काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा परिवर्तन गरेका छन् । सत्तारुढ नेकपा एमाले, प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विभिन्न समितिमा सदस्यहरु हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटा समक्ष सिफारिस गरे अनुसार जिम्मेवारी हेरफेर गरिएकोबारे उनले संसदलाई जानकारी गराएका हुन् ।
संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिमा भने सरकारको नेतृत्व गरिरहेको एमालेको आग्रहअनुसार फेरबदल हुन सकेन ।प्रतिनिधिसभाको सोमबारको बैठकमा सभाममुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिएका हुन् ।
कार्यव्यवस्था परामर्श समितिमा एमालेबाट माधव कुमार नेपाल समूहका सांसदहरुलाई हटाएर खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराईलाई राखिएको छ । उनीहरु सबै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरु हुन ।
यस्तै, सार्वजनिक लेखा समितिमा एमालेबाट गोकुल बाँस्कोटा र राजेन्द्र गौतम रहेका छन् । दुवै ओली पक्षका सांसद हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा राखिएको हो । त्यस्तै ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट गौतमलाई पनि लेखा समिति सदस्यमा राखिएको छ ।
यस्तै, घनश्याम भुसाललाई अर्थ समितिमा जिम्मेवारी दिइएको छ भने योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाई जारी रहेकाले संसदीय सुनुवाई समितिमा ओली निकटका व्यक्तिहरुलाई जिम्मेवारी दिन सिफारिस गरेपनि संसदीय सुनुवाइ चलिरहेकोल कुनै फेर बदल गरिएन ।
संसदीय सुनुवाइ समितिमा खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई राख्नका लागि एमालेका मुख्य सचेतक विशाल भट्टराईले सिफारिस गरेका थिए । सुनुवाई समितिबाट एमालेको माधवकुमार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेलाई हटाउन भनिएको थियो । संसदको महत्वपूर्ण समितिमा समेत सत्तारुढ एमालेभित्र ओली पक्षले माधवकुमार जिम्मेवारी खोसी आफु पक्षलाई बलियो बनाउने रणनीति लिएका देखिन्छ ।
प्रतिकृया लेख्नुहोस्: