Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सुनको भाउले ऐतिहासिक कीर्तिमान तोड्ने दाबी, अझै कति बढ्न सक्छ मूल्य ?

खबरडबली संवाददाता

काठमाडौं । अर्थविद्हरूले जहिले पनि भन्ने गरेको एउटा कुरा के हो भने विश्वबजारमा जब लगानीकर्ताहरूमाझ धेरै अनिश्चय हुन्छ, उनीहरू सुनतर्फ आकर्षित हुन्छन्।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले एकपछि अर्को घोषणा गर्दै विभिन्न देशबाट आयात हुने सामग्रीमाथि थप शुल्क लगाइदिने धम्की दिन थालेपछि अहिले विश्व व्यापार युद्ध हुने त्रास बढेको जानकारहरूले औँल्याएका छन्।

यस्तो अनिश्चितताका माझ सुनको भाउले एकपछि अर्को कीर्तिमान भङ्ग गर्दै छ। त्यसको सोझो असर नेपाली बजारमा देखा परिसकेको छ। यो वर्षको एक मुख्य वैवाहिक याम आउँदै गर्दा सुनको भाउले 'ऐतिहासिक बिन्दु' काट्ने अनुमान व्यवसायीहरूले गरेका छन्।

मूल्यको रफ्तार

गएको कार्तिक १५ गते नेपाली बजारमा सुनले हालसम्मकै सर्वाधिक मूल्यको कीर्तिमान राखेको थियो। उक्त दिन प्रति तोला १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि बिस्तारै कम भयो।

मङ्सिर ९ गते १ लाख ६७ हजार २ सय रुपैयाँमा ओर्लिएको सुनको भाउ सरकारले भन्सार दर आधाले घटाइदिएपछि भोलिपल्ट मङ्सिर १० गते १ लाख ५१ हजार ३ सयमा झरेको थियो।

तर अहिले सुनको मूल्य फेरि लगातार बढिरहेको छ।
माघ २९ गते यसको भाउ १ लाख ७० हजार २ सय रुपैयाँ पुग्यो। अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको भाउ करिब २,९२० डलर पुगेको छ। 

एक आउन्स सुन भनेको करिब २८.३५ ग्राम हुन्छ। पाँच वर्षपहिले उक्त भाउ करिब १,६०० डलर रहेको थियो।

अझै कति बढ्ला सुनको भाउ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली सुनको भाउ बढ्ने गति अझै केही समय तेज नै हुने ठान्छन्।

"अमेरिकाले स्टील तथा आल्यमिनिअममा थप आयात शुल्क लगाउने अनि चीनविरुद्ध पनि थप शुल्क लगाउने भनिरहँदा लगानीकर्ताहरू अनिश्चयमा परेका छन्। अर्कातिर डलरको विनिमय दर पनि अकासिएर १३९ रुपैयाँ प्रतिडलर पुगेको छ। यसले गर्दा उनीहरू सुनतर्फ अझै आकर्षित भइरहने देखिन्छ," रसाइलीले बीबीसीलाई बताए।

"केही समय पहिलासम्म सुनको मूल्य बढेर एक आउन्सको ३,००० डलर पुग्ला भनिन्थ्यो। अब त्यो आँकडा त एकदम नजिक भइसक्यो," अर्जुन रसाइलीले भने।

आगामी दिनमा सुनको भाउ घटिहाल्ने छाँट नदेखिएको उनले बताए। "कम्तीमा फागुनको मध्यसम्म सुनको भाउ बढ्ने नै देखिन्छ," रसाइलीले नेपाली बजारमा कार्तिकमध्यमा देखिएको कीर्तिमान तोडिने आफूलाई लागेको बताए।

कारण के ?

कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार पनि जारी अनिश्चयका माझ सुनको भाउ उकालो नै लाग्न सक्छ। सन् २०२५ यता नै यसको भाउ १० प्रतिशत बढिसकेको छ। तर अमेरिकी सरकारले आफ्ना नीतिमा फेरबदल गरेमा चाहिँ यो मूल्य वृद्धिमा अङ्कुश लाग्ने रसाइली ठान्छन्।

अचाक्ली मूल्यवृद्धिका कारण घरेलु बजारमा उपभोग चाहिँ निकै घटेको रसाइलीले बताए। "ग्राहकहरू अलि पर्खेर हेर्ने मनस्थितिमा देखिन्छन्। सोखले गहना लगाउनेहरू ह्वात्तै घटेका छन्।"

अहिले भइरहेको मूल्यवृद्धिका मुख्य कारण दुईवटा रहेको विश्लेषकहरूले बताउने गरेका छन्। एक त कतिपय उदाउँदा भनिएका मुलुकका केन्द्रीय ब्याङ्कहरूले सुनमा लगानी गर्न देखाएको निरन्तर तत्परता अनि अर्को अन्य लगानीकर्ताहरूको पनि सुनमै बढेको आकर्षण।

वर्ल्ड गोल्ड काउन्सिलका पछिल्ला विवरणले यो बढ्दो आकर्षणलाई स्पष्ट पार्छ।

किन केन्द्रीय ब्याङ्कहरूले सुन किन्न थाले?

सन् २०२४ मा विश्वभर सुनको माग ४९७४ मेट्रिक टन पुग्यो, जुन कीर्तिमान भएको उसले उल्लेख गरेको छ। उक्त परिमाणको सुनको मूल्य अमेरिकी डलरमा करिब ३८२ अर्ब रह्यो। सन् २०२४ मा लगानीका निम्ति लगभग १२ सय टन सुन किनिएको काउन्सिलले उल्लेख गरेको छ।

उक्त एक वर्षमा केन्द्रीय ब्याङ्कहरूले चाहिँ १ हजार टन सुन किनेका थिए। धेरै किन्नेमा चीन र भारत पनि पर्छन्। काउन्सिलको आँकडाअनुसार भारतसँग ८७६ टन सुन ढुकुटीमा छ भने चीनसँग २,२७९ टन छ। सबैभन्दा धेरै अमेरिकासँग ८,१३३ टन रहेको देखिन्छ। नेपालको आँकडा त्यसमा देखाइएको छैन।

नेपाल राष्ट्र ब्याङ्कको विवरणमा उसको खुद विदेशी सम्पत्तिमध्ये सुन, स्पेशल ड्रइङ राइट (एसडीआर) र आइएमएफ रिजर्भ गरी मध्यमाघसम्ममा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबरको सञ्चिति देखिन्छ। एक वर्षअगाडि त्यस्तो सञ्चिति ९७ अर्ब रुपैयाँ बराबर थियो।

"अहिले अन्तर्राष्ट्रिय मञ्चमा देखा परेको अनिश्चयका कारण खास गरी उदाउँदा अर्थतन्त्रहरूले तिनको विदेशी विनिमय वा तरल सम्पत्तिको सञ्चितिलाई विविधीकरण गर्न थालेका छन्। सुन पनि एउटा भरोसायोग्य लगानी भएकाले अचेल त्यसमा आकर्षण देखिन्छ," राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले भने।

उनले अहिले झन्डै २३ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको 'आरामदायी' सञ्चिति भएको समयमा नेपाल राष्ट्र ब्याङ्कले पनि यो विषयलाई अध्ययन र अभ्यास गर्न सुझाव दिए।

"अहिलेसम्म यस मामिलामा राष्ट्र ब्याङ्क चनाखो भएको देखिँदैन। शायद विप्रेषण आम्दानी र विदेशी विनिमयको पर्याप्त सञ्चितिले ऊ ढुक्क भइराखेको होला। तर आफ्ना लगानीहरूको विविधिकरण गर्नु आवश्यक हुन्छ," उनले भने।

सुनमा लगानीबारे मिहिन अध्ययन गरेर अघि बढ्नु लाभदायक हुने उनले बताए।

के भन्छ राष्ट्र ब्याङ्क?

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलले सुनको सञ्चितिलाई आफूहरूले विदेशी विनिमय सञ्चितिको महत्त्वपूर्ण पाटो मान्ने गरेको बताए।

"भारत र चीनजस्ता देशका केन्द्रीय ब्याङ्कहरूले सुनमा लगानी बढाइरहेका छन्। हाम्रो पनि त्यस्तो सोचाइ छ तर अहिले नै कुनै आक्रामक हिसाबबाट जाने भन्ने छैन," पौडेलले भने।

राष्ट्र ब्याङ्कले सुनमा उसको लगानीको परिमाणलाई नियालिरहेको र आवश्यकताअनुसार नीति अपनाउने गरेको उनले बताए।

विदेशी विनिमयलाई व्यवस्थापन गर्दा खास गरी (वित्तीय) सुरक्षा, तरलता, नाफा अनि विविधीकरणजस्ता चार पक्षलाई ध्यान दिएर सन्तुलित लगानी गर्नुपर्ने प्रचलित मान्यता रहेको थापाले बताए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending