कवि प्रदीप चापागाईका बढीजसो कविता उक्त कौशल प्राप्त नगरेर किताबको पाना मात्रै बढाउने स्तरका पनि छन् ।रानीहरूको चुल्ठो, मन्दिरका मुर्ति, बिजेताहरूको गला र प्रेयसीहरूको अञ्जुलीबाट फुत्त–फुत्त फूलहरू निस्कन्छन् अनि विद्रोहका लागि युद्ध गर्न थाल्दछन् । र, बगैंचालाई चिहानझैं शून्य पारेर निस्किएका फूलहरूको जुलुस पुतलीहरूलाई प्रमाण खोज्न पठाउँछन् । यो कुनै ‘सुनकेसरा रानी’को ‘फेन्टासी’ होइन, प्रसङ्ग हो, प्रदीप चापागार्इंको कविता सङ्ग्रह ‘फूलहरूको युद्ध’को । अष्ट्रेलियामा पढाइ र पेशा गर्दै आएका ‘प्रदीप’ को गजलकार व्यक्तित्वसँग अनायस धावा बोलेर झुल्किएको कवि मनले पछिल्लो समय काव्य पारखीहरूलाई प्रदान गरेको सौगात हो ‘फूलहरूको युद्ध’ । कवितामा (शब्दकोश र मिथककोश अगाडि राखेर मात्रै पढ्न थाल्नुपर्ने) शब्द गुम्फनको प्रयोग गरेर पाठकलाई मर्माहत पार्ने योजना छैन उनको । हाम्रै जीवनका सामान्यजस्ता लाग्ने घटनालाई टिपेर कवितात्मक रूप दिन सक्ने क्षमताले उनका कविता पठनीय बनेका छन् । बयालीस टुक्रा अनुभूतिपुञ्जका रूपमा आएको सानो किताब । कुनै ठूलो दर्शन फलाक्ने अभियानमा छैन । न त जोडजाड गरेर राखेका अनेकानेक शब्दहरूको थुप्रो मात्रै हो यो । यी कवितामा उनले सरल शब्दमा दार्शनिक विचारलाई कलात्मक ढङ्गले भन्ने प्रयास गरेका छन् । जस्तो कि: वर्षौं पहिले मध्यरातको चट्याङ्गले चर्किएको एउटा ऐना थन्किरा’थ्यो मेरो सन्दुकनजिक आजसम्म म दिनहुँ बोक्ने सुन्दरता जाँच्दथेँ अगाडि उभिएर र, क्षत विक्षत पाउँथेँ आफूलाई अहिले बल्ल बुझेँ टुक्रिएको त ऐना होइन, मेरो दिमाग पो रहेछ । (ऐना, पृ.१९) विकासोन्मुख मुलुकका नागरिकले भोगेको कष्टपूर्ण जीवनको चर्चामा किताबका बढी पानाहरू खर्चिएको देखिन्छ । जीवन बाँच्दाका भूल, अभाव, असन्तोष र भत्कोषहरूको बारेमा कवि चापागाईको धारणा स्पष्ट छ । उनका कविता ‘कतै चैते घाम ओढेका उराठ सडकहरूमा बन्द आँखाले देश खोज्न अभिषप्त मनहरूको साक्षी बन्छन् त कतै अनवरत स्वार्थको लिकमा हिडँ्ने पापीहरूलाई न्यानो दिने घाम, धातीहरूलाई शीतलता दिने जुन र वंैशको आडमा बेमौसमी न्यानो खोज्ने मान्छेका अँध्यारो जीवनको कथावचन हुन्’ भनी कवि मोमिलाले किताबको बोक्रामा लेखेकी छन् । एउटै ग्रहमा दुईटा ग्रहको फरक धार बाँचेको नेपाली समाजको छुवाछुतका विरूद्ध प्रदीप बागी बनेर उभिन्छन् । यस्तो सामाजिक विद्वेषले मान्छेभित्रै मान्छेलाई टुक्रा–टुक्रामा विखण्डित तुल्याउने जातीय असमानताले मान्छेलाई पशुभन्दा पनि निम्न तहमा पु¥याइ दिएको लाग्छ प्रदीपलाई । उनी वर्गीकृत मान्छेहरू कवितामा ‘जीव विकासको डार्विनीय सिद्धान्तको यात्रामा उल्टो दिशामा हिँडिरहेको’ मानवीय मूल्यह्रासको चरम नमूनाप्रति यसरी व्यङ्ग्य कस्दछन्ः– एक बथान जनावर अनि एक हुल चराहरूको एकीकृत जमातले गिज्याइरहेछ धिक्कार छ तिमीहरूलाई हे ! वर्गीकृत मान्छेहरू । (वर्गीकृत मान्छेहरू, पृ. ६९) २००७ सालको क्रान्तिको नाममा ०४६ सालको आन्दोलनको नाममा र ०६२÷०६३ गणतान्त्रिक युगको नाममा नेपाली राजनीतिले बारम्बार प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र र गणतन्त्रको भेषमा जनतामाथि धोकाधडी गर्नेे छेपारे वृत्तिमाथि उनको कवित्व प्रश्न चिह्न् तेस्याइरहन्छ । राजनीति, समाज र सत्ता सधैँ सिंहदरबारको ढोकासम्म पुग्ने लाइसेन्सको रूपमा लिएर आफ्नै ‘साम्राज्य’को पछि दौडिहिँड्ने तथाकथित अगुवा वर्गलाई उनी कथित ‘नयाँ नेपाल’को कस्तो खाका बनाउँछौ भनी सोधिरहेका छन् आफ्ना छोटा र धारिला कवितामार्फत । ‘फूलहरूको युद्ध’मा प्रदीप चापागाइँ जापानी ‘हाइकु–ताङ्का’ र कोरियाली ‘जेन पोइम’बाट प्रशस्तै प्रभावित देखिन्छन् । अभि सुवेदी–पोषरमण चापागाई, कृष्ण प्रसाइ आदिले नेपाली साहित्यको राम्रैसँग प्रयोगमा ल्याइसकेका हुन् । त्यस किसिमको प्रस्तुतीकरण कवितामा पछिल्लो समय नीरज भट्टराई, जेनन नेपाल र रमेश सायनका कवितामा पनि भेटिएको पाइन्छ । अर्थात्, प्रदीप चापागाई पनि दर्शनंजीवन.कविता कै फम्र्याट र फर्मूलामा कविता लेख्ने कवि हुन् । उनका ‘ऐना’ ‘नेता–जनता’, ‘सुनगाभा जिन्दगी’, ‘दियो’, ‘वर्गीकृत मान्छेहरू’, ‘मृतशहर र लाटकोसेराहरू’, ‘यो युगको परिभाषा’ आदि कविताहरू विचारपक्षको प्रयोगका दृष्टिले निकै सुन्दर छन् । कथित कलियुग वा एक्काइसौं शताब्दिले मान्छेलाई ‘यन्त्र’ र यन्त्रलाई ‘मानव’ बनाइदियो । हिजोको मानवीयता, संहिष्णुता, सद्भाव र सहयोगको भावना एकादेशको कथा भयो भन्ने सन्दर्भ कवितामा सुक्तिमय रूपमा यसरी व्यक्त गर्दछन्, दियो जगाउने यी मान्छेहरू औंसी रातहरूमा जूनको कल्पनामै अल्झिए छेवैका जुनकिरी र दियालो भुलेर व्यापकताको आशमा अन्धकारमै रूमलिए खै ! त्यो शालीनता ? यी मान्छेहरू .........कहिल्यै दियो बन्न सकेनन् । (दियो,पृ.६७) युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका खाडी मुलुकहरूमा द्रव्य सोहोर्न गएका नेपालीहरू रोनाढोनापूर्ण लेखन ‘डायस्पोरा’को सहारामा खुट्टा टेक्ने जमर्को गरिरहेका पनि भेटिन्छन् । तर नेपाली माटो र आकाशको ममताले सिक्त भएका ‘प्रदीप’मा त्यस्तो कृतघ्न कवित्व पाइन्न । उनी ‘ग्लोबलाइज्ड’ विश्वको ०.०३ प्रतिशत (नेपाली भूमि)कै दुखेसाहरू मार्फत् आफ्ना कविताको विषय चयन गर्दछन् । गरिबी चरम मारमा ‘पोल्टाभरि तीज बोकेर’ तल खोँचमा सुसाइरहेका साँल्दिदीका सुस्केराहरू, ‘दुई आँखा फिँजाएर’ अपार निष्ठुर मान्छेहरूका भीडबीच रित्तो सडकमा उग्राइरहेका भिखारीका बेवारिसे परिचयहरू तथा मेचिकालीको लम्बेताल सिमानाभित्र कथित ‘नयाँ नेपाल’को सपना कोरलिरहेका तीनकरोड नेपाली आस्थाहरूको खण्डहर नै उनका कविताले उठान गरेका मर्महरू हुन् । उनी भानु (भानुभक्त आचार्य)को ‘कान्तिपुरी नगरी’ गुनकेसरीहरूका ‘बेसुरा जमात’मा मपाईत्व प्रदर्शन गर्न मग्न भएर रत्तिएको देख्दा विदीर्ण भएर यसरी गुनगुनाउँछन्, – ऊ ! त्यही ढिस्कोमा टक्क उभिएर हेरिरहेछु म तिम्रो कान्तिपुरी नगरी देख्दिनँ चपला–अवलाका ती सजिएका शीरहरू देख्दिनँ गुनकेसरीहरू बेसुरे जमातमा मपाईँ मन प्रदर्शन गरेर स्वार्थका प्रणेताहरू देखेँ न तिमीले भनेजस्ता सखीका कुनै लाम देखेँ यो बेथितिको परिवेशबाट माफ गर भानु तिमै्र ती शब्दमा म कुन हकले यसलाई अमरावती भनूँ ? ‘प्रदीप’ गजलकार हुन्, भन्ने कुरा उनका कविता पढ्दै थाहा हुन्छ । कविताको अनुप्रास मिलाउन र शब्दहरूको आवृत्तिद्वारा पुष्टि गर्न उनले गरेको कसरतले गजल हाबी भएको सहजै अनुमान गर्न सकिन्छ । अनावश्यक ठाउँमा पनि हरफ र वाक्य टुक्रयाउने स–साना कमजोरीबाट पनि उनी मुक्त हुन सकेका छैनन् । क्यानभास, शालिक, शित, जिन्दगी र हावाजस्ता शब्दहरूको प्रयोगले कविता काव्यात्मक हुन्छ भन्ने ट्रेडिसनल भ्रम उनमा जिवितै छ । यद्यपि तुलनात्मक रूपमा उनका कविता सरल र सम्प्रेष्य बन्न सकेका छन् । साहित्यका गद्य भेदजस्तो स्पष्ट चित्रण नभएर केही विम्बात्मक र व्यङ्ग्यात्मक कथन पद्धति माग्दो हो कविताविधाले । अभिव्यक्तिमा कलात्मकता दिने बहानामा अधिक परिष्कार गर्नु र भाव मर्ने बहानामा परिस्कार नै नगर्नु दुवै कविता लेखनका चुनौती हुन् । यी दुवै चुनौतीबाट बचेर भावपरिपाक अवस्थामा विचार सम्प्रेषण गर्न सक्नुु असल कविका गुण हुन् । कवि प्रदीप चापागाईका बढीजसो कविता उक्त कौशल प्राप्त नगरेर किताबको पाना मात्रै बढाउने स्तरका पनि छन् । भूपीको ‘घुम्ने मेचमाथि अन्धोमान्छे’ रिमालको ‘आमाको सपना’ साना किताब भए पनि साहित्यिक मूल्यका दृष्टिले ठूलो महत्व राख्छन् भन्ने सोचिदिएको भए यो कमजोरी आउने थिएन ।
प्रतिकृया लेख्नुहोस्: