Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

यसअघि सांसद र गृहमन्त्री गुमाएका रविविरुद्ध फेरि किन दर्ता भयो सर्वोच्चमा मुद्दा ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले "पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको" दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

"निवेदनमा उठाएको विषयवस्तुको प्रकृति इजलासबाटै व्याख्या भई निरूपण संवैधानिक र कानुनी प्रश्न भएकोले दर्ता गराउनू भन्ने आदेश भएको हुँदा मुद्दा दर्ता भएको छ अब उहाँको नागरिकताबारे इजलासमा बहस होला," पौडेलले भने।

यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो। पुरानो नागरिकता फेरि लिएपछि उनी उपनिर्वाचनबाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएका छन्।

अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गत माघमा उनले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताएका थिए।

पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उनले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। लामिछानेले फेरि लिएको नेपाली नागरिताको वैधताबारे उनले फेरि अदालतमा प्रश्न उठाएका छन्।

कसरी दर्ता भयो मुद्दा?

सर्वोच्च अदालतको प्रशासनले यसअघि पौडेलको निवेदन दरपिठ गरिदिएको थियो। मुद्दा दर्ता नगर्ने अदालतको निर्णयविरुद्ध पौडेलले पुनरावेदन दिएका थिए। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमवार उनको निवेदन दर्ता गर्ने आदेश दिएको थियो।

लामिछानेले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको जिकिर गर्दै पौडेलले उनको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गरेका छन्। मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउन समेत पौडेलले अन्तरिम आदेशको माग गरेका छन्।

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा राहदानी दुरुपयोगको मुद्दा पनि विचाराधीन छ।

उनले दोहोरो राहदानी प्रयोग गरेको उजुरीमा छानबिन गरेको महान्यायाधिवक्ताको कार्यालय यसअघि लामिछानेविरुद्ध मुद्दा चलाउन “आधार र प्रमाण” नपुगेको ठहर गरेपछि तीनै पौडेलले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए।

सर्वोच्च अदालतले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउन आदेश दिएको छ।

यसअघि किन सांसद र गृहमन्त्री पद गुमाए?

सञ्चारकर्मीका रूपमा चर्चा कमाएका रवि लामिछाने छुट्टै पार्टी खोल्दै गत वर्ष राजनीतिमा होमिएका हुन्। उनको दलले मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेको थियो।

तर पौडेलले नै दायर गरेको रिट निवेदनमा अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो।

दुई महिनामै सांसद पद गुमाएका रवि लामिछाने चितवन-२ मा गत वैशाख १० गते भएको उपनिर्वाचनमा फेरि निर्वाचित भएका छन्।

उपनिर्वाचनमा तनहुँ-१ मा पनि उनको दलका स्वर्णिम वाग्लेले जित हासिल गरेपछि यो दलसँग प्रतिनिधिसभामा २१ जना सांसद छन्।

संसद्‌को चौथो ठूलो दलका नेता लामिछाने गृहमन्त्री समेत बनेका थिए। तर सांसद पद गुमेपछि उनले पार्टी सभापति र गृहमन्त्रीबाट समेत राजीनामा दिए।

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर पुन: सांसद बनेसँगै उनलाई पार्टी सभापति र संसदीय दलको नेतामा फेरि चयन गरिएको थियो। तर प्रधानमन्त्रीले राहदानी मुद्दा नटुङ्गिएको कारण देखाउँदै उनलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार गरेको विवरण आएका थिए।

त्यसपछि उनको पार्टी सरकारबाट बाहिरियो। हालै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

युवराज पौडेल को हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटकपटक मुद्दा लिएर जाने युवराज पौडेल अधिवक्ता होइनन्। उनी आफूलाई राजनीतिज्ञ भनेर चिनाउन खोज्छन्।

सिन्धुलीको कमलामाई नगरपालिकाका पौडेल आफू विसं २०५४ सालदेखि राजनीतिमा आबद्ध रहेको दाबी गरे।

उनका अनुसार उनी अहिले समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता हुन्। यो दल सङ्घीय र प्रदेशसभामा सांसदहरू भएको पार्टी चाहिँ होइन।

उनी विगतमा नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए। पौडेलका अनुसार माओवादी र नेकपा एमाले एकताको घोषणाअघि नै माओवादी छोडेर उनी नयाँ दलमा आबद्ध भएका थिए।

अरू विवाद के हुन्?

लामो समय अमेरिका बसेर नेपाल फर्किएका रवि लामिछाने समयसमयमा मुद्दामामिला र विवादका बेलाबेलामा चर्चामा आइरहन्छन्।

यसअघि न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाइरहँदा श्रमस्वीकृति नलिई नेपालमा काम गरेको उजुरी उनीविरुद्ध परेको थियो।

त्यसपछि उनले अमेरिकी नागरिकता र राहदानी त्यागेर नेपाली नागरिकका रूपमा स्वदेशमा रहने घोषणा गरेका थिए। एक पूर्वसहकर्मीले आत्महत्या गरेपछि लामिछानेविरुद्ध २०७६ सालमा आत्महत्या दुरुत्साहनको मुद्दा पर्‍यो।

चितवनमा आत्महत्या गरेका सालिकराम पुडासैनीले आफ्नो मोबाइल फोनमा लामिछाने सहितका सहकर्मीका कारण ‘आफू मर्न बाध्य भएको’ भन्दै खिचेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। उक्त प्रकरणमा लामिछानेले पछि अदालतबाट सफाइ पाए।

गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि लामिछानेको नागरिकता अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उनीविरुद्ध उजुरी पर्‍यो। 

आयोगले नागरिकताको विषय आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरीमा छानबिन गरेन। त्यसपछि उनको नागरिकता प्रकरणको मुद्दा अदालतमा पुगेको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending