Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

राजनीतिको किनारामा पुगेका बाबुरामको पुनरागमन सम्भव छ ?

खबरडबली संवाददाता

काठमाडौं । कतिपयले उनको राजनीतिक भविष्य "लगभग सकिएको" अनुमान गरिरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले "पुरानै ठाउँमा पुगेर नयाँ बाटो तय गर्दै वैकल्पिक अग्रगामी शक्ति निर्माण गर्ने" घोषणा गरेका छन्।

फुटको सँघारमा पुगेको नेपाल समाजवादी दल (नेसपा)का दुई अध्यक्षमध्येका एक भट्टराईले त्यस्तो घोषणा गरे पनि "त्यसको खासै अर्थ नभएको" उनैका कतिपय पूर्वसहयात्रीको भनाइ छ।

"पुराना शक्तिसँग संसर्ग नगरी" नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भट्टराईले उद्घोष गरेका बेला उनकै दलका अर्का अध्यक्षले चाहिँ नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने समझदारी गरेका छन्।

कतिपय विश्लेषकहरू उक्त दलभित्र देखिएको पछिल्लो "किचलो र फुटको अवस्थासँगै" भट्टराई नेपाली राजनीतिको "किनारामा पुगेको र पुन: उदयको सम्भावना न्यून बनेको" बताउँछन्।

यद्यपि भट्टराई भने त्यसलाई अस्वीकार गर्दै "सत्य र न्यायको पक्षमा उभिने व्यक्ति कहिलेकाहीँ एक्लो देखिनु" स्वाभाविक भएको दाबी गर्छन् र आफूहरू चाँडै स्थापित हुने बताउँछन्।

फुटको स्थितिमा नेसपा

पछिल्लो आम निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र तत्कालीन सत्ता गठबन्धनले चुनावी तालमेल गरेका थिए।
त्यस बेला नेसपाका उम्मेदवारहरू माओवादीको चुनाव चिह्न लिएर चुनावमा सहभागीसमेत भए भने चुनावपछि दुवै दलले एकीकरण गर्ने सहमति पनि गरेका थिए।

तर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुनमा पुरानो गठबन्धन तोडेसँगै नेसपाभित्र दुई धार देखा परेको थियो।

भट्टराई नेकपा एमालेसँग सहकार्य गर्ने पक्षमा देखिएनन् भने उनकै दलका अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरू वर्तमान गठबन्धनको पक्षमा देखिए।

त्यसपछि माओवादीको चिह्नमा चुनाव जितेका उक्त दलका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूलाई आफ्नो नेसपाका सदस्यका रूपमा अभिलेखमा राख्न भट्टराईले संसद्‌ सचिवालयलाई पत्र पठाएका थिए।

तर संसद्‌ सचिवालयले "राजनीतिक दलसम्बन्धी कानुन अनुसार जुन दलको चिह्न लिएर उठेको हो सांसद सोही दलको हुने" निर्णय गर्‍यो।

प्रतिनिधिसभामा उनको दलका महिन्द्र राय यादव प्रत्यक्ष निर्वाचित सांसद्‌ हुन् भने उमरावती देवी समानुपातिक सांसद् रहेकी छन्। उक्त दलबाट गंगानारायण श्रेष्ठ र फणिन्द्र देवकोटा वाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

त्यसमध्ये श्रेष्ठ यादवको पक्षमा गएका छन् भने देवकोटा मात्र भट्टराई पक्षमा देखिएका छन्। श्रेष्ठ वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन्।

विवादबीच नेसपाका अर्का अध्यक्ष यादवसहितका नेताहरूले यही चैत ३ गते माओवादीसँग पार्टी एकता गर्ने सहमतिको एउटा पत्र सार्वजनिक गरेसँगै नेसपा फुटको स्थितिमा पुगेको हो।

त्यसपछि चैत ४ र ५ गते बोलाइएको केन्द्रीय कार्यकारिणी र केन्द्रीय कमिटीको बैठकमा यादव पक्ष अनुपस्थित रहेको थियो र उक्त पक्षले त्यसलाई विधान विपरीत भन्दै आएको छ।

दुवै समूहले आफ्नो पक्षमा बहुमत सदस्यहरू रहेको दाबी गर्दै आएका छन् यद्यपि त्यसबारे हालसम्म छिनोफानो भइसकेको छैन।

'पुरानै ठाउँबाट यात्रा आरम्भ'

पार्टी फुटको स्थितिमा पुगेका बेलामा भएका बैठकहरूपछि बुधवार भट्टराईले पत्रकार सम्मेलन गरेर आफ्ना भावी योजनाहरू सार्वजनिक गरेका छन्।

उनले यादव समूहलाई "आन्दोलनका क्रममा थकाइ लागेर चौतारीमा बसौँ वा छिमेकी घरमा मिठो खाउँ भनेर हिँडेको" र प्रचण्डले नेसपा माओवादीमा समाहित भएको भनेर "जालसाजी गरेको" आरोप लगाए।

तर यस्ता घटनाहरू नौलो नभएको भन्दै उनले आफ्नो दललाई नयाँ ढङ्गले अघि बढाउने घोषणा पनि गरेका छन्।

उनल् भने, "जङ्गलमा हिँड्दा जहाँबाट बाटो बिराइयो त्यहीँबाट सुरु गरिन्छ भनिन्छ। दश वर्षअघि हामीले सुरु गरेको वैकल्पिक शक्तिको अभियानलाई फेरि त्यहीँबाट सुरु गर्नुपर्ने अवस्था बनेको छ।"

उनले आफूले सुरु गरेको वैकल्पिक राजनीतिकको जगमा विवेकशील साझादेखि अहिलेका राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको उदय भएको दाबी पनि गरे।

शान्ति प्रक्रियाका केही पूरा नभएका काम पूरा गर्न र अहिलेको राजनीतिक प्रणाली बचाउनका निम्ति बाहेक पुराना शक्तिसँग सहकार्य नगर्ने नीति आफूहरूको रहेको र त्यसैअनुसार अघि बढ्ने भट्टराईको दाबी छ।

उनले "अग्रगामी वैकल्पिक राजनीतिक शक्ति" निर्माणका निम्ति आफ्नो दलले अभियान चलाउने र "अरूभन्दा फरक छौँ" भन्ने देखाउने बताए।

त्यस क्रममा पुराना दलहरूसँग कुनै पनि खालको "संसर्ग नगर्ने" भट्टराईको उद्घोष छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा मुख्यमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुख्य एजेन्डा लिएर आफूहरू जनताबीच जाने भट्टराईको भनाइ छ।

'उहाँको राजनीति अब सकियो'

भट्टराईले नयाँ अभियान घोषणा गरिरहेका बेला उनकै दलका अर्का अध्यक्ष यादवले चाहिँ आफूहरूको दलले माओवादीसँग एकीकरण गर्ने निश्चत भएको बताए।

"एकीकरण हुन्छ र बहुमत हामीसँग छ। केन्द्रीय समितिमा हामी बहुमत पुर्‍याउँछौँ," उनले भने।

उनले भट्टराईले "राजनीतिक नैतिकता नदेखाएको" आरोप लगाए भने निर्वाचन आयोगमा बहुमत पुर्‍याएर आफ्नो पक्षमा पार्टी ल्याउने दाबी पनि गरे।

उनले भने, "यो अवस्थामा उहाँ (भट्टराई)ले नेपाली जनतालाई धोका दिनुभयो। अब उहाँको राजनीति सकिएको हो। सकिएकै हो। अहिले एकतामा आएको भए उहाँको राजनीति बाँकी रहन्थ्यो। अब उहाँको भविष्य छैन।"

यादवले अब भट्टराई राजनीतिको किनारामा पुगेकाले फर्किएर आउने सम्भावना नरहेको दाबी गरे। यद्यपि उनले भने, "अझै पनि उहाँ एकताका लागि तयार हुनुहोस् भन्ने मेरो भनाइ छ।"

भट्टराईले भने आफूहरू कुनै पनि पुराना दलसँग एकता गर्न तयार नरहेको बुधवार पत्रकार सम्मेलनमा स्पष्ट पारेका थिए।

'पुरानै घरको मायाले नयाँ शक्ति असम्भव'

द्वन्दकालदेखि बाबुराम भट्टराईले माओवादी पार्टी नछाड्दासम्म भट्टराईसँग निकट रहँदै आएका उनका एकजना सहयात्री र माओवादी केन्द्रका नेता राम कार्की चाहिँ भट्टराईले "नयाँ वैकल्पिक शक्ति" बनाउने कुरामा विश्वस्त देखिँदैनन्।

भट्टराईले माओवादी छाडेर नया शक्ति गठन गर्दा उनीसँग नगएका र माउ पार्टीमै रहेका कार्की भट्टराईको एक्लै हिड्ने खालको प्रवृत्तिले पनि उनी राजनीतिकमा किनाराकृत हुँदै गएको ठान्छन्।

उनी भन्छन्, "उहाँले पार्टी छाड्दा समेत रातभरि सोचेर निर्णय गरेँ, तर हिसिला (यमी) लाई समेत भनिनँ भन्नुभयो। त्यसरी आफ्नै सुरमा चल्ने मान्छेलाई राजनीति गर्न गाह्रै हुन्छ त्यो अलि लोकतान्त्रिक वा समाजवादी खालको चरित्र भएन नि!"

'त्यसो भए भट्टराईको राजनीतिक भविष्य सकिएको हो त?' भन्ने प्रश्नमा कार्की भन्छन्, "राजनीतिमा भन्न नसकिने ठाउँ नै त्यहीँ त हो। को, कुन बेला, कसरी, कहाँबाट आउँछ भन्न सकिन्न।"

"तर उहाँ नयाँ घर बनाउँछु भनेर हिँडेपछि बारम्बार पुरानै घरतर्फ फर्कनु भयो। कहिले ओलीकहाँ, कहिले प्रचण्डकहाँ र कहिले देउवाकहाँ जानु भयो। पुरानो घरले दिने ओत पनि चाहिने, अनि नयाँ घर पनि बनाउन खोज्ने, त्यो कसरी सम्भव होला र?"

भट्टराईले नयाँ घर बनाउने सङ्कल्प गरेपछि पुरानो घरतर्फ नहेरेको भए र आफैँले वर्षौँसम्म "उत्कृष्ट राजनीतिक मार्ग" भन्दै आएको मार्क्सवादलाई "त्यति धेरै" गाली नगरेको भए उनले वैकल्पिक शक्ति बनाउने आधार तयार हुन सक्थ्यो भन्ने कार्कीलाई लाग्छ।

उनी भन्छन्, "अब उहाँले नयाँ शक्ति स्थापित गर्न धेरै नै नयाँ ढङ्गले आउन सक्नुपर्छ र पुरानो घरबाट निम्तो आयो भने उफ्रेर त्यता जानु हुँदैन। तर उहाँले त्यस्तो गर्ने सम्भावना देखिँदैन।"

तर पत्रकार सम्मेलनमा भट्टराईले कार्कीले उठाएका जस्ता प्रश्नको पनि उत्तर दिएका छन्।

उनले भने, "एक्लिनु वा दुक्लिनु भन्ने कुरा केही होइन। हामी सत्य र न्यायको पक्षमा उभिने कुरा मुख्य हो। हामी कत्ति पनि निरुत्साहित छैनौँ। एक्लिएका पनि छैनौँ।"

"पुराना शक्तिहरू यस्तै भ्रष्टाचारमा मुछिने हो भने २०८४ सालसम्मा जनताले नयाँ शक्ति खोज्छन्। त्यो स्थान नयाँ शक्तिले लिन्छन् र त्यो स्थान हाम्रो हो किनकि हाम्रो सुविचारित विचार, नीति र कार्यक्रम छ। नयाँ शक्तिबीच हामी बृहत् मोर्चा बनाएर पनि अघि बढ्न सक्छौँ।"

सशस्त्र द्वन्द्वका बेलामा माओवादी पार्टीको दोस्रो नेताका रूपमा चिनिएका बाबुराम भट्टराई र प्रचण्डबीच 'कहिले निकट र कहिले टाढा'को सम्बन्ध रहँदै आएको छ।

उनीहरूबीच सम्बन्ध सुमधुर नहुँदा नहुँदै पनि नेपालको पछिल्लो संविधान बन्ने बेलासम्म सहकार्य जारी थियो र उनीहरू एउटै दलमा थिए। नयाँ संविधान जारी भए लगत्तै भट्टराईले माओवादी छाडे र २०७३ सालमा नयाँ शक्ति पार्टी गठन गरे।

ओली प्रधानमन्त्री रहेका बेला २०७६ सालमा भट्टराईको दल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमबीच एकता भयो र जनता समाजवादी पार्टी बन्यो।

गत वर्ष उक्त दलले पनि भट्टराईलाई पदमुक्त गरिदिएपछि गत असारमा उनले नेपाल समाजवादी पार्टी गठन गरे। गत वर्षको चुनावमा उनले आफ्नो गृहजिल्ला गोरखाबाट चुनाव लड्ने ठानिएको थियो।

तर माओवादीसहित तत्कालीन सत्ताधारी गठबन्धनसँग चुनावी तालमेल गरेका भट्टराईले काठमाण्डूबाट आफ्नी छोरी मानुषीलाई उठाउने सर्तमा प्रचण्डलाई गोरखामा सघाउने निर्णय गरेका थिए।

उनकी छोरीले चुनाव हारिन् भने आफ्नो चुनावी क्षेत्रबाट उठ्ने मौका दिएर उनले जित सुनिश्चित गरिदिएका उनै प्रचण्डले अहिले उनको दलको एउटा खेमालाई माओवादीमा समाहित गरिदिएका छन्।

त्योसँगै उनको दल अहिले लगभग फुटेको अवस्थामा पुगेको छ भने स्वेच्छाले माओवादी छाडेका भट्टराई "माओवादीमा पनि नअटाउने र आफैँ ठूलो शक्ति पनि बन्न नसक्ने" अवस्थामा पुगेको कतिपयको बुझाइ छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा नेपालीको भिसा र ग्रीनकार्ड रद्द हुन सक्ने चेतावनी पछाडिका दुई कारण

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूतले एउटा सरकारी आँकडाले अमेरिकामा रहेकामध्ये ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले अमेरिकी सरकार...

निर्वाचन दुई चरणमा गर्ने विषय आयोगले कहिल्यै स्वीकार गरेको छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाच...

भोजमा मासु खाँदा हड्डी अड्किएर एकको मृत्यु

नुवाकोट । भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्था...

तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत दे...

ताप्लेजुङमा भूकम्पको धक्का, पूर्वी नेपालमा पनि महसुस

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबा...

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरी...

प्रतिनिधिसभा निर्वाचन- ४४ जिल्लाको मतपत्र छपाइ सकियो, समानुपातिकतर्फको ढुवानीको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्ष...

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE