काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गरेका हुन् ।
विश्व जगत्ले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट निर्माणमा यसमा उचित ध्यान दिने उपराष्ट्रपतिको विश्वास छ । संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै उनले श्रमिकको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यो कठिन अवस्थामा अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कोरोना भाइरसको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा गएसँगै यसबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको उल्लेख गर्दै उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदी–बहिनीहरुको अवस्था कठिन बनिरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका सयौँ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएकामा चिन्ता व्यक्त गर्दै उनले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । उपराष्ट्रपतिले श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गरेका छन् ।
राष्ट्रियसभा अध्यक्षको आग्रह
दिवसकै अवसरमा शुभकामना दिँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारसँग श्रमिक तथा मजदुर वर्गका लागि राहतका विशेष कार्यक्रम ल्याउन अनुरोध गरेका छन् । उनले कोरोना भाइरसको महामारीका कारणले देश–विदेशमा रहेका श्रमिक तथा मजदुर बेरोजगार हुनुपर्ने अवस्था आएकाले राहतका कार्यक्रम ल्याउन अनुरोध गरेका छन् ।
“विभिन्न आरोह–अवरोह पार गर्दै आफ्ना अधिकार स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग अहिले कोरोनाको महामारीका कारण सबैभन्दा बढी समस्यामा परेका छन”, सन्देशमा भनिएको छ, “उनीहरुले आफ्नो दैनिक जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको छ । यस अवस्थामा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जीविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु ।”
कोरोना भाइरसबाट सङ्क्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोनाको सङ्क्रमणलाई विश्वले छिट्टै पराजित गर्दै जनजीवन सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनेलगायत पेशागत हितको प्रवद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको सङ्घर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो । सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।
प्रतिकृया लेख्नुहोस्: