Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

प्रचण्ड-रेशम चौधरी भेटको 'कनेक्सन', कस्तो बन्ला नयाँ समीकरण ?

माओवादी भन्छ : गठबन्धनबारे समीक्षा गर्छौँ, कांग्रेस भन्छ : गठबन्धनकै सरकार बन्छ

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै नेकपा ‌माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणका लागि अग्रसरता लिएका छन्।

तर माओवादीका एक जना नेताले यही गठबन्धनमा माओवादी रहने वा नरहनेबारे पार्टीमा छलफलपछि मात्रै निर्णय हुने बताए।

भावी सरकारको नेतृत्वमा आफ्नो दाबी अघि सारेका प्रचण्डले शनिवार प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरेका थिए। छलफलमा देउवाले गठबन्धनको निरन्तरताका पक्षमा आफू रहेको बताए पनि प्रचण्डले "अन्तिम चुनावी परिणाम आएपछि मात्रै थप छलफल गर्ने" जवाफ दिएको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

"प्रधानमन्त्री गठबन्धनकै निरन्तरताका पक्षमा लचिलो देखिनुभएको छ। हाम्रो अध्यक्षले अन्तिम परिणाम आएपछि थप छलफल गर्ने भन्नुभएको छ," मल्लले भने।

प्रचण्ड संसद्‌मा सबैभन्दा ठूलो दल बन्ने देखिएको कांग्रेसका सभापति समेत रहेका देउवालाई बधाई दिन गएको र त्यही क्रममा राजनीतिक छलफल पनि भएको मल्लको भनाई छ।

माओवादीले समीक्षा गर्ने

माओवादीका कतिपय नेताहरूले कांग्रेसबाट आफ्नो दलका उम्मेदवारहरूलाई भोट 'ट्रान्सफर' नभएको गुनासो गरेको विवरण आएका छन्।

माओवादीका महासचिव देव गुरुङले चुनावको अन्तिम परिणाम आएपछि मात्रै यसबारे आफ्नो दलले समीक्षा गर्ने बताए।

लमजुङबाट उम्मेदवारी दिएका गुरुङ एमालेका पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका थिए।

उनले चुनावी परिणाम र गठबन्धन दुवैबारे पार्टीमा छलफल र समीक्षा हुने बताए। "कुन कुन दलको के पोजिजन आउँछ त्यसपछि मात्रै छलफल होला," गुरुङले भने।

"हाम्रो दलभित्र पनि समीक्षा हुन्छ। अरू दलमा पनि बैठक होलान्, समीक्षा होला।"

प्रचण्ड-रेशम चौधरी भेट

प्रतिनिधिसभा निर्वाचनमा तीन स्थानमा जित उन्मुख रहेको नागरिक उन्मुक्ति पार्टीका नेता रेसम चौधरीसँग डिल्लीबजार कारागार नै पुगेर प्रचण्डले भेट गरेका छन्।

टिकापुर घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको पार्टी झिनो बहुमततर्फ उन्मुख देखिएको सत्ता गठबन्धनका लागि सहयोगी बन्न सक्ने आकलन सत्ता पक्षीय नेताहरूको छ।

"उहाँले चुनावअघिनै भेट्न खोजिरहनुभएको थियो। समय मिलेको थिएन त्यसैले चुनावपछि भेट्न जानुभएको हो," प्रचण्डका स्वकीय सचिव मल्लले भने।

"भेटमा उहाँले माओवादीसँग नजिक भएर काम गर्ने इच्छा देखाउनुभएको छ। हाम्रो तर्फबाट जनमतको सम्मान गर्नुपर्छ भन्ने कुरा भएको छ।"

मल्लका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईसँग पनि भेट गर्ने तयारी गरेका छन्।

'गठबन्धनकै सरकार हुन्छ'

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रमुख दलका शीर्ष नेताहरू गठबन्धनकै निरन्तरताका पक्षमा रहेको दाबी गरे।

"प्रधानमन्त्रीले गठबन्धनका शीर्ष नेताहरूसँग कुराकानी गरिसक्नुभएको छ र उहाँहरू गठबन्धनको निरन्तरताकै पक्षमा हुनुहुन्छ," महतले भने।

"अब पनि गठबन्धनले निरन्तरता पाउँछ बरु त्यसमा अरू केही दल पनि थपिने हुनसक्छ।"

गठबन्धनका नेताहरूले एमालेबाट अलग भएका पूर्व माओवादी नेता प्रभु साह र उनी पक्षीय स्वतन्त्र उम्मेदवार किरण कुमार साह पनि गठबन्धनमै आउने दाबी गरेका छन्। दुवै जनाले स्वतन्त्र उम्मेदवारि दिएर रौतहट ३ र २ बाट निर्वाचित भएका थिए।

प्रचण्डको भेटपछि रेसम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धनमा सहभागी हुने नेताहरूको विश्वास छ।

निर्वाचन आयोगको आधिकारिक विवरण अनुसार यो दलले कैलालीमा एक स्थानमा जित हासिल गरिसकेको छ भने अर्को दुई स्थानमा भारी मतले अग्रता कायम गरेको छ।

स्वतन्त्र उम्मेदवारी दिएका चौधरीका बुबा लालवीर चौधरी पनि बर्दिया २ बाट निर्वाचित भएका छन्।

गठबन्धनले कसलाई फाइदा

प्रत्यक्षमा १६५ मध्ये १४० बढी निर्वाचन क्षेत्रको परिणाम आइसक्दा कांग्रेसले अग्रता लिएको छ भने गठबन्धनका अन्य दलहरू माओवादी तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा छन्।

अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले सिट बढाए पनि माओवादी र एकीकृत समाजवादी दुवैले अघिल्लो संसद्‌मा उनीहरूको सङ्ख्याको तुलनामा सिट गुमाउने देखिएको छ।

सत्ताधारी गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी दलले पनि यसअघिको संसद्‌मा भन्दा केही सिट गुमाउने देखिएको छ। राष्ट्रिय जनमोर्चाले भने यो पटक पनि एक स्थानमा जित हासिल गरिसकेको छ।

समानुपातिकतर्फको मतगणना जारी रहेकाले कति वटा दलले समानुपातिक तर्फ मत पाउँछन् निश्चित भइसकेको छैन। यो प्रणालीबाट दलहरूले पाएको मतका आधारमा ११० जना निर्वाचित हुन्छन् तर कुल सदर मतको तीन प्रतिशत कम मत पाउने दलहरूले पाएको मत गणना हुँदैन।

अहिलेसम्मको मतगणनामा गठबन्धनमा रहेको एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले तीन प्रतिशतभन्दा कम मत पाएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending