Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मधेसमै खुम्चिए मधेसवादी दल, मधेस आन्दोलनका महारथी एकले जिते दुईले हारे

पुरानै पार्टीतिर फर्कियो जनमत

खबरडबली संवाददाता
जनकपुरधाम । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा ९एमाले०ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित भएको हो । शुक्रबार ९मङ्सिर ९ गते० जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधि र उहाँका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काएको थिए । 
 
यता झाले निर्वाचनमा पराजय भएको औपचारिक घोषणा हुँदै गर्दा थियो, उता यही क्षेत्र छोडेर सर्लाही–२ पुग्नुभएका राजेन्द्र महतोले निकै चुनौतीको सामना गरिरहेको खबर आइरहेका थिए । महतोलाई चुनौती दिने नेता थिए, मधेश आन्दोलनकै अगुवा महेन्द्र राय यादव । मधेसी नागरिकलाई सङ्गठित गरी अधिकारको आन्दोलनमा लामबद्ध गर्नेमध्येका मुख्य नेता तत्कालीन मधेसी जनअधिकार फोरमका संस्थापक र अहिलेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पराजय बेहोरेको घोषणा भइसकेको थियो, त्यो पनि मधेश अधिकार आन्दोलनकै नाराले उदायका डा सिके राउतबाट । उता महतो आफ्नै सहकर्मीबाट हार्दै थिए, यता झा आफ्नै सहयात्री दल जसपाकै असहयोगले हार्दै थिए । 
 
“भाइ फुटे गवार लुटे भनेको यही त रहेछ हजुर”, अन्तिम चुनावी परिणाम सुनिरहेकामध्येका जनकपुरधाम–३ का ६१ वर्षीय राजेन्द्र भगत भन्दै थिए, “यति छिट्टै यस्तो होलाजस्तो लागेको थिएन ।” उनले मधेसमा एकल सरकार बनाउन सक्ने हैसियत बनाएका दल रक्षात्मक अवस्थामा पुगेको देखेर आफूलाई निकै दुःख लागेको बताए । ‘खुसी हुने कि दुःखी’ अन्योलमा हुनुहुन्थ्यो जनकपुरधाम–१ का ६५ वर्षीय धनीवीर दास पनि । “हिजो हामी पनि उहाँहरु सँगसँगै लडेको हो अधिकारका लागि तर अहिले सबै अलगअलग हुनुहुन्छ”, उनले भने, “त्यसको फाइदा त अरुले उठाए नि १ यो दुःखद् हो ।”
 
जनकपुधाम–४ का ५८ वर्षीय फुलगेन साहले अहिलेको परिणामले आफूलाई आश्चर्य नलागे पनि मधेस आन्दोलनका नेताहरुले चुनाव हारेकामा नराम्रो लागेको प्रतिक्रिया दिनुभयो । “राम्रो त भएन तर के गर्नु जनता रिसाएपछि”, साह भन्नुहुन्छ, “अधिकारको नाराले मात्रै केही हुँदैन, अवसर पाएको बेला काम गर्नुप¥यो नि ।” सोही ठाउँका २१ वर्षीय अनुराज झा पनि यस्तै भन्दै हुनुहुन्थो, “जनता बदलाव चाहन्छन्, अवस्थामा बदलाव । न बदलाव भयो न नेताहरु बदलिए, न त उनीहरु एक ठाउँमा भए । त्यसैले परिणाम यस्तो आयो ।”
 
देशभर चुनावको अन्तिम परिणाम आउने क्रममा छ । मधेस प्रदेशमा पनि चुनावी चित्र प्रष्ट भइसकेको छ ‘अरु चम्किए, मधेसवादी खुम्चिए’ । यो परिणामका विविध पाटाको समीक्षा हुँदै जानेछ । मधेस प्रदेशको राजधानी जनकपुरधाम धनुषामा भने मतगणनाको प्रारम्भिक नतिजासँगै बहस सुरु भइसकेको छ । यहाँका युवादेखि वृद्ध, व्यापारीदेखि ग्राहक, जागिरेदखि बुद्धिजीवी सबैले यसपटकको निर्वाचनको परिणामप्रति चासो व्यक्त गरिरहेका छन् । 
 
‘मधेस आन्दोलनका महारथी एकले जिते दुईले हारे’
 
भनिन्छ चुनावमा हारजीत स्वाभाविक हो । देशभरि पटकपटक मन्त्री र पार्टी सत्तामा पक्कड भएका नेताहरु पनि राजनीतिको कखरा सिक्दै गरेकाहरुबाट पराजित भएका छन् । मधेसमा पनि त्यस्तै तर केही फरक भएको छ । यहाँ विकल्पको रुपमा नयाँलाई कम पुरानै पार्टीतर्फ बढी जनमत फर्किएको छ । पार्टी नेता तर चुवावमा स्वतन्त्रको हैसियतमा भएकाहरु चम्किएका छन् । 
 
मधेस राजनीतिका तीन महारथी महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र  महतोमध्ये एक जनाले मात्रै जितेको छन् । ठाकुरले महोत्तरी ३ मा हिजोको सहयात्री दल जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गरेको छन् । महतोले सर्लाही २ मा लामो समय सहयात्रा गरेका महेन्द्र राय यादवबाट हार बेहोर्नुपरेको छ । यादवले सप्तरी २ मा मधेशीकै मुद्दाले स्थापित जनमत पार्टीका अध्यक्ष डा सिके राउतबाट पराजय हुनु परेको छ । त्यसैले पनि मधेसको हार र जीत दुवै विशेष छ । यहाँ हार्ने आफ्नै, हराउने पनि आफ्नै । 
 
विश्लेषक रोशन जनकपुरी पनि अरु ठाउँको भन्दा मधेसको हारजीत फरक र विशेष रहेको बताउन्छन् । “मधेसकै मुद्दा उठाएर स्थापित हुन खोजेको जनमत पार्टीले जनमत बढाउँदै गएको छ, हार्ने ठाउँमा पनि यिनै दलका उम्मेदवार निकटतम प्रतिस्पर्धी छन्”, उनले भने, “आपसमा लडेपछिको परिणाम यस्तै त हुन्छ ।” उनले मधेसवादी दलले अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसकेकाले जनविश्वास भड्किँदै गएको बताए । “हिजोका मुद्दा यथावत छन्, मधेसवादी दलहरुमा राजनीतिक चरित्र अस्थिर रह्यो, त्यसकै प्रतीकात्मक अभिव्यक्ति हो अहिलेको परिणाम”, जनकपुरी भन्न्छन्, “जनतामा के मा र किन मत दिने भन्ने द्विविधा त थियो नै, मत विभाजित भएपछि अरुले फाइदा उठाए ।”
 
अर्का विश्लेषक डा राजेन्द्र विमल पनि मधेशवादी दलहरुले यहाँबाट आर्जित शक्तिलाई मधेशका मुद्दा सम्बोधन गर्नेतर्फ सही रुपमा प्रयोग नगरेकै कारण जनताले आशा र निराशासहित अभिमत जाहेर गरेको बताए । “अहिले देशभरि जनताहरु आक्रामक छन्, यहाँका नेताहरुले पनि मधेसका जनताको भावना बुझ्न सकेनन्”, डा विमलले भन्नुभयो, “मधेसका मुद्दा सम्बोधन गर्न इमान्दार प्रयत्न नभएको लागेरै जनताले यस्तो गरेका हुन सक्छन् ।”
 
यसपाली मधेस आन्दोलनका सहयात्री दलहरु फरकफरक कित्तामा उभिएका कारणले त हुँदै हो विगत पाँच वर्षमा प्रदर्शन गरेको अस्थिर राजनीतिक चरित्र पनि मधेसवादी दलहरुलाई महँगो परेको धेरैको बुझाइ छ । हुन पनि विसं २०७४ मा गठबन्धन र पछि पार्टी एकता गरेका नेताहरु सत्ता राजनीतिकै कारण फेरि फुटे । उम्मेदवारी दर्ताको केही दिन अघिसम्म सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी अन्तिम समयमा प्रतिपक्षी एमाले कित्तामा गयो । एमाले कित्तामै रहेको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग सहकार्य ग¥यो । पुराना सहयात्री यी दलको यही व्यवहारलाई जनताले मन नपराएको डा सुरेन्द्र लाल बताउन्छन् । 
 
उनले राष्ट्रिय पार्टी र मधेशवादी दलबीचको फरक नछुटेकै कारण मधेशका जनता पनि विभाजित भएको बताए । “हुन त काठमाडौँमा जे भयो मधेसमा पनि त्यही भयो”, डा लालले भने, “फेरि किन मत हाल्ने भन्ने बारे जनतालाई आश्वस्त पार्न नसकेपछि हुने यस्तै हो ।”
 
पुरानै पार्टीतिर फर्कियो जनमत
 
पाँच वर्षअघि तत्कालीन सङ्घीय समाजवादी फोरम (हालको जसपा) र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले आफ्नै बलबुतामा प्रतिनिधिसभाका ३२ मध्ये १९ र प्रदेशसभामा ६४ मध्ये ३४ सिट जितेका थिए । त्यसबेला सङ्घीय समाजवादी फोरमले प्रतिनिधिसभामा नौ र प्रदेशमा १९ तथा राजपाले प्रतिनिधिसभामा १० र प्रदेशमा १५ स्थानमा जितेको थियो । यसपटक भने फरक कित्तामा रहेका यी दुई पार्टीमध्ये जसपाले प्रतिनिधिसभामा छ र लोसपाले तीन गरी नौ स्थानमा जीत निकालेका छन् । त्यसैगरी प्रदेशसभामा क्रमशः नौ र सात गरी १६ स्थानमा जितेका छन् । 
 
यी दुई पार्टीले समग्रमा प्रतिनिधिसभामा नौ र प्रदेशसभामा १८ सिट गुमाएका छन् । यी सिटमध्ये मधेशवादी दल जनमत पार्टीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको छ स्थान ओगटेको छ । समग्रमा जसपा र लोसपाबाहेकका पार्टी तथा स्वतन्त्रले प्रतिनिधिसभाका २३ र प्रदेशसभाका ४८ स्थान आफ्नो पक्षमा पारेका छन् । जबकी अघिल्लो पटक प्रतिनिधिसभामा र प्रदेशसभामा क्रमशः दुई र १४ स्थानमा जितेको एमालले यो पटक प्रतिनिधिसभामा आठ र प्रदेशसभामा १४ स्थान जितिसकेको छ । 
 
प्रदेशसभाको परिणाम आउन बाँकी एक सिटमा एमाले उम्मेदवार अगाडि छन् । त्यसैगरी अघिल्लो पटक प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिटमै चित्त बुझाएको कांग्रेसले यो पटक प्रतिनिधिसभामा एक सिट बढाएर सात र प्रदेशमा चार सिट बढाएर १३ पु¥याएको छ । 
 
प्रतिनिधिसभाको परिणाम आउन बाँकी एक सिटमा कांग्रेस उम्मेदवार अगाडि छन् । मधेशवादी दल मात्रै होइन, अरु पार्टीभन्दा मधेस पक्षधर भनिएको माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा अघिल्लो पटक जितेको ९पाँच० सिटबाट चार र प्रदेशमा ९अघिल्लो पटक छ० दुई सिट गुमाएर चार सिटमा चित्त बुझाएको छ । यसबाहेक एमाले विभाजन गरेर बनाइएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार स्थान सुरक्षित गरेको छ ।  
 
सङ्ख्यात्मकरुपमा अब सबै मधेशवादी दलहरु मिलेर पनि प्रदेश सरकार बन्ने अवस्था गुमेको छ । अघिल्लो पटक जसपा र लोसपा मिलेर एकल सरकार बनेको थियो । देशमा राजनीतिक उथलपुथल हुँदा पनि जसपा नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पाँचै वर्ष सरकार चलाउनुभएको थियो । तर अब मूलधारका राष्ट्रिय पार्टीको सहयोगबिना सरकार बन्न नसक्ने अवस्था आएको छ ।  
 
आशा र निरासाको अभिव्यक्ति
 
विश्लेषक जनकपुरी मधेसमा मधेसवादी पार्टी र समग्रमा मधेस र उत्पीडित जनताको पक्षधर मानिएको माओवादी शक्ति कमजोर हुनुको सङ्केत राम्रो नभएको बताउन्छन्। “मधेसको कुरा गर्दा मधेसवादी दलमा आएको मत फेरि पुरानै पार्टीतिर फर्किन सुरु भएको छ । समग्रमा परिवर्तनका पक्षधर दलप्रतिको आक्रोस मतदानबाट पनि पोखिएको छ”, उहाँले भने। उनले मधेसी तथा परिवर्तनकारी जनतामा संवेदना बाँकी नै रहेकाले हिजो गरिएका वाचा पूरा गर्न र गुम्न थालेको साख फर्काउन इमान्दार प्रयत्न गर्न लाग्नु नै दलका लागि हितकर हुने बताए । 
 
विश्लेषक डा राजेन्द्र विमलले नयाँ पुस्ता र नयाँ पार्टीको उदयलाई देशले परिवर्तन चाहेको अर्थमा बुझ्न सकिए पनि राष्ट्रिय एकता र परिवर्तनको मुद्दा बोक्ने कमजोर हुँदै जानु राम्रो नभएको बताए । “अहिलेको परिणाम आशा र निराशाको समिश्रण मात्रै हो । नेता र दलहरु नबदलिएमा जनता त बदलिन्छन् नै”, डा विमलको भनाइ छ, “अविश्वासले आक्रोसको रुप लिनुअघि नै हामी सबै बदलिन जरुरी छ । पक्कै सुन्दर बिहानी आउँछ । अँध्यारा पक्ष मेटिदै जान्छन् ।”
 
विश्लेषक डा सुरेन्द्र लालले पनि अहिलेको परिणामले मधेसवादी र परिर्वतनकारी शक्तिहरुले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउन्छन् । जे गरे पनि जनताले मत हालिहाल्छन् भन्ने मनोविज्ञानलाई अहिलेको परिणामले बदल्न चेतावनी मात्रै दिएको भन्दै डा लालले दलहरु बाँकी समय पनि नेताहरु नसुध्रिएमा समस्या हुने बताए। “सत्ता र शक्तिका लागि आजसम्म भएका क्रियाकलापले सबै एकै त हुन् नि भन्ने अवस्था बनेको छ । राष्ट्रिय पार्टी र मधेसवादी दलहरुको फरक छुटिएन । जनजीवीका, सामाजिक रुपान्तरण र समृद्धिका मुद्दा नारामै सीमित भए”, डा लालले भन्नुभयो, “अब आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि कार्यशैली बदल्न जरुरी भइसकेको छ । नभए जनताका अगाडि सधै विकल्प हुन्छन् ।” 
 
देशभरको अवस्था हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी सोचेभन्दा बढी नै फैलिएको छ । परम्परागत शक्ति राप्रपाले पहिलेभन्दा बढी शक्ति सञ्चय गरेको छ । मधेसमा पनि पुरानै पार्टीहरुको पनर्योदय सुरु भएको छ । यद्यपि जनमत पार्टीले यहाँ पनि नयाँ उचाइ लिएको छ । कुनैबेला मधेस विरोधी पार्टी भन्ने गरिएको एमाले अहिले यस प्रदेशमा सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुँदैछ ।  मधेसवादी दल तेस्रो÷चौथो स्थानमा खुम्चिँदै छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending