Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

अनि हात्तीलाई माया गर्न थाल्यो बाहुनडाँगी

खबरडबली संवाददाता

झापा । ३० वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रात बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सिएका छैनन्। उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन।

‘भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,’ तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष समेत रहेका भएको तिवारीले सुनाए, ‘हामी चाहिँ बाँसको भाटामा पाटा बेरेर बनाइएको पुल्ठो मट्टितेलमा चोबेर राँको बनाउँथ्यौं र सिठी फुकेर हात्तीको हुललाई पछाडिबाट धपाउँथ्यौं।’

गाउँका मानिस रातभर अनिदो बसेर हात्ती धपाउन खटिन्थे। एउटा बस्तीमा हात्ती पसेको हल्ला फैलिएपछि अर्को गाउँका मानिसले हात्ती छेक्न घर र सडक छेउमा परालको आगो बाल्थे।

गाउँका महिला हात्ती धपाउन घण्टी बजाउँदै अगरबत्ती बालेर पूजापाठ गर्न थाल्थे भने भने पुरुष शङ्खध्वनी गुञ्जाउँथे। थोत्रे टिन, घण्टी सिठीको चर्को आवाज सुनेर हात्ती गाउँबाट भाग्थे। आगोको छेउछाउ नआउने हात्ती पुल्ठो बालेपछि तर्किएर जान्थे।

हात्ती कतातिर जाँदैछन् भनेर चियो गर्न स्थानीयबासीले विभिन्न गौडामा अग्ला अग्ला मचान (टुङ) बनाउन थाले। सरकारले नै पक्की मचान बनाउन सहयोग दिन थाल्यो। पुराना मचान बाहुनडाँगीको मेची किनारमा अहिले पनि छन्।

समय क्रममा हात्ती धपाउने शैली बदलिए। तिवारीकै अनुभवमा टिनको आवाज र पुल्ठोको आगोसँग हात्ती डराउन छाड्यो। त्यसपछि हात्तीलाई धपाउन पटाका पड्काउन थालियो। बन्दुक पड्काउँदा महँगो र सरकारी अनुमति नपाइने हुँदा गाउँलेले हात्ती धपाउन भारतबाट पटाका किनेर ल्याउन थाले।

‘बन्दुक पड्काउँदा हात्ती भाग्ने भएकाले हामीले तर्साउनका लागि ठूला आवाज दिने पटाकाको सहारा लियौं,’ तिवारीले भने, ‘मान्छेले जे उपाय लगाए पनि विस्तारै हात्ती त्यसैमा अभ्यस्त हुन थाले। पटाका पड्काउँदा पनि भाग्न छाडेपछि अर्कै उपाय खोज्न बाध्य हुनुपर्यो।’

बुद्धिमान प्राणी भएकाले हात्तीले अस्तित्व रक्षाका लागि परिस्थितिको सामना गर्ने उपाय निकाल्दोरहेछ रहेछ भन्ने मानिसहरुले बुझे। मेचीनगर नगरपालिका-४ का निरज घिमिरे भन्छन्, ‘झापामा वर्षौदेखि मानव र हात्तीबीचको लखेट्याई खेल चलिरहेको छ। मानिसले हात्ती धपाउन निकालेका हरेक जुक्ती केही वर्षको अन्तरालपछि निष्तेज हुने गरेको छ।’

भारतको पश्चिम बंगालस्थित विभिन्न आरक्षित जङ्गलबाट नेपाल प्रवेश गर्ने हात्तीको मुख्य गौडा नै बाहुनडाँगी हो। बाहुनडाँगीबाट प्रवेश गरेका हात्ती झापाको सबैजसो क्षेत्रमा डुल्ने र क्षति पुर्‍याउने गर्छन्। कयौं पुस्तादेखि जंगली हात्ती भारतको आसाम, पश्चिम बंगाल र नेपालको कोशी प्रदेशमा विचरण गर्दै आएका छन्।

तीस वर्षमा हात्ती र मानवबीचको द्वन्द्वको अवस्था झन् बढेर गएको छ। उसबेला झापाको बाहुनडाँगी मात्र हात्तीको निशानामा थियो। अहिले जिल्लाका १५ वटै पालिकामा हात्तीले जनधनको क्षति पुर्‍याउने गरेको छ। मोरङ र सुनसरी जिल्लामा केही वर्षयता हात्तीले पुर्‍याएको क्षति कहालिलाग्दो छ।

डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार हात्तीको आक्रमणमा परी २०६७ देखि हालसम्म १५ वर्षको अवधिमा ६७ जनाको मृत्यु भएको छ। सोही अवधिमा २१ वटा हात्ती समेत मारिएका छन्। जनधनको क्षति रोक्नका लागि अनेकन उपाय अवलम्बन गरिएका छन्।

भारतबाट हात्ती पस्ने मुख्य गौंडाको रुपमा चिनिएको साविक बाहुनडाँगी अर्थात अहिलेको मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्की अब मानव र हात्तीबीच द्वन्द्वलाई सहअस्तित्वको माध्यमबाट समाधान गर्नुपर्ने बेला आएको बताउँछन्।

‘जङ्गली बासस्थान र आहारको प्राकृतिक स्रोत मासिदै गएपछि हात्ती मान्छेको बस्ती र खेतबालीमा पस्न थालेका हुन् भने आफ्नो आवास र उत्पादनमाथि धावा बोल्न थालेपछि मान्छेले पनि हात्तीलाई मार्नेसम्मको गतिविधि गरेका हुन्,’ वडाध्यक्ष कार्की भन्छन्, ‘अब पुरानो सोचबाट यो अस्तित्वको लडाई समाप्त हुँदैन। हात्ती त जनावर भयो। कसरी सहअस्तित्व कायम गर्ने भन्ने उपाय खोज्ने काम चेतनशील मानिसको जिम्मेवारी हो।’

मानिसले हात्तीसँग झडपमा उत्रिने स्थितिको अन्त्य गर्दै हात्तीमैत्री नीति र कार्यक्रम अघि सार्नुपर्ने उनको धारणा छ। केही वर्षदेखि बाहुनडाँगीमा उनकै नेतृत्वमा प्रकृति संरक्षण, हात्ती धपाउन आधुनिक प्रविधिको प्रयोग र बिमामार्फत बाली क्षतिपूर्तिको व्यवस्थाका विभिन्न आशलाग्दा कार्यक्रमहरु सञ्चालन भइरहेका छन्।

हात्तीलाई पर्यटनसँग जोड्नका लागि मेची नदीको मुख्य गौँडामा हात्तीको आहार हुने बोटविरुवा हुर्काउने प्रकृति पार्क निर्माण गरिएको छ। बाहुनडाँगीमा जीपीएस प्रविधिमार्फत हात्ती प्रवेश गरेको सूचना दिने अत्याधुनिक प्रणाली जडान गरिनुका साथै साइरन बज्ने व्यवस्था मिलाइएको उनले बताए।

हात्तीको प्रवेश रोक्न बाहुनडाँगीको १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएको छ। हात्तीको निगरानी गर्ने र स्थानीयबासीलाई सुरक्षा दिनका लागि आरआरटी नामक युवा दस्ता परिचालन गरिएको छ।

‘किसानहरुले लगाएको खेतीबालीमा हात्तीले नोक्सानी गरेमा त्यसको क्षतिपूर्ति दिलाउन हामीले बिमाको व्यवस्था मिलाउँदैछौं,’ वडाध्यक्ष कार्की भन्छन्, ‘धान, मकै, तरकारीलगायतका बाली हात्तीले खाँदा क्षतिपूर्ति पाउने भएपछि किसानहरु हात्तीसँग झडपमा उत्रिँदैनन्। यो नै मानवीय क्षति रोक्ने अचूक उपाय हो।’

तीन वर्ष यता मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणमा मानवीय क्षति भएको छैन। गाउँले धुइरिएर हात्ती लखेट्ने चलन हटेपछि क्षति रोकिएको बाहुनडाँगीबासीको अनुभव छ। स्थानीय नगरपालिकाले पनि हात्तीमैत्री कृषि उद्यमका लागि अनुदान उपलब्ध गराउन थालेको छ।

‘बिगतमा हात्तीलाई आतङ्कको रुपमा व्याख्या गर्दै मानिसले नियन्त्रणका लागि पुल्ठो बाल्ने, पटाका पड्काउने, सुरुङ खन्ने, हात्तीबार लगाउने, दलबलका साथ गस्ती गर्ने लगायतका सबै उपाय गरेकै हो,’ उनी भन्छन्, ‘हामीले अपनाएका उपायहरुमध्ये विद्युतीय तारबार र सहअस्तित्वका लागि हात्तीमैत्री नीति सबैभन्दा प्रभावकारी सावित भएका छन्।’

प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमका अनुसार झापाको बाहुनडाँगीमा एक दशकअघि नै १८ किलोमिटर विद्युतीय घेराबेरा गरिएको छ। जसका कारण भारतबाट हात्ती आउन अधिकतम् मात्रामा रोकिएको दाबी छ।

हाल बाहुनडाँगी, जलथल र चारआली जङ्गलको वरिपरि ७६ किलोमिटर लामो विद्युतीय तारबार सम्पन्न भइसकेको छ। यसमा राज्यले रु. १२ करोडभन्दा बढी नै लगानी गरिसकेको छ।

जङ्गली हात्तीको आक्रमणबाट मानव वस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रुपमा विद्युतीय घेराबेरा मानिएको उल्लेख गर्दै उनले झापामा जङ्गल क्षेत्र धेरै भएको कारण घेराबेरालाई क्रमिक रुपमा विस्तार गर्दै लैजान आवश्यक रहेको बताए।

हात्तीसँगको तीन दशक लामो द्वन्द्वमा मानिसले हात्तीलाई मारेर होइन, मैत्रीपूर्ण व्यवहार गरेर क्षति रोक्न सकिन्छ भन्ने पाठ सिकेको छ। पहिले मानिस हात्तीलाई मारेर समस्याको समाधान हुन्छ भन्ने सोच राख्दथे। तर, अहिले जंगलमै रहनका लागि आहारको व्यवस्था गर्न हात्तीलाई मनपर्ने बोटविरुवा लगाउन समुदाय नै जुट्न थालेका छन्।

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ‘जसको जंगल उसकै मङ्गल’ भन्ने नारासहित सात महिनाअघि झापाको बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीमैत्री पैदलयात्रा गरेका थिए। उनले हात्ती हिंड्ने क्षेत्रलाई करिडोरको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने नयाँ अवधारणा अघि सारेका थिए।

हात्तीलाई जङ्गलमा आहार जुटाउन अर्जुनधाराको खुदुनाबारीस्थित जुकेखाँडी समुदायिक वनले २० हजार फलफूलका विरुवा हालै जंगलमा रोपेको छ। स्थानीय समुदायसमेत हात्ती मैत्री उपाय अवलम्बन गर्दै मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा सहमत हुन थालेका छन्।

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेल हात्तीमैत्री कार्यक्रमका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्छन्। हात्तीको नजिक गएर नजिस्काएसम्म उसले कहिल्यै आक्रमण नगर्ने जनाउँदै उनले आहारको खोजीमा बाध्य भएर जंगली जनावर मानववस्तीमा पस्ने गरेको बताए।

नेपालको सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रुपमा बाहुनडाँगीको चर्चा हुन थालेको चार दशक भइसक्यो। सडकदेखि सदनसम्म बाहुनडाँगीबासीलाई कसरी हात्तीको आक्रमणबाट जोगाउने भनेर उपाय खोजिन्छ।

मानव-हात्ती द्वन्द्वका कारण सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको बाहुनडाँगीले अब हात्तीलाई माया गर्न थालेको छ। जसका कारण मानव र हात्ती दुबै सहअस्तित्वमा रम्ने वातावरण बनेको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending