काठमाडौं । फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मान्यता नदिएर अपराधीक समुह भन्दै सबै गतिविधिमाथि प्रतिबन्दको घोषणा ग¥यो । प्रतिबन्दसँगै सरकारले सुरक्षा निकायलाई उच्च अलर्टमा राख्दै विप्लवका नेता तथा कार्यकर्ता विरुद्ध विशेष अपरेसन नै छेड्यो ।
प्रतिवन्धसँगै प्रतिवन्धित नेकपा संकटमा देखिएको छ । झण्डै ५ वर्षदेखि राजनीतिक दलका नेता र विभिन्न भौतिक सम्पत्तिमाथि बम प्रहार गर्दै आईरहेको नेकपालाई सरकारले लगाएको ‘प्रतिवन्ध’ सरप्राइज हुन पुगेको छ । विप्लव समुहले आफुमाथि प्रतिवन्ध लाग्ने र पूर्णरुपमा भुमिगत हुनपर्ने आँकलन गर्न नसक्दा उनीहरु संकटमा फसेका छन् ।
स्रोतहरुका अनुसार नेत्रविक्रम चन्द विप्लव हाल स्वदेशमा छैनन् । पार्टीमाथि प्रतिवन्ध लागेको अवस्थामा नेतृत्व पार्टी पंक्तिको सम्पर्क भन्दा बाहिर हुनुले पनि उनिहरुमा संकट निम्त्याउने कारण हो ।
जसका कारण भटाभट नेता कार्यकर्ताहरु गिरफ्तार हुने अवस्थामा मात्रै पुगेका छैनन् । अब के गर्ने भन्नेमा समेत उनिहरु अकर्मन्य अवस्थामा छन् ।
प्रतिबन्ध घोषणाको २४ घण्टा नबित्दै नेकपा महासचिव विप्लवले वक्तव्य जारी गरेका थिए । वक्तव्यमा सरकारको प्रतिबन्दले आफ्नो यात्रालाई असर नगर्ने भन्दै सरकारी दमनको मुखतोड प्रतिरोध गर्न आफुहरु तयार भएको दाबी गरे । सरकारको निर्णय आफैंमा ‘अपराधिक, षडयन्त्रकारी र हाँस्यास्पद’ भएको बताएका थिए ।
सरकारले प्रतिबन्दको घोषणा गर्नु र विप्लवले प्रतिरोधको घोषणा गर्दा लडाई सन्निकट जस्तो देखिएको थियो । एकपछि अर्का घटनाहरु घट्दै जाँदा देशमा दुई शक्ति भिड्ने र देश पुनः गृहयुद्धमा जाने जस्तो आम अनुभुति हुन पुगेको थियो । गृह मन्त्रालयको सर्कुलर र तयारी हेर्दा १० वर्षे जनयुद्धलाई स्मरण गराउँथ्यो ।
कमजोर विप्लव
सरकारले प्रतिबन्द र विप्लवले प्रतिरोधको घोषणा गरेपछि विकास भएको घटनाक्रमले विप्लव कमजोर देखिएका छन् । सुरक्षा निकायको अप्रेसनमा ठूला मानिएका नेताहरु नै पक्राउ पर्न थालेका छन् । प्रतिबन्दको घोषणा भएको करिब दुई सातामा विप्लवका मध्य कमाण्ड इन्चार्ज सहित केन्द्रीय तहका तीन नेता र कयौं जिल्ला तहका नेताहरु पक्राउ परेका छन् ।
विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ शनिबार काभ्रेबाट पक्राउ परे । ओली नेकपा भित्रका तेस्रो वरियताका नेता हुन् । सरकारले प्रतिबन्द र विप्लव नेतृत्वको नेकपाले प्रतिरोधको घोषणा गरेको दुई साता नबित्दै हेमन्तप्रकाश ओली सहित स्थायी समिति सदस्य मोहन कार्की ‘जिवन्त’ र केन्द्रिय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु चन्द समेत पक्राउ परेकी छन् ।
गृह मन्त्रालयको रिपोर्ट अनुसार, दुई साताको बीचमा प्रहरीले देशैभरबाट ३ दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यही बीचमा कतिपय जिल्ला नेताहरुले राजीनामा लेख्दै स्वतन्त्र रहने उद्घोष समेत गरेका छन् ।
छोटो अवधीमै शीर्ष नेताहरु पक्राउ पर्नु र केहिले राजीनामा घोषणा गरी स्वतन्त्र हुनुले विप्लव समुहलाई ठूलो नोक्सानी पुगेको देखिन्छ । सरकारी प्रतिबन्धलाई मुखतोड जवाफ फर्काउने भनेपनि प्रतिवन्धित नेकपाले आफ्ना शीर्ष नेताहरुको सुरक्ष ागर्न नसकिरहेको देखिन्छ ।
सरकार आक्रामक
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार झन्ै आक्रामक बन्दै गएको देखिन्छ । सरकार संवाद होइन, गलाएर संवादमा ल्याउने योजनामा रहेको प्रष्टै देखिन्छ । नेकपाले कुनै वार्ता प्रति कुनै सकारात्मक प्रतिक्रिया नजनाएपछि सरकारले थप आक्रामक शैली अपनाएको पनि हुन सक्छ । प्रतिबन्द लगाएको छोटो समयमै सोचेभन्दा ठुलो सफलता हात परेपछि सरकार हौसिएको देखिन्छ
गृह मन्त्रालययले आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपालाई कुनै पनि खालको सहयोग नगर्न निर्देशन जारी गरेको छ । विज्ञप्ती मार्फत गृहले आर्थिक सहयोग लिने र दिने दुवैलाई कारबाही गर्ने जनाएको छ । दिनेलाई समेत निशाना बनाउनुको अर्थ नेकपालाई पूर्ण रुपमा कमजोर बनाउने अभियानमा सरकार एकलव्य भएर लागेको छ ।
विज्ञप्ती पनि आएन
सरकारले आफु विरुद्ध कुनै गतिविधि वा निर्णय गर्ने वित्तिकै वक्तव्यबाजीमा उत्रने विप्लव नेतृत्वको नेकपा अहिले सुनसान देखिन्छ । आफ्ना उच्च तहका नेता पक्राउ पर्दा समेत कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । विप्लव नेतृत्वका एक केन्द्रिय सदस्य खबरडबलीसँग गरेको कुराकानीअनुसार उनीहरु वक्तव्य होइन, सरकारलाई धक्का सहितको जवाफ दिने तयारी छन् । उनले भने, – ‘सरकारको अराजनीतिक कदमका विरुद्ध प्रतिरोधबाटै जवाफ दिइन्छ, वक्तव्यबाट होइन ।’
गिरफ्तारी र पार्टी त्याग
प्रतिवन्ध लगत्तै पक्राउ परेका ठुला नेतामा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली र स्थायी समिति सदस्य मोहन कार्की हुन् । ओली काभ्रेबाट र कार्की ललितपुरबाट पक्राउ परेका हुन् ।
यसैगरी पार्टी केन्द्रिय सदस्य तथा अनेमसंघकी केन्द्रिय अध्यक्ष बन्धु थापा, पार्टी केन्द्रिय सदस्यहरु शंकर अधिकारी, पुर्वी ताम्मासालिङका इन्चार्ज लगायत ४० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।
कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका छन् ।
यसैगरी झण्डै आधा दर्जन जिल्ला स्तरका प्रभावशाली नेताहरुले प्रतिवन्ध पछाडी पार्टी परित्यागको घोषणा समेत गरेका छन् ।
यो पनि पढ्नुहोस्–
विप्लवका समूहका ब्युरो संयोजक श्रेष्ठ पुर्वी क्षेत्रबाट पक्राउ
प्रतिकृया लेख्नुहोस्: