Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

खण्डहर बने गाउँका पुराना ‘दरबार’

खबरडबली संवाददाता

धनकुटा । दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगाका भव्य संरचना देखेर मोहित हुन्थे तर अहिले मुगा गाउँका ती आलिसान महल खण्डहरमा परिणत हुँदै छन् । 

पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको मुगा गाउँको बिचमा रहेको ५२ ढोकाको घर पनि दरबारकै रूपले परिचित थियो । पूर्वप्रधानमन्त्री थापाको ५२ ढोके ऐतिहासिक घर द्वन्द्वकालमा भत्कियो । २०१५ सालमा मुगाबाट काठमाडौं आए पनि जुनसुकै अवस्थामा जन्मभूमि बिर्सिन हुँदैन भन्दै उहाँ जन्मघर पुगिरहनुहुन्थ्यो ।

उनका छोरा सुनीलबहादुर थापाले २०५८ सालसम्म बुवा र आफूहरू मुगाको घरमा आउजाउ गर्ने गरेको स्मरण गरे । तत्कालीन किराँत वर्कर्स पार्टीका कार्यकर्ताले घरमा आगो लगाइदिए । अहिले पूर्वप्रधानमन्त्री थापा मुगा गएर बस्ने घरको नामनिसान छैन । सूर्यबहादुर थापा ट्रस्टको नामबाट पुरानै शैलीको घर बनाउने भनिएको बर्सौं भए पनि अहिलेसम्म निर्माण थालिएको छैन । 

पाख्रिबास नगरपालिका–८, मुगामा पूर्वप्रधानमन्त्री थापासँगै अजितनारायणसिंह थापा, अर्जुन थापा, सुनीलबहादुर थापा, कुमार थापा पनि मुगामै जन्मिएका हुन् । प्रायः सबै थापा परिवारको घर मुगामा दरबारिया शैलीमा निर्माण भएका थिए तर पछिल्लो समय ती घर नासिने क्रममा छन् । अजितनारायणसिंह थापा र अर्जुन थापाको घर पनि संरक्षण अभावमा जीर्ण बनेका छन् । 

स्थानीय चन्द्रमणि घिमिरेले पुराना घर संरक्षणमा नयाँ पुस्ताले चासो नदिएका कारण मुगामा ऐतिहासिक घर मासिने क्रम बढेको बताए । उनले भने, “पुराना पुस्ता अहिले छैनन् । नयाँ पुस्ता काठमाडौँ, विराटनगर र विदेश पुगेका छन् । अनि यहाँ कसले हेरिदिने, संरक्षण गरिदिने ?” 

स्थानीय कपिल थापाका अनुसार बसाइँसराइका कारण घर कुरिदिने कोही नहुँदा ऐतिहासिक घरको संरक्षण हुन नसकेको हो । उनले पुरातात्त्विक सम्पदाको संरक्षण र प्रचारमा कसैको ध्यान नपुग्दा मुगा गाउँ नै ओझेलमा परेको बताए । 

आन्तरिक पर्यटक पुगिरहने मुगा अहिले सुनसान छ । पहिले मुगामा निकै चहलपहल हुन्थ्यो तर ‘थापाकाजी’ हरू विस्थापित भएसँगै गाउँमा चहलपहल छैन । थापाहरूले गाउँ छाडे पनि स्थानीय सरकारले बाँकी रहेका संरचना जोगाएर सडक बनाइदिए पर्यटक फर्काउन सकिने विश्वास स्थानीयको छ । 

मुगा र थापाको सम्बन्ध

धनकुटा बजारबाट उत्तर पश्चिमतर्फ रहेको मुगा गाउँ गाडीमा एक घण्टामा पुगिन्छ । पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्न सरदार रामकृष्ण थापा पोखराबाट गोरखा हुँदै धनकुटाको त्यही ठाउँ पुगेको र बसोबास गरेको मुगाली थापाको वंशावलीमा उल्लेख छ । स्थानीय कुमारबहादुर थापाका अनुसार कालान्तरमा यो गाउँ उनै रामकृष्णका सन्तानले भरिएपछि मुगाली थापा भनेर चिनिन थाल्यो । उनले भने, “पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला माँझकिराँत जितेर हतुवागढी र हतुवागढी जितेर अरुण तरेर मुगासम्म आइपुग्दा पृथ्वीनारायण शाह आफू फर्किएर रणबहादुर शाहलाई जिम्मा दिएको इतिहास छ । त्यो बेला गोर्खाली सेनाको कमान्डर सरदार रामकृष्ण थापा थिए । त्यो बेला पहिलो क्याम्प मुगाको राजदेवीमा खडा भएको हो ।”

तर, पछिल्लो समय अधिकांश थापा परिवार यहाँबाट बसाइँ सरिसकेका छन् । त्यससँगै बर्सौं पुराना इतिहास र कलाकौशल देख्न पाइने मुगामा पुराना घर मासिँदै छन् । दुई दर्जनभन्दा बढी रहेका यस्ता घर अहिले केही मात्र छन् । थापाले ती घर पनि संरक्षण अभावमा जीर्ण भएको बताए । 

मुगामा दरबारिया शैली 

मुगामा ठुला र दरबारिया शैलीका घर निर्माणको कथा बेग्लै छ । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले चिनियाँ राजदूतावासबाट ल्याएको चियाको बिरुवा कप्तान करवीर थापाले इलाम लगेर इलाममा चिया विस्तार गरेका थिए । इलाममा बसोबास गर्दै गर्दा करवीरको आउजाउ दार्जिलिङतिर हुन थालेपछि दार्जिलिङबाट टाटाको टिन ल्याएर कलात्मक घर बनाउन सुरु गरेका थिए ।

पछि उनका छोरा लप्टन टेकबहादुर थापाले तत्कालीन राणाहरूको सहयोगमा मुगामै ५२ ढोके दरबार शैलीको घर निर्माण गरेका थिए । धनकुटाको इतिहासका जानकार गोपाल भण्डारीले क्रमशः अन्य थापा परिवारले पनि आकर्षक घर निर्माण गरेको बताए । उनले अधिकांश घर राणाकालीन समयमा बनेको दाबी गरे । 

उनले भने, “थापा परिवारका व्यक्ति कृषि कर्म गर्ने सरकारी जागिर खाने, जागिरका क्रममा विभिन्न ठाउँ घुम्ने र राणासँँग नजिक भएकाले बाहिर देखेको जस्ता ठुला र आकर्षक घर निर्माण गर्न तत्कालीन राणाहरूले पनि अवरोध गर्दैनथे । त्यसैले थापाहरूले अरूको भन्दा ठुला र आकर्षक घर बनाएका हुन् ।”

धनकुटाका अन्य ऐतिहासिक घर 

मुगासहित छथरजोरपाटी गाउँपालिकाको सिबुवा, तेलिया तथा महालक्ष्मी नगरपालिका–५, लेगुवा आसपास तथा धनकुटा नगरपालिकामा दरबारिया शैलीका घर निर्माण भएको जानकारहरू बताउँछन् । सिबुवा पूर्वप्रधानमन्त्री नगेन्द्र रिजाल जन्मिएको गाउँ हो । उनका पितापुर्खाले सो गाउँमा तत्कालीन समयमा दरबारिया शैलीका घर निर्माण गरेका थिए । 

त्यस्तै राणाकालीन समयमा नरपति आचार्यले तेलियामा तथा चन्द्रप्रसाद आचार्य, यज्ञप्रसाद आचार्यलगायतका आचार्यले सिबुवामा दरबारिया शैलीका घर निर्माण गरेका हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्यले बताए । तर अहिले ती दरबारिया शैलीका घर मासिइसकेको उनको भनाइ छ । त्यस्तै लेगुवामा नागेश्वर गुठीका महन्तहरूले तत्कालीन समयमा त्यस्ता घर निर्माण गर्ने गरेको खोजकर्ता गोपाल भण्डारीले बताए । तर, पछिल्लो समय ती घरको समेत नामोनिसान छैन । 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ५२ ढोके घर भएको ठाउँमा ‘सूर्यबहादुर थापा मेमोरियल म्युजियम’ बनाउने तयारी गरिएको छ । पुरानो घर भग्नावशेष भएपछि सोही स्थानमा सङ्ग्रहालय बनाउन लागेको छोरा सुनीलबहादुर थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा सहरी विकास कार्यालयमार्फत डिपिआर निर्माणको काम भइरहेको उनको भनाइ रहेकाे समाचार गोरखापत्र दैनिकमा धनकुटाबाट कविराज घिमिरेले लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending