Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रोगले सुकेर उजाडिए पाल्पाका सुन्तला बगैँचा

खबरडबली संवाददाता

पाल्पा । सुन्तला खेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन् । पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन् । पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।

विशेष गरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पाल्पाकै निस्दी गाउँपालिका–५ बहपुरका किसानलाई भने सुन्तलाको आम्दानी हात लाग्यो शून्य जस्तै बनेको छ । ‘यही सुन्तलाको बोटबाट कुनै वर्ष रु चार लाखसम्म आम्दानी लिए, अहिले भने बोट यिनै हुन्, आम्दानी शून्य छ’, सुन्तला बगैँचा देखाउँदै तेजन सुनारीले आफ्नो समस्या सुनाए । सुन्तला खेती उनको परिवारको गुजारा हो । सुन्तला फलाएर आम्दानी बटुलेका सुनारीलाई अहिले केही आम्दानी नहुँदा चिन्तित छन् ।

‘सुन्तला पाक्ने बेला हुन थालेपछि व्यापारी घरमै आएर खरिद गर्ने गर्नु हुन्थ्यो, घरबाटै बिक्री हुन थालेपछि सजिलो भयो, आम्दानी राम्रै भइरहँदा हर्षिएर क्षेत्र विस्तार गर्दै गए, राम्रै फल दिने क्रममा बोटमा विभिन्न समस्या देखिने र एक्कासी उत्पादन घट्न थाल्यो’, सुनारीले भने, ‘सुन्तला बेचेर आम्दानी लिइरहेको मनमा झलझली छ, के गर्नु विगत सम्झेर मनमा पीडा लुकाएर बस्नु परेको छ ।’

फेदको जराको बोक्रा कुहिने, बोट पहेलिँदै जाने, बोक्रा नै नहुने, विस्तारै खानेकुरा सोस्न कम हुँदै जाँदा बोटको टुप्पोबाट सुक्दै जाने समस्या देखिएको उनले बताए । खाद्यतत्व नपुगेपछि फल लागेता पनि दाना स्वादिलो नहुने उनले जनाए । उनको घरवरपर रहेका बगैँचामा साना ठूला गरेर एक हजार २०० बोट छन् । फल्न लाग्दा सबै बोट अनुत्पादक बनेका छन् । आम्दानीकै हिस्सा गुमेको उनी बताउँछन् ।

‘उत्पादनको सुरुआती अवस्था अत्यन्तै उत्साहजनक नै थियो, पछिल्ला वर्षमा प्रकोप महामारीका कारण आम्दानी शून्य बनेको छ, प्रकोप फैलिएपछि नयाँ बिरुवा लगाएको छैन, घर वरपर, आँगनका डिल, बारीमा लटरम्म सुन्तला फल्ने हरियाली बोट अहिले रोगले सुकेर उजाडिएको छ’, सुनारीले भने ।

घरमा दुई–चार बोट घरायसी प्रयोजनका लागि लगाइने गरेकामा व्यावसायिक खेती भने सुनारीले २०६२र६३ देखि थालनी गरेका हुन् । करिब ५० बोटबाट व्यावसायिक खेती सुरु गरेका उनले आम्दानी भने २०६७र६८ देखि लिएको बताए । सुनारीले सुन्तला बिक्रीबाट २०७४र७५ सम्म आम्दानी राम्रै लिए । त्यसयता भने क्रमिक रुपमा बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दो क्रममा रहेको उनले जानकारी दिए ।

वार्षिक रु चार लाखसम्म आम्दानी गर्न सफल सुनारी विगत तीन वर्षयता भने आम्दानीविहीन नै बनेका छन् । सुन्तला बगैँचामा अहिले मकै, सिमी, अदुवा जस्ता बाली लगाउन थालेका छन् । कुनै बेला गाउँमा सबैभन्दा धेरै सुन्तला बेच्ने किसानका रुपमा पहिचान दिएका सुनारी अहिले घरायसी प्रयोजनका लागि उत्पादनन हुँदा सुन्तलाको पहिचान गुम्छ कि भन्ने चिन्तामा परेका छन् ।

बहपुर गाउँमा १७ घरको बासोबास छ । यहाँका किसानले सुन्तलाबाट राम्रै आयआर्जन हुने सम्भावना देखेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । पहिला सबैका घरमा सुन्तला राम्रै उत्पादन हुन्थे भने अहिले रोग लागेपछि दुई घरमा मात्रै उत्पादन सीमित बनेको छ । यहाँ पछिल्लो पाँच वर्षयता बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दै गएको हो । सडक सुविधा पुगेसँगै बजारीकरणमा सहज हुँदा सुन्तला व्यवसायमा हौसिएका किसान उत्पादन लिन नपाउँदा निराश बनेका छन् ।

बहपुर गाउँमा २०७५ अघिसम्म २२५ रोपनी जमिनमा तीन हजार ६०० सुन्तलाका बोट थिए । सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट पुर्‍याइएको थियो । त्यसमध्ये अधिकांश बोट मरिसकेका छन् । समस्याबारे विभिन्न निकायलाई जानकारी गराइएको छ । अहिलेसम्म समाधानका उपाय भने कुनै पनि निकायबाट नआउँदा व्यवसाय गर्ने कि नगर्नेमा किसान अन्यौलमा परेका छन् । अहिले बिरुवा हटाएर चार÷पाँच वर्षपछि नयाँ बिरुवा लगाउने निष्कर्षमा किसान पुगेका छन् ।

मलजल, सिँचाइ व्यवस्थापन नपुग्दा पछि विस्तारै खाद्य तत्वको कमीले विभिन्न समस्या देखापरेको हुनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख सन्तोषलाल चौधरी बताउँछन् । यो रोग पत्ता लगाउन माटो परीक्षण नै गर्नुपर्ने उनले बताए । ‘समस्या देखिएका स्थानको माटो परीक्षण गरेर मात्रै बगैँचा सुधार गरी नयाँ बिरुवा लगाउनुपर्ने हुन्छ, त्यसका लागि कार्यालयले सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर माटो परीक्षण शिविर राख्ने, सुन्तलाको व्यावसायिक खेती गर्न इच्छुक किसानबाट माग आएमा कार्यालयबाट निःशुल्क बिरुवा उपलब्ध गराउन सकिन्छ’, उनले भने ।

जिल्लामा यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्याङ्क छ । रु छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको प्रमुख चौधरी बताउँछन् । गत वर्ष आठ हजार ८६१ मेट्रिकटन उत्पादन भएकामा यस वर्ष बढेर नौ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यस पटक करिब ३३७ मेट्रिक टन उत्पादन बढेको पाइएको छ ।

सुन्तला उत्पादनका लागि जिल्लाभित्र एक हजार १९६ हेक्टर क्षेत्रफल रहे पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । यहाँका १० पालिकामध्ये छ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला खेती हुने गरेको छ । सुन्तलाखेतीलाई व्यवसायीकरणमा जोड दिँदा किसानले आम्दानी राम्रो लिन थालेका छन् । सडक सुविधा तथा बजार सहज हुँदा किसानले क्षेत्रफल विस्तार गर्दै गएका छन् । अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै आयस्रोत लिन पाइने सम्बद्ध किसान बताउँछन् ।

यस वर्ष रैनादेवी छहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिकटन, रिब्दिकोट गाउँपालिकामा ३९६ क्षेत्रफलमा तीन हजार १८४ मेट्रिकटन, बगनासकाली गाउँपालिकामा ११३ हेक्टरमा ९१० मेट्रिक टन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिकटन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिकटन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending