काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिन आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार बसेको नेपाली कांग्रेसको कर्यसमिति बैठकले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।
सरकार गठनबारे कांग्रेसको आधिकारीक निर्णय आएपछि उत्साहित देखिएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न आइतबार स्थायी कमिटी बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको सचिव ढकालले जानकारी दिए ।
प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले खारेज गरेपछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीलाई राजिनामा दिन कांग्रेस र माओवादीले दवाब दिदै आएको छ । तर, प्रधानमन्त्री ओलीले सडकमा बसेर राजिनामा माग्दैमा नदिने बरु संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीको कार्यशैलीबाट रुष्ट बन्दै आएको माओवादी केन्द्रले संसदमा नेपाली कांग्रेस, जसपासंग सत्ता गठबन्धन बनाउन चाहेको छ ।
शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका थिए । शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् । सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनको भनाइ छ, ‘नयाँ परिस्थिति बन्ने छ । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरेका छन् ।
तर, सत्ता गठबन्धनको अर्को महत्वपूर्ण दल जसपा अझै विभाजित अवस्थामा रहेको छ । सरकार गठनमा कसलाई मर्थन गर्ने भन्नेमा जसपाले अहिलेसम्म आधिकारीक धारणा बनाउन सकेको छैन् । जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव कांग्रेस–माओवादीलाई समर्थन गर्ने धारणा राख्दै आएका छन् भने अर्का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो ओलीसंग सहकार्य गर्नुपर्ने मुडमा देखिएका छन् ।
प्रतिकृया लेख्नुहोस्: