रसुवा । हिमपात हुने मौसममा पिन हिमपात नभएपछि रसुवाका स्थानीय चिन्तित भएका छन् । वर्षा र हिमपात नभएपछिा बालीनाली सुक्दै जाँदा यहाँका स्थानीय चिन्तित भएका हुन् ।
यतिबेला यहाँका डाँडापाखाहरू हिउँले सेताम्मे देखिन्थ्यो। बारी, पाखा, पखेरा, रुखहरू हिउँले ढाकेका हुन्थे । हिउँ परेपछि जमिन रसिलो हुने र मल भिज्ने भएकाले बालीनाली फस्टाउने गर्थ्यो। खेती तथा बस्ती रहेको हिमाली क्षेत्रमा हिउँ नपरेकोले अहिले किसान चिन्तित भएका छन्।
आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका पेम्पा लामाले भने ‘पुस माघमा हिउँ पर्नुपर्ने हो। यो वर्ष माघ सकिन लाग्दा नि न पानी न हिउँ पर्यो, बर्सेनि हिउँ पर्ने हाम्रो गाउँमा त के कुरा अब हिमालमा हिउँ देख्नै मुस्किल होला जस्तो छ।’
गत्लाङ गाउँभन्दा माथि माङचेतदेखि गतलाङ गाउँ पुरै हिउँले छोपेको सम्झँदै स्थानीय फुर्पुसिङ्गी तामाङ भन्छन् ‘पहिले दिनभर हिउँ खेलिन्थ्यो। हप्ता दिनसम्म घरबाट निस्कन नसकेको सम्झना छ। अहिले हिउँ देख्नै पाइन्न जस्तो भो।’
हिमपातपछि प्रकृति पनि रमाएको भान हुने स्थानीय निमा दोर्जे लामा बताउँछन्। अहिले रसुवाको उत्तरी क्षेत्र उराठ लाग्दो देखिन थालेको छ। तामाङ भन्छन् ‘पहिले त पुसमा पुरै डाँडाकाँडा हिउँले टल्कन्थ्यो सेतो गाउँबाट देखिने हिमालमै हिउँ छैन। लाङटाङ र पाल्दोरपिकमा कालो दाग देखिन थाल्यो।’
गोसाइँकुण्ड गाउँपालिका–१ थुमन गाउँका न्हिमा टासी तामाङ भन्छन् ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो। हिउँ नै नपरेपछि फापर, गहुँ, करु, जौ, तरकारी खेती र पशुपालनमा पनि समस्या हुने भो।’
रसुवाको पाँचवटै गाउँपालिका हिमाली भेग जोडिएको छ। उत्तरगयाको तिरु, गोगने, करुमर्याङसम्म हिउँपर्ने क्षेत्र हो। कालिका गाउँपालिकाको राम्चे, गुराँसे, स्याउबारी, लोकिल, गोम्बोडाडासम्म हिउँ पर्ने ठाउँ हो। स्थानीयले यसलाई जलवायु परिवर्तनको असर हुनसक्ने अनुमान गरेका छन्।
यसरी हिउँदमा हिउँ नपरेपछि हिमाली वन्यजन्तु संकटमा पर्ने भएको छ। मुख्य गरी हिमचितुवा जस्ता वन्यजन्तु संकटमा पर्ने देखिन्छ। विश्वका १२ देशमा मात्रै हिम चितुवा पाइन्छ। जसमध्ये १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा रहेको छन्। लाङटाङ र क्यान्जिङ क्षेत्रमा हिमचितुवा धेरै पाइन्छ। उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे बाली प्रभावित हुने भएको छ। भदौदेखि हिउँ र पानी पर्न नसक्दा हिमाली क्षेत्रमा फापर, करु, गहुँ, जौ जस्ता हिउँदेबालीको बोट भुइँमै विलिन थालेका छन्।
चारफिटसम्म हिउँले छोप्ने ठाउँमा यो वर्ष हिमपात नभएकोले किसान दिण्डुप तामाङ चिन्नित छन्। उनी भन्छन् ‘हिउँदेबाली उब्जाउ नहुने भएकोले के खाने हो रु जडिबुटी खेतीमा पनि असर पारेको छ।’ हिउँदे वर्षाको कमीले खेती मात्र होइन ठाउँ–ठाउँका खोल्सामा पानीको मुल सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको अभाव हुन थालेको छ।
गोसाइँकुण्ड गाउँपालिका–५ को ठूलोस्याप्रु, ब्राबल क्षेत्रमा पनि हिउँ परेन। स्थानीय युवा सुब्बा तामाङले ठूलोस्याफ्रु, ब्राबल, चन्दनबारी, ढिम्सा, चोलाङपाटी र गोसाइँकुण्ड पदमार्गमा हिमपात नै भएन। पुस माघमा पहिले त साताभरी हिउँ पर्थ्यो उनले भने ‘हिउँ पर्न छालेपछि यहाँ अन्नपात, स्याउ तथा हिउँदे खेती बिग्रेको छ।’
हिउँ परेपछि नाइट्रोजनको मात्रा बढ्ने हुँदा बोट बिरुवा तथा बालीमा फाइदा पुग्ने भएकोले उत्पादन बढ्ने थियो। हिउँ परेमा गहुँ, फापर, जौ, करु लगायत विभिन्न किसिमको जडीबुटी खेतीलाई प्रत्यक्ष फाइदा पुग्छ। बोटबिरुवा तथा जडिबुटीलाई समेत हिमपातले उर्वरा शक्ति दिने र बाली र बोट बिरुवालाई फाइदा हुने गत्लाङका चितोङ लामाले बताए।
प्रतिकृया लेख्नुहोस्: