Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता

खबरडबली संवाददाता

म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजिकको जङ्गलमा बास बस्छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ ।

पर्यटन विभागसँग दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो । गत वर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकूल मौसम र बाढी, पहिरोका कारण योजनालाई सम्पन्न गर्न दुई वर्ष लागेको जनाएको छ । बस्तीदेखि टाढा र हिमालको नजिकका भूभागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरू वनजङ्गलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जङ्गलमै बसेर काम गर्नुपरेको बस्नेतले बताए । 

आर्थिक वर्ष २०७९/८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजनाअन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल रु एक करोड ५४ लाख बजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म आठ किलोमिटर बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए ।

“यो वर्षमात्रै तीन किलोमिटर बढी पदमार्ग बनाएका छौँ, असारभित्रमा योजनालाई सम्पन्न गर्ने गरी काम भैरहेको छ, अक्करे भिरबाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने हाम्रो लक्ष्य हो, विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था बाहेकका अन्य सबै अप्ठेरो ठाउँमा सहज रूपमा आवतजावत गर्न सक्ने गरी काम गरिरहेका छौँ”, उनले भने ।

यसवर्ष छिस, कछुवा ओढार हुँदै धवलागिरि भ्यू प्वाइन्ट हिलसम्मको नदी किनार र घना जङ्गलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ । पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवालगायतका जिल्लाबाट मजदुरहरू यहाँ आएका छन् । 

दुई समूहमा बाँडिएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए । जङ्गल, भिर पहाड र खोला किनारमा दुई मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरूलाई धवलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ ।

उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा वर्षाको प्रतिकुलताका बीच पदमार्ग बनाउने कामलाई तीब्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत बर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । यस पदमार्गअन्तर्गत कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ । 

यसअघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरे पनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ । धवलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरी अध्ययन गरिरहेको जनाएको छ । गत वर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस वर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ । 

चिमखोलादेखि घ्यासीखर्क हुँदै आधार शिविर जाने बाटोमा कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको भिरबाहेक अन्य सबै ठाउँमा सुविधाजनक पदमार्ग निर्माण हुन लागेको वडा नं ७ अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए ।

“आइसफल पदमार्ग सहज बन्दै गएको छ, हामीले पदमार्गसँगै खोलाहरू पुल र ठाउँ–ठाउँमा आश्रयस्थल पनि बनाउनपर्छ भनेर पहल गरिरहेका छौँ, दुई ठाउँको भिरमा पदमार्ग छिचोलियो भने एक दिनमै सहजै आधार शिविर पुग्ने पूर्वाधार तयार हुन्छ” वडाध्यक्ष पाइजाले भने । उनले पदमार्ग निर्माणसँगै कालीबराह खोला र रघुगङ्गा नदी समेतमा झोलुङ्गे पुलहरू बनाउन आवश्यक रहेको बताए ।

म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरी २०६८ सालमा पहिलोपटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार गरिसकेको छ । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ । 

नेपाल सरकारले धवलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन । 

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि नयाँ वैकल्पिक पदमार्गको रुपमा धवलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहे पनि सूचनामूलक सङ्केतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरू निर्माण हुन सकेका छैनन् ।

धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् ।

पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

एक चीन नीतिमा प्रश्न उठ्ने गतिविधि रोक्न सरकारलाई सांसद मल्लको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले नेपालको स्थापित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरक...

राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...

सरकारको भुक्तानीमा तीव्रता, एकै दिन १७ अर्ब रुपैयाँभन्दा बढी निकासा

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक - प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निर्माण व...

सभामुखको भूमिकामाथि नेकपाको प्रश्न, प्रधानमन्त्रीको जवाफ नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ। प्रधानमन्त्री बाल...

प्रतिनिधि सभा नियमावलीका प्रावधानविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...

१७ जेठको घटनामा संसदीय मर्यादा उल्लंघन भएको समितिको ठहर, अधिकार प्रयोग गर्न सभामुखलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending