Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारत भ्रमण पूर्ण रुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

खबरडबली संवाददाता
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न गरेको भारतको औपचारिक भ्रमणका बारेमा राष्ट्रियसभालाई जानकारी गराएको छन् ।
 
राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्नुहुँदै उनले भारत भ्रमण पूर्ण रुपमा सफल भएको र त्यसक्रममा केही महत्वपूर्ण सहमतिसमेत भएको जानकारी दिए ।  प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा आज गर्नुभएको सम्बोधनको पूर्णपाठ । 
 
मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले गत जेठ १७ देखि २० गतेसम्म भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी फर्केको छु । भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवम् कार्यक्रमहरूका बारेमा यहाँहरू अवगत नै हुनुहुन्छ ।
 
नेपाल र भारतबीच सदियौँ पुरानो तथा घनिष्ट सम्बन्ध रहिआएको छ । मेरो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने दिशामा केन्द्रित रह्यो । विशेषगरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरु भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल  र वार्ताद्वारा निकास खोज्ने दिशामा कुराकानी भयो । 
 
भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित हैदरावादहाउसमा भएको द्विपक्षीय भेटवार्ता महत्वपूर्ण रह्यो । 
 
सो अवसरमा व्यापार, पारवहन, लगानी प्रवद्र्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार सम्पर्क  सञ्जाल बढाउन रेलवे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवम् सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल भयो । 
 
हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई प्रवेश मार्ग र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम ९आइएलएस० सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीका बारेमा समेत कुराकानी भएको छ । नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायतका भारतका अन्य सहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ ।
 
त्यसैगरी, जलविद्युत्का क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको छ । विभिन्न जलविद्युत् आयोजनामा लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने तथा नेपालबाट भारततर्फ ऊर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार सुनिश्चित गर्ने विषयमा पनि भ्रमणमा छलफल र केही महत्वपूर्ण सहमति भएको छ । खास गरी दीर्घकालीन ऊर्जा, व्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत् निर्यातको सुरुआत गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । 
 
भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताउनुभएको छ । ऊर्जा व्यापारसम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिनमात्र बाँकी छ, जुन छिट्टै सम्पन्न हुँदैछ । यसका अतिरिक्त, चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित थप एक हजार दुई सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत् निर्यातका लागि प्रधानमन्त्री मोदीजीलाई अनुरोध गरेको छु ।
 
नेपालमा विद्यमान प्रचुर जलविद्युत् क्षमताको उपयोग गरी समृद्धि हासिल गर्न लगानीकर्ताहरुको टड्कारो आवश्यकता छ । लगानीकर्ताहरुले उत्पादित विद्युत्को बजार सुनिश्चित हुने अवस्थामा मात्र लगानी गर्ने हुँदा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत भारतले नेपालबाट विद्युत् खरिद बिक्री सम्झौता गरी खरिद गर्ने व्यवस्था सहितको फ्रेमवर्क एग्रिमेन्टमा दुवै देशका ऊर्जा सचिवले प्रारम्भिक हस्ताक्षर सम्पन्न गरेका छन् । औपचारिक प्रक्रियाहरु पुर्‍याएर निकट भविष्यमा यो सम्झौतामा अन्तिम हस्ताक्षर हुनेछ । बजारको यो सुनिश्चितताबाट जलविद्युत् उत्पादनमा थप लगानी हुने विश्वास लिइएको छ ।
 
साथै नेपालमा निर्माणाधीन जलविद्युत्, सडकजस्ता ठूला विकास निर्माण परियोजाका लागि अति आवश्यक विस्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि प्रधानमन्त्री मोदीसँग कुरा गरेको छु ।
 
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शीघ्र कार्यान्वयनका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रूप दिने गरी द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको छ । वित्तीय प्रबन्ध सहित दुई सरकारले डिपिआर स्वीकृत गरेपछि त्यसको एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाइनेछ ।
 
नेपाल तर्फका संरचनाहरूको तयारीको अवस्थाका आधारमा टनकपुर ब्यारेजबाट लिङ्क क्यानलमार्फत चरणबद्ध रुपमा नेपाललाई सिँचाइका लागि पानी उपलब्ध गराउने सहमति भएको छ ।
 
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याका बारेमा पनि छलफल भएको छ । मनसुन सुरु हुनुअघि नै बाढी र डुबान नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नका लागि विद्यमान द्विपक्षीय संयन्त्रहरूलाई तत्काल सक्रिय बनाउन सम्बन्धित अधिकारीहरूलाई प्रधानमन्त्री मोदीजी र मैले निर्देशन दिएका छौँ ।
 
त्यसैगरी, नेपालभित्र थप विद्युत् प्रसारण लाइन निर्माणका लागि एक्जिम बैंक इन्डियाबाट प्राप्त सहुलियतपूर्ण कर्जाको चौथो खण्डको रकम उपयोग गर्ने विषयमा प्रधानमन्त्री मोदीजी सहमत हुनभएको छ ।
 
महाकाली नदीमा सिर्सा पर्शुराम धाम ९पूर्णागिरि माई० तथा झुलाघाटमा भारत सरकारको अनुदान सहयोगमा पक्की पूल निर्माण गर्ने सहमति भएको छ । यसबाट आवागमन र व्यापारमा सहजता भई सुदूरपश्चिम प्रदेशका जनता लाभान्वित हुनेछन् ।
 
भारत सरकारको अनुदान सहयोगमा रामायण सर्किट अन्तर्गतका परियोजना, जिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र सुदूरपश्चिममा नेपाल इन्स्टिच्युट या टेक्नोलोजी, कैलाली र चितवनमा अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण कार्य अघि बढाउने बारेमा पनि छलफल भएको छ ।
 
सम्माननीय अध्यक्ष महोदय,
 
कृषि क्षेत्रमा क्षमता अभिवृद्धि, अग्र्यानिक खेती, प्राकृतिक कृषि प्रणाली, नानो फर्टिलाइजर जस्ता विषयमा आपसी सहयोग विस्तार, मलको सहज आपूर्ति, नगदे बाली र चौपायाको नश्ल सुधारका लागि सहायता लगायतका विषयमा समेत छलफल भएको छ । नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता एवम् बजारको सुनिश्चितताका बारेमा पनि छलफल गरेका छौँ । भारतीय बजारमा नेपालका कृषिजन्य उत्पादन र प्राथमिक वस्तुहरूको निर्यात सहजीकरणका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको छ ।
 
द्विपक्षीय व्यापारलाई थप प्रवद्र्धन गर्ने र नेपालले सामना गरिरहेको व्यापार घाटा न्यूनीकरणको विषयमा पनि छलफल भएको छ । द्विपक्षीय व्यापारलाई अझ सहज बनाउन नेपाल भारत वाणिज्य सन्धिको पुनरावलोकन गर्न र व्यापारसम्बन्धी अन्य विषयलाई सम्बोधन गर्न वाणिज्य सचिवस्तरीय विद्यमान द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाएर कार्य गर्ने निर्देशन दुवै प्रधानमन्त्रीले दिएका छौँ । व्यापार सहजीकरणका लागि प्रयोगशालाहरूले जारी गर्ने प्रमाणपत्रको ‘म्युचुअल रिकग्निशन/ एग्रिडिटेसन’सम्बन्धी कार्यलाई अभ्यासमा उतार्ने गरी द्विपक्षीय समझदारीपत्रलाई टुङ्गोमा  पुर्‍याउने सहमति भएको छ । नेपाली जुटमा लगाइएको महसुल हटाउनसमेत भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको छु ।
 
भेटवार्ताका क्रममा सीमासम्बन्धी विषयहरुमा कुराकानी भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई आग्रह गरेको छु । यहाँहरूलाई थाहा नै छ, प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायत थाती रहेका सबै समस्या समाधान गरिने छ भन्ने कुरा स्पष्ट ढङ्गले राख्नुभएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो । 
 
सम्माननीय अध्यक्ष महोदय,
 
अब म यस सम्मानित सदनलाई मेरो भ्रमणका अवसरमा प्रधानमन्त्री मोदीजी र मैले भर्चुअल माध्यमबाट उद्घाटन र शिलान्यास गरेका परियोजनाबारे जानकारी गराउन चाहन्छु । 
 
१. कुर्था बिजलपुरा रेलमार्गको हस्तान्तरण ९भारत सरकारको अनुदान सहयोग० मा निर्माण भइरहेको यस रेल मार्गअन्तर्गत हाल जयनगर– कुर्था ३५ किमी खण्डमा रेल सेवा सञ्चालन भइरहेकामा कुर्था–बिजलपुरा थप १७ किलोमिटर लामो खण्ड सम्पन्न भई हस्तान्तरण भएको छ । आवश्यक तयारीपछि अहिले सञ्चालनमा रहेको कुर्थासम्मको रेल सेवा बिजलपुरासम्म विस्तार भई ५२ किलोमिटर यात्रुवाहक रेल सेवा सञ्चालन हुनेछ ।  हाल निर्माणाधीन बिजलपुरादेखि बर्दिबाससम्मको बाँकी १८ किलोमिटर खण्ड पनि शीघ्र सम्पन्न गर्ने सहमति भएको छ । त्यसपछि नेपालको पूर्व– पश्चिम राजमार्गको बर्दिबासदेखि ७० किमी दूरीमा जयनगर हुँदै भारतका विभिन्न सहरहरुमा यात्रुवाहक र मालवाहक रेलसेवा सञ्चालन हुनेछ । यसबाट नेपालको आयात निर्यातमा समय र लागत घटनाका साथै पर्यटन क्षेत्रमा समेत ठूलो टेवा पुग्नेछ ।
 
२. भारतको जोगबनीदेखि नेपालको विराटनगर कस्टम्स यार्डसम्म कार्गो रेल सेवाको सञ्चालन भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन भारतको बथनाहादेखि नेपालको कटहरी, मोरङसम्मको रेलमार्गमध्ये बथनाहादेखि विराटनगर भन्सार परिसरसम्मको आठ किलोमिटर खण्ड सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण भएको छ । यसबाट विराटनगर क्षेत्रको व्यापार व्यवसायलाई सहज हुनाका साथै हाल वीरगञ्जमा परेको चाप कम हुनेछ । यो सेवा सञ्चालनपछि नेपाल भारतबीच मालवस्तु निकासी पैठारीमा सहजता आउनाका साथै एक अर्का देशको निर्धारित स्थानसम्म सोझै ढुवानी गर्न मिल्ने र भन्सार विन्दुमा समेत झन्झटिलो प्रक्रिया नहुने हुँदा समय र लागत दुवैमा बचत हुनेछ ।  
 
३. एकीकृत जाँचचौकीको शिलान्यास एवम् उद्घाटन भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको नेपालगञ्ज–रुपैडिहास्थित  एकीकृत जाँचचौकीको हामीले संयुक्त रुपमा उद्घाटन गर्‍यौँ ।  त्यसैगरी, भारत सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा–सुनौली एकीकृत जाँचचौकीको पनि शिलान्यास भएको छ । यस किसिमका एकीकृत जाँचचौकीको निर्माण एवम् अत्याधुनिक क्वारेन्टिन सेवाहरु विस्तार हुने भएबाट व्यापार सहजीकरण र अनधिकृत व्यापार नियन्त्रणमा सहज हुने एवम् गुणस्तरीय वस्तुको आयात सुनिश्चित हुनेछ । 
 
४. मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको निर्माण कार्यको शिलान्यास ९पहिलो चरणमा भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न०  भई दोस्रो चरणमा उक्त पाइपलाइन  चितवनको लोथरसम्म विस्तार गरी निर्माण गर्ने पूर्वयोजनाअनुरुप नै दोस्रो चरणको शिलान्यास भएको छ । यस बारेमा पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी समझदारीपत्रसमेत हस्ताक्षर भएको छ । 
 
५. बुटवल–गोरखपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास भएको छ । बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको निर्माण नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाको को ५०/५० प्रतिशत शेयर रहने गरी संयुक्त उपक्रम कम्पनीमार्फत अघि बढाउने सहमति यसअघि नै नेपाल र भारतका सचिवस्तरीय बैठकमा भएको हो । सो अनुरुप उक्त संयुक्त उपक्रम कम्पनीसमेत गठन भई निर्माण कार्यका लागि बोलपत्र आह्वान भई मूल्याङ्कनको प्रक्रियामा रहेको छ । यस आयोजनाको निर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
 
सम्मानीय अध्यक्ष महोदय,
 
भ्रमणका अवसरमा सातवटा दस्तावेजहरुमा हस्ताक्षर र आदानप्रदान भएको छ । 
 
१. नेपाल–भारत पारवहन सन्धि  ९नेपाल जस्तो भूपरिवेष्टित मुलुकका लागि भारत हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न पारवहन सन्धि० महत्वपूर्ण हुन्छ नै । ५ जनवरी १९९९ मा संशोधन गरिएको नेपाल–भारत पारवहन सन्धि तथा त्यसको प्रोटोकल र मेमोरेन्डम ६ जनवरी १९९९ देखि कार्यान्वयनमा रहेको थियो । 
 
उक्त सन्धिमा भएका प्रावधानका अतिरक्त पारवहनका क्षेत्रमा देखापरेका अप्ठ्यारा समाधान गर्न विगतमा विभिन्न लेटर अफ एक्सचेन्जमार्फत  समझदारी गरिएका थिए । ती छरिएर रहेका प्रावधानहरुलाई एकीकृत गरेर सन्धिमा नै समावेश गरिएको छ । साथै, संशोधित सन्धिमा केही दूरगामी महत्वका नयाँ प्रावधानहरु समावेश गरिएको छ । जसअनुसार  वीरगञ्जका अलावा भैरहवा र विराटनगर तथा भविष्यमा विकास हुने अन्य नाकाहरुसमेत बाट सिमेन्ट, कोल, क्लिन्कर लगायतका बल्क कार्गोे ढुवानी हुने प्रावधान समावेश गरिएको छ । त्यसैगरी, नेपालको पारवहनमा भारतको आन्तरिक जल यातायातको प्रयोग गर्न  साहेवगञ्ज, कालुघाट र बनारससम्म आन्तरिक जलमार्ग उपयोग र भारतका यी तीनवटा टर्मिनल्सबाट हाल सडक र भविष्यमा विकास हुने रेलमार्गसहित मल्टिमोडल ढुवानीका माध्यमबाट पारवहन सुविधा सुनिश्चित भएको छ । यसबाट पारवहन माध्यमको विविधीकरण हुने, अन्तरआबद्धता बढ्ने र तेस्रो मुलुकसम्मको व्यापार पहुँचमा नेपालको पारवहन अधिकार सुनिश्चित भएको छ ।  
 
२. पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी समझदारीपत्र
भारतीय आर्थिक तथा प्राविधिक सहयोगमा बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म र  भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने साथै  लोथर  र चारआलीमा ग्रिनफिल्ड टर्मिनल निर्माणमा ५०/५० प्रतिशत खर्च ब्यहोर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्तरदेशीय पाइपलाइनको विस्तार र भण्डारको विकासबाट लागत प्रभावकारिता, ढुवानी, भण्डारण एवम् ऊर्जा सुरक्षाको हिसाबले समेत यो महत्वपूर्ण छ । विद्युतीय ऊर्जाको विकास र खपत बढाउने सरकारको प्रमुख प्राथमिकता रहेता पनि आगामी केही वर्ष पेट्रोलियम खपत निरन्तर रहने र विश्व अनुभवले समेत शून्य पेट्रोलियम खपत हुने नदेखिएको परिप्रेक्ष्यमा अन्तरदेशीय पाइपलाइन आवश्यक छ । 
 
३. दोधारा–चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धमा समझदारीपत्र 
 
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । नेपालको सुदूरपश्चिम क्षेत्रमा यस किसिमको पूर्वाधार निर्माण हुँदा पारवहन एवम् व्यापार सहजीकरण भई समग्र सुदूरपश्चिम र देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।  यो क्षेत्रबाट भारतको पश्चिमतर्फ रहेका समुन्द्रिक बन्दरगाहहरू तुलनात्मक रुपमा नजिक पर्ने हँुदा आगामी दिनमा भारत हुँदै तेस्रो मुलुकसम्म व्यापार पहुँच वृद्धि गर्न कोसेढुङ्गा साबित हुनेछ । यसको निर्माणबाट हाल विकास भइरहेका आद्योगिक पूर्वाधार र आगामी दिनमा विकास हुने विशेष आर्थिक क्षेत्रको विस्तारमा सरकारी तथा निजी लगानी बढ्ने, रोजगारी सिर्जना हुने र तुलनात्मक लाभ भएका जडीबुटीजन्य वस्तुको प्रशोधन र निर्यात प्रवद्र्धनमा थप टेवा पुग्नेछ ।
 
४. फुकोट–कर्णाली चार सय ८० मेगावाट जलविद्युत् परियोजना विकाससम्बन्धी समझदारीपत्र
 
विदेशी लगानीकर्तासँग स्वदेशी लगानीकर्ताले संयुक्त उपक्रम कम्पनी खडा गरेर विद्युत् उत्पादनका लागि आवश्यक अनुमतिपत्र लिएर आयोजना अध्ययन तथा निर्माण गर्न पाउने विद्यमान कानुनी व्यवस्थाअन्तर्गत भारतको नेसनल हाइड्रोपावर कर्पोरेसन ९एनएचपिसी० र नेपालको विद्युत् उत्पादन कम्पनी लिमिटेडबीच संयुक्त उपक्रम कम्पनी खडा गरी चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको अध्ययन तथा निर्माण गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । संयुक्त उपक्रम कम्पनी निर्माण भइसकेपछि आयोजनाको थप अध्ययनका लागि अनुमतिपत्र लिई अध्ययन गर्ने, नेपाल सरकारसँग आयोजना विकास सम्झौता गर्ने लगायतका कार्यहरु सम्पन्न भइसकेपछि यसको निर्माण कार्य प्रारम्भ हुनेछ ।
 
५. तल्लो अरुण ६ सय ६९  मेगावाट जलविद्युत् परियोजनासम्बन्धी परियोजना विकास सम्झौता 
प्रतिस्पर्धी बिडिङ प्रक्रियाबाट लगानी बोर्ड र सतलज जलविद्युत् निगमबीच सन् २०२१ सम्झौता भई प्रचलित कानुनबमोजिम अध्ययन पूरा भएको ६ सय ६९ मेगावाट क्षमताको  बुट द्यइइत् मोडेलमा निर्माण हुने यो परियोजना अरुण तेस्रोको तल्लो तटीय परियोजना हो । यसबाट उत्पादित २१ प्रतिशत विद्युत् नेपाललाई नि:शुल्क प्राप्त हुने छ ।  
 
६. नेपालको नेसनल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कम्पनी इन्डिया लिमिटेडबीच सीमापार विद्युतीय भुक्तानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल र भारतमा भ्रमण गर्ने दुवै देशका पर्यटक, विद्यार्थी तथा उद्योगी–व्यापारीका निम्ति यस समझदारीपत्र एक महत्वपूर्ण उपलब्धि हो । यसले क्रस बोर्डर डिजिटल पेमेन्ट प्रक्रिया थप सरल, सहज, भरपर्दो बन्ने छ । 
 
७. नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज विदेश सेवा संस्थानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिमस्टेक, ब्रिक्स जस्ता क्षेत्रीय सङ्गठन एवम् अन्य देशका समकक्षी गरी ९८ अन्ठानब्बे वटा समझदारी सम्पन्न गरिसकेको भारतको विदेश सेवा संस्थानसँग नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संस्थागत सम्बन्ध स्थापना गर्दा नेपालको कूटनीतिक क्षमता विकास गर्न एवम् अनुभव आदान–प्रदान गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।
 
नेपाल–भारत व्यापार शिखर सम्मेलन 
 
भ्रमणका अवसरमा नेपाल र भारतका निजी क्षेत्रका छाता सङ्गठनहरू नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसंघद्वारा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरेको छु । भारत सरकारका वाणिज्यमन्त्रीसमेत उपस्थित उक्त कार्यक्रममा नेपालका निजी क्षेत्रका प्रतिनिधि तथा भारतीय व्यवसायी तथा लगानीकर्ताहरुबीच साझेदारी र लगानीका विषयमा अन्तरक्रियासमेत भएको छ ।
 
नयाँ दिल्लीको द्विपक्षीय भेटवार्ता र अन्य औपचारिक कार्यक्रमहरूको समापनपश्चात् मैले भारतको मध्य प्रदेशको इन्दौर र सांस्कृतिक सहर उज्जैनको भ्रमणसमेत गरेँ । इन्दोरमा स्वच्छ भारत अभियान अन्तर्गतको फोहर व्यवस्थापन परियोजना र नेपालमा सूचना प्रविधिको विकासका क्षेत्रमा सहकार्य गर्ने सम्भावनालाई मध्यनजर गर्दै इन्दौरस्थित टाट कन्सल्टिङ सेन्टरको पनि अवलोकन गरेँ । छोटो समयमै कम लगानीमा प्रभावकारी ढङ्गले सञ्चालित इन्दौरको फोहर व्यवसथापनसम्बन्धी अनुभव हाम्रा लागि पनि अनुकरणीय रहेको पाएँ । 
 
मैले भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निम्ता दिएको छु र भारतका प्रधानमन्त्रीले आफूले सन २०१४, २०१८ र २०२२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेपालको भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ ।
 
नेपाल र भारतबीच रहेको बहुआयामिक र घनिष्ट सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रूपमा कुराकानीबाट विश्वासको वातावरण सिर्जना भएको छ भने थाती रहेका विषयलाई सम्बधोन गर्न सकिने विश्वासको आधार तयार भएको छ । गत वर्ष सम्पन्न आम निर्वाचनपश्चात्को पहिलो विदेश भ्रमणका रूपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रूपमा यो भ्रमण परिणाममूखी रहेको छ र भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत कोरेको छ ।
 
अन्त्यमा, यस औपचारिक भ्रमणको तयारीका क्रममा मलाई महत्वपूर्ण सुझाव प्रदान गर्नुहुने पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वकूटनीतिज्ञ, नेपाल सरकारका सम्बद्ध निकायलगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध...

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । विहिबार एक...

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा...

नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बै...

नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसा...

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

बाँके । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्य रूपमा मूल्यसूची राख्न र सुर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आ...

नेपाल ए र आयरल्याण्डबीचको सिरिजको नयाँ तालिका सार्बजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्बजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिर...

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ, यसको सामना गर्नुछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगा...

केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज

काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ । लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित स...

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।  अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies