Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बचतकर्ताको रकम घोटला गरेको आरोपमा समितिका उपाध्यक्षसहित थप पाँचजना पक्राउ

खबरडबली संवाददाता

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।  

जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो । 

सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि जनाउँदै कार्यालयमा बोलाएर षडयन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाए । 

“ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरु नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैँले ऋणीहरुविरुद्ध गत माघ ६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ?”, नाम उल्लेख  नगर्ने सर्तमा एक पूर्वसदस्यले भने, “यसमा निष्पक्ष छानबिन हुन जरुरी छ । बिना कारण कसैलाई दुःख दिन पाइँदैन । दोषीले उन्मुक्ति पाउनुहुँदैन ।”   

सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। 

“लालुपाते सहकारी संस्था लिमिटेडमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ । अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो”, उनले भने, “नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आइतबार नै जिल्ला अदालत खोटाङमा हाजिर गराउनुका साथै एक दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । सोमबार सबैजनाको एकै पटक पुनः म्याद गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । सम्भवतः यससम्बन्धीको नतिजा चाँडै नै आउने अपेक्षा गरेका छौँ ।”

आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उहाँकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई असोज १३ गते तथा प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो । 

महिना दिनअघि काठमाडौँबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत छन्। 

बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिललगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने जनाउँदै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरुको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।

सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ । बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा पर्ने व्यक्तिको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्यले बताएका छन् । 

विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प रहेको छ । सहकारीमा एकैजनाले रु ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् । 

सहकारीका ऋणीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीको जग्गाबाहेक साँवाब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ ।

बचतकर्तालाई साँवाब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीले बताउँदै आएका छन् । 

बचतकर्ताले आफूहरुको बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका थिए । सहकारीको बचत अपचलनमा मुछिएका आठ जनामध्ये तीनजना पक्राउ परेपछि दिक्तेल बजारमा विरोध प्रदर्शन गर्दै दोषीलाई कानुनी कारबाही गर्न तथा आफ्नो बचत सुरक्षितसाथ फिर्ता दिलाइदिन माग गर्दै धर्ना दिएका हुन् ।

पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवाब्याज फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ताले बताएका छन् । पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएकाले उनीहरुलाई कानुनी कारबाही तथा आफूहरुको बचत फिर्ताका लागि दबाबमूलक प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताए। 

जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि आफूहरुको बचत फिर्ता नदिएको बचतकर्ताले गुनासो गर्न थालेका छन् । दश स्थानीय तह रहेको जिल्लामा एक सय ८१ सहकारी संस्था सञ्चालनमा छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending