म्याग्दी । म्याग्दी हिमाली जिल्लामा सूचीकृत भएको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)सहित दर्जनाैँ हिमशृंखला भएको म्याग्दी हिमाली जिल्ला कायम भएको हो । जिल्लाको भौगोलिक पहिचान स्थापित भएकोमा म्याग्दीवासी खुसी भएका छन् । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव संसद्को दुवै सदनले स्वीकृत गरेको म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले जानकारी दिए ।
स्थानीयको माग सम्बोधन
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लामो समयदेखि जिल्लावासीले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गर्दै आएका थिए । जिल्लाको हिमाली क्षेत्रमा पर्ने स्थानीय तहले गरेको मागबमोजिम संघीय संसद्का दुवै सदनले म्याग्दीलाई हिमाली जिल्लाको मान्यता प्रदान गरेको हो । प्रतिनिधि र राष्ट्रिय सभाबाट स्वीकृत प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि म्याग्दी औपचारिक रूपमा हिमाली जिल्लामा सूचीकृत हुने सांसद थापाले बताए ।
यो निर्णयसँगै म्याग्दीको गुमेको पहिचान स्थापित भएको छ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फी पहल भएको थियो । आफूहरूको माग सरकारले सम्बोधन गरेकोमा खुसी लागेको हिमाली क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ का अध्यक्ष झकबहादुर छन्त्यालले बताए । हिमाटली क्षेत्रमा पर्ने म्याग्दीको धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न माग गर्दै आएका थिए । स्थानीय तहको मागबमोजिम गण्डकी प्रदेश सरकारले समेत म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको थियो ।
जिसस म्याग्दीको पहिलो बैठकले नै जिल्लालाई हिमाली जिल्ला कायम गर्न पहल गर्ने निर्णय गरेको थियो । म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायतका दर्जनौ हिमशृंखला छन् । यी सबै आधारका कारण म्याग्दीले हिमाली जिल्लाको मान्यता पाएको हो ।
यी हुन् म्याग्दीका प्रसिद्ध हिमाल
जिल्लाका दुई गाउँपालिकाको नामाकरणसमेत हिमालकै नामबाट राखिएको छ । मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालबाट धौलागिरि गाउँपालिका र नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालबाट अन्नपूर्ण गाउँपालिका नामाकरण गरिएको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा धौलागिरि प्रथमदेखि छैटौँसम्मका पिक हिमाल छन् । मानापाथी हिमालको चुचुरोसमेत मुदीमै पर्छ । सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जामा गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल छन् ।
पुथा हिमाल म्याग्दीको गुर्जा, डोल्पा र रुकुमको सिमानामा पर्छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अन्नपूर्ण प्रथमको आधार शिविर छ । बराह शिखर हिमालसमेत रहेको नारच्याङमा नीलगिरि हिमालको दक्षिण र पूर्वी मोहोडासमेत पर्छ ।
सुविधा बढ्ने अपेक्षा
म्याग्दीमा आधा दर्जन हिमशृंखला छन् । भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो । हिमालनजिकका बस्ती पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली क्षेत्रका बासिन्दालाई दिने सेवासुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा वञ्चित हुँदै आएका थिए ।
हिमाली जिल्ला भएपछि स्थानीय तहलाई संघीय र प्रदेश सरकारले दिने अनुदान र कर्मचारीको सेवासुविधा बढ्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले बताए । ‘म्याग्दीको करिब आधा भू–भाग नै हिमाली क्षेत्रमा पर्छ । हामीले जिल्लालाई हिमाली जिल्लामा सूचीकृत गराउन पहल गरेका थियौँ,’ केसीले भने ।
प्रतिकृया लेख्नुहोस्: