Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

खबरडबली संवाददाता
काठमाडौँ । पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।
 
हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १९ रहेको छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना तथा चितवन राष्ट्रिय निकुञ्जमा छ/छ, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एक बाघ खोरमा राखिएका छन् । बर्दिया र पर्सामा यस्ता दुई बाघ केही समय अघि मात्रै खोरमै मरेका थिए ।
 
यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ । विगत दश वर्षमा नेपालमा बाघको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ ।
 
बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणीउद्यानमा राख्नुपर्ने, केही उपाय नलागे मार्नुपर्र्नेलगायत विकल्पमाथि बहस सुरु भएको छ ।
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गाना वातावरणीय क्षमताका हिसाबले नेपालमा समग्रमा बाघको सङ्ख्या बढी भएको आङ्कलन गर्दै अटाउने निश्चित क्षेत्रभन्दा बढी भएपछि बाघ आहाराको खोजीमा जङ्गलबाहिर आउने गरेको बताउछन् । जङ्गलबाहिर निस्केको र मानव तथा वन्यजन्तुलाई आक्रमण गरेको बाघलाई पुन: जङ्गलमा फर्काउँदा खतरा कायमै रहने उल्लेख गर्दै उनी भन्छन्, “समस्याग्रस्त बाघलाई ठूलो खोर बनाएर ‘टाइगर सेन्चुरी’ अवधारणामा वरपर जालीबाट मानिसले हेर्न सक्ने गरी राख्ने कि भन्ने योजनामा छांै, तर यसका लागि नियमितभन्दा थप धेरै बजेट आवश्यक पर्छ ।”
 
यसबाहेक समस्याग्रस्त बाघको तत्काल व्यवस्थापनका लागि कोशी टप्पुतिर पनि खोर बनाएर सार्ने, प्राणी उद्यानमा उद्धार केन्द्र बनाएर राख्ने, मित्रराष्ट्रलाई उपहार दिनेलगायत विभिन्न विकल्पका बारेमा छलफल भइरहेको महानिर्देशक डा ढुङ्गानाको भनाइ छ । यसरी खोरमा राखेका प्रत्येक बाघलाई आहाराका रुपमा दैनिक पाँच किलो मासु दिने गरिएको छ । साथै व्यवस्थापन र घाइते बाघको उपचारका लागि थप जनशक्तिको समेत परिचालन हुँदै आएको छ ।
 
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल बाघको सङ्ख्या बढेसँगै अब दायित्व पनि थपिएको बताउनुहुन्छ । मानव बस्तीबाट उद्धार गरेको बाघ स्वस्थ छभने तत्काल पुन: वन क्षेत्रमा नै पुन:स्थापना गर्नुपर्ने उहाँको भनाइ छ । यसबाहेक ‘टाइगर जु’ बनाएर व्यवस्थापन गर्नुपर्ने, प्रदेशका चिडियाखानामा व्यवस्थापन गर्नुपर्ने र मित्रराष्ट्रलाई उपहार दिर्नुपर्ने उहाँको सुझाव छ । “उपरोक्त कुनै पनि उपाय लागेन भने समस्याग्रस्त तथा घाइते बाघलाई मार्नुपर्ने अवस्था पनि हुनसक्छ, जुन अन्तरराष्ट्रिय अभ्यासमा पनि छ”, सहसचिव डा ढकाल भन्नुहुन्छ ।
 
समस्याग्रस्त बाघलाई पुन: जङ्गलमा छाड्दा खतरा कायमै  
यस्तै बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन डा अशोक राम मानिस र घरपालुवा जनावरलाई आक्रमण गरिसकेका तथा खोरमा तयारी आहारा खाने बानीले अल्छि भइसकेको हुँदा त्यस्ता बाघलाई खुला वनक्षेत्रमा पुन: छाड्न नसकिने तर्क गर्नुहुन्छ । उहाँ प्राकृतिक रुपमा बाघको धान्ने क्षमता, मानव–बाघ द्वन्द्वका बारेमा यकिन गर्न गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकतासमेत औल्याउनुहुन्छ ।  
 
चिफ वार्डेन डा राम भन्नुहुन्छ, “सङ्ख्या बढ्नु भनेको समस्या त होइन, तर सङ्ख्या बढेसँगै समस्याग्रस्त बाघ चुनौतीका रुपमा देखिएका छन्, यीलगायत बुढा र घाइते बाघलाई बाचुन्जेल खोरमै राख्नुपर्ने बाध्यता छ ।”
 
चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन दिलबहादुर पुन खोरमा रहेका बाघको आहार तथा व्यवस्थापन खर्चिलो भएको बताउनुहुन्छ । बाघको बासस्थानमा मानिस प्रवेश गर्दा र बाघ बासस्थान बाहिर निस्कदा मानवीय र अन्य क्षति हुने गरेको जानकारी दिदै उहाँ भन्नहुन्छ, “हामी त्यस्ता वन्यजन्तुलाई ‘डार्ट’ गरेर उद्धार गरी खोरमा राख्छौँ ।”
 
सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का निर्देशक नरेश सुवेदी बाघलाई साँघुरो खोरमा राख्दा उसको जीवन कठिन भएको बताउनुहुन्छ । समस्याग्रस्त बाघलाई अलि ठूलो स्थानमा ‘बाघ पार्क’ जस्तो बनाएर प्रदर्शनमा राख्न सके बाघका लागि पनि राम्रो हुने र आय पनि हुने उहाँ सुझाउनुहुन्छ ।
 
समस्याग्रस्त बाघलाई खोरमा राख्दा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको आहारा र हेरचाह गर्न नसकिएको उहाँको भनाइ छ । मानव–बाघ द्वन्द्व बढेको भन्ने सन्दर्भमा निर्देशक सुवेदी  भन्नुहुन्छ, “बाघको सङ्ख्या बढेर द्वन्द्व बढेको होइन, त्यसबाहेक अन्य विभिन्न कारण पनि छन्, ९८ प्रतिशत मानव आक्रमणका घटना जङ्गल क्षेत्रमा भएका छन्, बाघले बासस्थान बाहिर आएर आक्रमण गरेका घटना ज्यादै न्यून छन्, केही घटना राति खोलामा माछा मार्न गएका बेला भएका उदाहरण छन् भने कुनै त क्षतिपूर्ति रकम पाइन्छ भनेर भारतमा भएका घटना पनि नेपालमा दाबी गर्ने गरिएको छ ।”
 
बाघमै विद्यावारिधि गर्नुभएका एनटिएनसीका अर्का निर्देशक डा चिरिञ्जीवीप्रसाद पोखरेल पनि समस्याग्रस्त बाघलाई निश्चित ठूलो क्षेत्रफलमा प्राकृतिक खोर बनाई ‘टाइगर सेन्चुरी एप्रोच’को अवधारणामा लैजानुपर्नेमा जोड दिनुहुन्छ । “त्यसमा बाघ बाहिर निस्कन पनि नमिल्ने र पर्यटन प्रवद्र्धन हुने गरी व्यवस्था गर्नुपर्छ, यसको लाभ भनेको समस्याग्रस्त बाघ स्वस्थ पनि हुने र व्यवस्थापन गर्न सहज भई द्वन्द्व न्यूनीकरण पनि हुन्छ”, उहाँले भन्नुभयो ।
 
बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने भएको र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण बासस्थानबाट बाघ बाहिर आउने गरेका छन् । बाघले आफ्नो आनीबानी परिवर्तन गर्न नसक्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले नै संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्ने निर्देशक डा पोखरेलको सुझाव छ ।
 
सङ्ख्यामा वृद्धिसँगै मानव–बाघ द्वन्द्व बढ्दै
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । बाघ पाइने मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
 
उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको सङ््ख्या तीन सय ५५ पुगेको छ ।
 
उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र बर्दियामा एक सय २५ छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाघ पाइएको विभागको तथ्याङ्क छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना गर्दै आएको छ । 
 
नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ३५ रहेको विभागको तथ्याङ्क छ । नेपालबाहेक भारत, चीन, भूटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा धेरै भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई बाघ थिए ।
 
बाघ आक्रमणका ९८ प्रतिशत घटना संरक्षण क्षेत्रमा
 
नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिस घाँस दाउरा, निगुुरो टिप्न र गाईभैँसी चराउन जङ्गल जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन नेपाल सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रम पनि गर्दै आए पनि त्यो पर्याप्त छैन ।
 
वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने, बालीनाली, घर, गोठको क्षतिलगायत घटना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षमा बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा चार जनाको मृत्यु भएको थियो ।
 
विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुहुन्छ । साथै उहाँ वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सबै लाग्नुपर्नेमा जोड दिन्छन् ।
 
जिओलोजीकल सोसाइटी अफ लन्डन ९जेडएसएल०का राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहाल समस्याग्रस्त बाघलाई खोरमा राख्नुमात्र दिगो समाधान नभएको बताउछन्। त्यसको कारणबारे गहिरो अध्ययन गरेर स्वस्थ्य बाघलाई पुन:स्थापना गर्न सकिने बारेमा सोच्नुपर्ने उनको भनाइ छ । उहाँ बाघलाई आफ्नो बासस्थानमै अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउन लाग्नुपर्नेमा जोड दिन्छन्।
 
जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा दाहाल बाघको सङ्ख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्र्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्ने र बाघको सङ्ख्या बढेसँगै निकुञ्ज आसपास क्षेत्रमा प्राकृतिक खोर तथा होल्डिङ सेन्टर बनाएर समस्याग्रस्त बाघको व्यवस्थापन गर्नुपर्ने सुझाउनुहुन्छ । साथै उहाँ जङ्गल बाहिर आएका बुढा, रोगी र घाइते बाघको निक्र्योल गरेर मात्रै निगरानी गरेर खोरमा राख्नुपर्ने बताउनुहुन्छ ।  
 
प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य श्रङ्खलामा बाघ मुख्य सिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । बाघ स्वस्थ्य र सफा पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको माइतीघरमा धर्ना

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...

एमबीबीएस–बीडीएस विद्यार्थीको प्रदर्शन, परीक्षा प्रणाली सुधार गर्न ६ बुँदे माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा...

रास्वपाले सच्यायो त्रुटि: पूजा र ध्रुव निर्वाचित हुँदा सोम र कृष्णमान श्रेष्ठ बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending