Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पर्यटक बसपार्क सोह्रखुट्टे सडकमा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्ने बताइरहँदा सङ्घीय राजधानी काठमाडौँमा भने पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ ।

मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटन क्षेत्रअन्तर्गत पर्यटक बसका लागि छुट्टै र व्यवस्थित बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टे सडकलाई बसपार्क बनाएर पर्यटकीय गन्तव्यमा ओहोरदोहोर गर्दै आएका छन् ।

विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि भने काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकलाई पर्यटक बसपार्कका रुपमा प्रयोग गरिँदै आइएको छ । पर्यटक बसका लागि सुविधासम्पन्न बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन् ।

पर्यटक बस सङ्घीय राजधानी काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटक बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । सोह्रखुट्टेबाट सञ्चालन हुने पर्यटकीय बस बिहान ७ बजे पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायत स्थानमा जाने गरेका छन्  ।

टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसपार्क नहुँदा यात्रुलाई बस चढाउन र ओराल्न समस्या हुँदै आएको बताए । “पर्यटक सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा जथाभावी रुपमा यात्रुलाई चढाउँदा र ओराल्दा ट्राफिक प्रहरीलाई पनि सास्ती हुँदै आएको छ”, उनले भने ।

हाल पर्यटक बस दिउँसोमात्र नभएर रातिको समयमा समेत सञ्चालन हुँदै आएका छन् । कोरोना महामारीबाट नराम्रोसँग थला परेको मुलुकको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ । कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहे पनि मुलुकको सङ्घीय राजधानी काठमाडौँमै पर्यटक बसका लागि पार्किङस्थल नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै पर्यटक बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताए । “पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्छ भन्ने माग नाट्टाले विगतदेखि नै राख्दै आएको छ”, उनले भने ।

नाट्टाले पर्यटकीय बस निर्माणका लागि यातायात व्यवस्था विभाग, प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालय, काठमाडौँ महानगरलगायतलाई ध्यानाकर्षण गराउँदै आएको नाट्टाका अध्यक्ष थापाको भनाइ छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालको पर्यटन क्षेत्रको विकासका साथै पर्यटन प्रवर्द्धनका लागि पर्यटक बसपार्क आवश्यक रहेको बताए । “पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा महानगर सकारात्मक छ”, उनले भने ।

कामपाले पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँको अध्ययनसमेत गरिरहेको जनाएको छ । पर्यटक बसलाई गोँगबुस्थित नयाँ बसपार्कबाट सञ्चालन गर्नका लागि पटकपटक छलफल समेत हुँदै आएको छ । पोखरा महानगरपालिकाले भने पर्यटक बसका लागि छुट्टै बसपार्क निर्माण गरी सञ्चालन गरिसकेको छ ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने तिनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य रहेको व्यावसायीले गुनासो गरेका छन् ।

पर्यटक बसमात्र होइन अन्य सार्वजनिक सवारीसाधनसमेत सडकबाट सञ्चालन हुँदै आएका छन्  । कामपा–२६ विष्णुमति किनारामा नयाँ बसपार्क सञ्चालनमा आए पनि त्यसको नजिकै माछापोखरीको वरपरबाट धादिङ, नुवाकोट, रसुवालगायत जिल्लामा जाने सवारीसाधन आवतजावत गर्दै आएका छन् । चितवन र हेटौँडा सञ्चालन हुने माइक्रोबस भने कलङ्कीको सडकछेउबाट सञ्चालन हुँदै आएका छन् ।

जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा सञ्चालन हुने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने जडीबुटीबाट सञ्चालन हुँदै आएका छन् । कामपाले काठमाडौँको चक्रपथ वरपरबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेपनि उक्त निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले सबै सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि महानगरले काम गरिरहेको बताए । “काठमाडौँभित्र प्रवेश गर्ने सबै सवारीसाधनलाई व्यवथित रुपमा सञ्चालन गर्ने निती महानगरले लिएको छ, चाँडो कार्यान्वयनमा जान्छौँ”, उनले भने ।

काठमाडौँको गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल दैनिक तीन सयदेखि चार सय सवारीसाधन देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending