचेत गराउँदै आएका थिए। तर यस पटकको सम्बोधनमा देशवासीको सुखशान्ति र एकताभन्दा केही अघि बढेर राजनीतिक नारा पनि अघि सारिएको विश्लेषकहरूको बुझाइ छ।

"आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ," पूर्वराजाले नयाँ वर्षको शुभकामना सन्देशको अन्त्यतिर भनेका छन्।

"अहिले वर्तमान व्यवस्था र अवस्थाप्रति असन्तुष्ट मानिसहरूको जुन प्रकारको जनउभार देखियो, जनसमर्थन आफ्नो पक्षमा भइसकेपछि आगामी वर्ष चाहिँ त्यही जनचाहनाअनुरूपको परिवर्तन होस् भन्ने कुरालाई उहाँले अपेक्षा गर्नुभएको हो," त्रिपाठी भन्छन्।

यसअघि प्रजातन्त्र दिवसमा दिएको शुभकामना सन्देशमा पूर्वराजाले आफूलाई साथ दिन आह्वान गरेका थिए। त्यसलगत्तै राजसंस्था पक्षधर शक्तिहरूले पनि आफ्नो गतिविधि बढाएका धेरैको बुझाइ छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending