Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नेपाली कम्युनिष्टहरू मिल्दैनन् तर बारम्बार किन एकता वा सहकार्यको कुरा गर्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर्चा गरिरहेका छन्।

वाम विचारधारा अपनाएको पहिलो नेपाली राजनीतिक दल नेकपा स्थापना भएको गत सोमवार ७५ वर्ष पुगेको छ।

यस बीचमा नेपालका वामपन्थीहरू विभिन्न दल तथा समूहमा विभाजित भएका छन् भने अहिले आफूलाई कम्युनिस्टका रूपमा चिनाउने कैयौँ दलहरू नेपाली राजनीतिमा सक्रिय छन्।

यद्यपि सत्ताधारी नेकपा एमालेले यसै साता राजधानी काठमाण्डूमा आयोजना गरेको नेकपाको हीरक महोत्सवमा बोल्दै कम्युनिस्ट नेताहरूले "वामपन्थी सहकार्य"मा जोड दिएका छन्।

यसअघि "वामपन्थी एकता", "वामपन्थी एकीकरण" वा "वामपन्थी ध्रुवीकरण" जस्ता कुरा गर्दै आएका उनीहरूले यो पटक चाहिँ "वामपन्थी सहकार्य"को कुरा मात्र उठाएका छन्।

नेपालको वाम राजनीतिलाई नजिकबाट नियाल्नेहरू भने "उनीहरूबीचको कटुता र इखालु राजनीतिले वामपन्थीबीच तत्काल सहकार्यको सम्भावनासमेत न्यून देखिएको" बताउँछन्।

नेताहरूले के भने?

एमालेले आयोजना गरेको नेकपाको हीरक महोत्सवमा बोल्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरू एक भए त्यो निर्णायक शक्ति बन्ने बताएका छन्।

उनले कम्युनिस्ट एकता भएका बेलामा देशभरि उल्लास, उत्साह र उमङ्गको वातावरण बनेको दाबी गरे।

तर अहिले एकीकरणको सम्भावना नरहेको बताउँदै प्रचण्डले भने, "विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ। पहिलाको जस्तो हौसिएर कम्युनिस्ट एकताको पक्षमा छैनौँ।"

"हामीले त्यो बेलामा समयभन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ। अहिले सहकार्य थालेका छौँ। राम्रो सहकार्य गरौँ। यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरूबीच एकताको आधार तयार हुन्छ।"

उनीपछि बोलेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनकै बोलीमा सही थप्दै वामपन्थी एकता तत्काल सम्भव नभएको उल्लेख गरे। तर उनले आफ्नो दल र विशेषगरी नेकपा माओवादी केन्द्रबीच "सहकार्यबाट निकट हुँदै जाने" अवस्था रहेको बताए।

उनले भने, "…हामी पार्टी एकीकरणको गरिहालौँ- पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षा मात्रै हुन सक्छ। त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ। त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौँ।"

उनले अहिले नै एकीकरणको कुरा गर्दा पहिले "किन फुटेका थियौ" भन्ने प्रश्न उठ्न सक्ने पनि बताए। ओलीले भने, "अहिले सहकार्यको लागि सहमतिबाट जाऔँ।"

सोही कार्यक्रममा राष्ट्रपति हुनुअघि एमाले उपाध्यक्ष रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्टहरूले विभाजनको कारण खोज्नुपर्ने बताएकी थिइन्।

उनले भनेकी थिइन्, "नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ।"

नेपालमा कम्युनिस्ट राजनीति

अहिले नेपालका कम्युनिस्टहरू कैयौँ दल, समूह र गुटमा विभाजित अवस्थामा रहेका छन्। नेपालको पहिलो वाम दलको गठन भने राणाकालमै विसं २००६ सालमा भारतको कोलकातामा भएको थियो।

कोलकातामा रहेका पुष्पलाल श्रेष्ठ नेपाली राष्ट्रिय कांग्रेसबाट बाहिरिएर कम्युनिस्ट राजनीतिमा लागेको उल्लेख इतिहासका पुस्तकहरूमा पाइन्छ।

कम्युनिस्टहरूले विंस २००६ वैशाख १० गते तदअनुसार सन् १९४९ अप्रिल २२ मा श्रेष्ठको नेतृत्वमा नेकपा स्थापना भएको बताउँदै आएका छन्।

त्यसयता नेपालमा कैयौँ कम्युनिस्ट दलहरू बनिसकेका छन् र तीमध्ये केहीले विभिन्न राजनीतिक प्रणाली रहेका बेलमा सशस्त्र विद्रोहसमेत गरेका छन्।

तर कैयौँ कम्युनिस्ट दलहरू आफू भूमिगत अवस्थामै रहेका बेलामा समेत फुटेका र फेरि जोडिएका घटनाहरू पनि छन्।

यद्यपि विसं २०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामार्फत् राष्ट्रिय राजनीतिमा आएसँगै पटकपटक वामपन्थी एकताको चर्चा हुने गर्छ।

यही समयमा खुला राजनीतिमा आएसँगै माओवादी पार्टी भने विभिन्न समूहमा विभाजित भइसकेको छ।

पछिल्लो एकता र फुट

धेरैलाई आश्चर्यमा पार्दै ६ वर्षअघि नेपालका ठूला कम्युनिस्ट दलहरू नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको प्रक्रिया अघि बढेको थियो।

विसं २०७४ सालमा चुनावी तालमेल गरेका ती दुई दलले २०७५ जेठमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका थिए।

झन्डै दुई तिहाइ बहुमत पाएको उक्त दलका नेताहरूबीच देखिएको तिक्ततापछि नेकपा फुटको स्थितिमा पुगेको थियो।

त्यसै बेला विसं २०७७ सालको फागुन २३ गते सर्वोच्च अदालतको आदेशसँगै नेकपा एमाले र माओवादीमा बाँडिएको थियो।

लगत्तै एमालेबाट माधवकुमार नेपाल समूह छुट्टिएर एकीकृत समाजवादी गठन भएको थियो।

पछिल्लो आम चुनावमा केपी ओलीले नेतृत्व गरेको एमाले, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अलगअलग अस्तित्वमा थिए।

उक्त तिक्ततापूर्ण विभाजनबीच भएको आम चुनावपछि माओवादी केन्द्र र एमालेले छोटो समयका लागि सत्ता सहकार्य गर्दा नेकपा एकीकृत समाजवादी सो गठबन्धनमा सहभागी थिएन।

लगत्तै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्‍यो।

राष्ट्रपति चुनावमा बनेको कांग्रेस-माओवादी गठबन्धनले एमालेलाई विपक्षमा पुर्‍याएको थियो भने नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको थियो।

तर गत फागुनमा कांग्रेसलाई विपक्षमा पुर्‍याउँदै बनेको नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी साथै रहेका छन्।

यद्यपि एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष ओलीबीच सुमधुर सम्बन्ध स्थापित हुन नसकेको जस्तो देखिएको छ।

किन एक हुन सक्दैनन् कम्युनिस्टहरू?

नेपालमा पटकपटक वामपन्थीबीच एकताको कुरा चले पनि त्यो असम्भव जस्तो देखिने लामो समय कम्युनिस्ट राजनीतिमा संलग्न भएकाहरू बताउँछन्।

अहिलेको पछिल्लो सत्ता गठबन्धन बन्नु अघिसम्म प्रचण्डले 'समाजवादी मोर्चा' गठनको पहल गरेका थिए।

उक्त मोर्चामा माओवादीसहित त्यसबेला सत्तामा रहेका वाम दलहरू र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसमेत उक्त मोर्चाको हिस्सा बन्ने भनिएको थियो।

तर सत्ता गठबन्धन परिवर्तनसँगै फेरि प्रचण्डले एमालेलाई समेटेर 'वामपन्थी सहकार्य'मा जोड दिन थालेको देखिएको छ।

अहिले आफू कुनै पनि दलमा आबद्ध नभएकाले स्वतन्त्र रहेको बताउने एकजना पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली भन्छन्, "कम्युनिस्टहरू एक हुन नसक्नुको मुख्य कारण नै निजी स्वार्थ हाबी हुनु हो।"

"निजी स्वार्थ नेताहरूमा यति धेरै आयो कि प्रधानमन्त्रीमा पुगेपछि पैसा कमाइने, पैसा कमाएपछि फेरि चुनाव जितिने भएकाले चुनावदेखि चुनाव र प्रधानमन्त्रीदेखि प्रधानमन्त्री सम्मको सोचले वामहरू एक हुन नसकेका हुन्।"

उनका भनाइमा नेपालका कम्युनिस्ट दल तथा समूहरूमा "लोकतान्त्रिक परिपाटी" तथा "दलभित्र एकअर्काको मतलाई सम्मान गर्ने प्रवृत्ति" नभएकाले सहकार्यको "रटान" पूरा नभएको हो।

पूर्व माओवादी नेतासमेत रहेका प्राध्यापक ऋषिराज बराल चाहिँ नेपालमा कम्युनिस्टहरूले आफूलाई कम्युनिस्ट भने पनि विचार छाडेको बताउँछन्।

उनी भन्छन्, "विचार छाडेर हिँडेपछि उनीहरूबीच व्यक्तिगत स्वार्थ हाबी भएको छ। त्यसले गर्दा कोही पनि एकैस्थानमा उभिनसक्ने वा बाटोमा लाग्ने अवस्था देखिँदैन।"

सहकार्यको चर्चा

एक हुन सक्ने अवस्था नहुँदा नहुँदै पनि किन कम्युनिस्टहरू सहकार्यको कुरा गरिरहन्छन्? भन्ने प्रश्नमा मैनाली र बराल दुवै त्यसलाई कम्युनिस्टहरूले गरेको "भोटको राजनीति" ठान्छन्।

बराल भन्छन्, "अब विसं २०८४ मा वा त्यसअघि नै पनि चुनाव हुनसक्छ। त्यस बेला एक्लै चुनावमा जाँदा एमाले होस् वा माओवादीलाई मुस्किल पर्नसक्छ त्यसैले वामपन्थी मत तान्न उनीहरूले यस्तो कुरा गर्न थालेका हुन्।"

"अब राष्ट्रिय स्वतन्त्र पार्टीको पनि डर होला उनीहरूलाई त्यसैले सहकार्यको कुरा गर्दैछन्। यो मतदातालाई झुक्याउने र वाम मत एकातिर तान्ने प्रयास हो।"

मैनाली पनि "जनतालाई झुक्याउन र आफ्ना मतदाता अन्यत्र नजाउन् भन्ने मनसायले नेताहरूले यस्तो बोलिरहेको" ठान्छन्।

उनी भन्छन्, "एउटै दल बनाउँदा वा एकता गर्दा नेताहरू दुईटा हुन्छन् र को प्रधानमन्त्री बन्ने भन्ने टकराव हुन्छ भन्ने हामीले केहीअघि पनि देख्यौँ। त्यसैले त्यस्तो टकराव पनि नहोस् र मतदाता पनि अन्त नजाउन् भनेर नेताहरूले वाम एकता वा सहकार्यको कुरा गरेका हुन्।"

यद्यपि उनीहरू रास्वपासँग नेपालका कम्युनिस्ट दलहरू खासै डराएको नदेखिएको दाबी गर्छन्।

मैनाली भन्छन्, "डराएका भए एकताकै कुरा गर्थे तर सहकार्य मात्र भन्नु भनेको डराएका छैनन् भन्ने हो। वास्तवमा उनीहरूलाई धरातलीय अवस्था नै थाहा छैन।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending