आषाढ़ १५ गते, २०७५ शुक्रवार 29th June, 2018 Fri०७:१२:५४ मा प्रकाशित
काठमाडाैं ।नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वाइड–बडी (ए३३०–२००) मध्ये पहिलो जहाज ‘अन्नपूर्ण’ काठमाडौं ओर्लिएको छ । ६ दशकअघि २८ सिट क्षमताको ‘डगलास डिसी–डाकोटा’ जहाजबाट उडान यात्रा थालेको निगमले इतिहासमै पहिलोपटक वाइड–बडी जहाज भित्र्याएको हो । निगम १ जुलाई अर्थात् आइतबार ६१औँ वर्षमा प्रवेश गर्दै छ ।
२७४ सिटे जहाज
काठमाडौं ओर्लिएको निगमको पहिलो वाइड–बडी जहाजको सिट क्षमता २ सय ७४ छ । १८ सिट बिजनेस र २ सय ५६ सिट इकोनोमिक क्लासका छन् । फ्रान्सको तुलुजबाट करिब ९ घन्टाको उडानमा यो जहाज काठमाडौं आइपुगेको हो । अर्को वाइड–बडी डेढ महिनाभित्र नेपाल ल्याउने योजना छ ।
स्वदेशी लगानीमा सफल परियोजना
निगमले दुई वाइड–बडी जहाज किन्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको छ । प्रतिजहाज खरिदमा करिब ११ अर्ब रुपैयाँ र बाँकी रकम व्यवस्थापकीय काममा खर्च गर्ने योजनासहित निगमले ऋण लिएको थियो । २८ जेठ ०७४ मा यी दुई निकायसँग ऋण सम्झौता गरेको निगम एक वर्षमै जहाज भित्र्याउन सफल भएको छ ।
प्रजातन्त्रले लुट्यो, गणतन्त्रमा ब्यँतिँदै
कुनै समय गर्विलो इतिहास बोकेको निगमलाई ०४६ को राजनीतिक परिवर्तन र प्रजातन्त्र पुनस्र्थापनापछि राजनीतिक नियुक्ति र काण्डैकाण्डले डुबाउँदै लग्यो । निगममा झन्डै ४ दशक सेवा गरी सेवानिवृत्त पूर्व कर्पोरेट निर्देशक रामहरि शर्मा सम्झन्छन्, ‘०४५ सम्म निगम राम्रोसँग चलिरहेको थियो, जब प्रजातन्त्र आयो, त्यसपछि जसरी राजनीति अस्थिर बन्यो, त्यसैगरी निगम व्यवस्थापनलाई पनि स्थिर हुन दिइएन ।’ निगम व्यवस्थापनले लिने निर्णय ६ महिनामा सरकार परिवर्तन भएपिच्छे परिवर्तन हुने परिपाटी निगमको प्रगतिको बाधक भएको उनी बताउँछन् ।
त्यसपछि निगमलाई राजनीतिक नेतृत्वको लहडमा विभिन्न काण्डमा फसाउँदै लगियो । प्रजातन्त्र आएपछि निगमका लागि जहाज भाडामा लिँदा प्राप्त हुने कमिसनमा राजनीतिक नेतृत्व लोभियो । फलस्वरूप धेरै काण्ड यसबीचमा भए । त्यसपछि निगमले माथि उठ्न निकै संघर्ष गर्नुप-यो ।
निगमको टर्निङ प्वाइन्ट
प्रजातन्त्र निगमका लागि फापेन । झन्डै बन्द हुने अवस्थामा पुगेको निगमलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सन् २०११ मा गरेको एक निर्णयले निकै राहत दिएको पूर्वकर्पोरेट निर्देशक शर्मा बताउँछन् । बाबुराम नेतृत्वको सरकारले निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने निर्णय गरेको थियो ।
उनका अनुसार त्यसपछि निगम व्यवस्थापन केही हदसम्म स्थिर बन्यो । व्यवस्थापनले लिएका निर्णय कार्यान्वयन हुने अवस्था आयो । वर्तमान महाप्रबन्धक कंसकारको नियुक्तिसँगै निगम हरेक वर्ष कम्तीमा एउटा जहाज जोड्ने योजनासाथ अगाडि बढ्यो । निगमका निर्णयमा सरकारले साथ दियो, फलस्वरूप क्रमशः सकारात्मक नतिजा देखिन थालेको उनको बुझाइ छ ।
अबको के योजना छ ?निगममा अब दुई विभाग : पर्यटनमन्त्री
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निगमको व्यवस्थापनलाई सक्षम बनाउन आन्तरिक र बाह्य उडानका छुट्टाछुट्टै विभाग गठनको तयारी भइरहेको जानकारी दिए । बिहीबार फ्रान्सबाट नेपाल आइपुगेको जहाजलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै मन्त्री अधिकारीले निगमको प्रभावकारी सञ्चालनका उपायहरू खोजी भइरहेको बताए । ‘सरकार कसैको हात बाध्ने पक्षमा छैन,’ उनले भने, ‘तपाईंहरू राम्रोसँग काम गर्नुस्, नेपाल वायुसेवा निगमको प्रगतिमा मुलुकको पर्यटनको भविष्य जोडिएको छ ।’
नयाँ जहाज आएसँगै आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र पहिलो चरणमा कतारको दोहा र युएईको दुबईमा उडान थाल्ने योजना छ । दोस्रो चरणमा जापान, दक्षिण कोरिया र साउदी अरबको रियादमा निगमका वाइड–बडी जहाज उड्नेछन् ।
यी जहाजले अस्ट्रेलिया, लन्डनसम्म सीधा उडान गर्न सक्ने भएकाले क्रमशः ती क्षेत्रको उडानतर्फ केन्द्रित हुने योजना निगमको छ । दुई वाइड–बडी जहाज आएसँगै अब निगमसँग दुई न्यारो–बडी, दुई वाइड–बडी र एक बोइङ गरी अन्तर्राष्ट्रिय उडानमा ५ जहाज हुनेछन् । निगमले सन् २०१९ को अन्त्यसम्म थप दुई न्यारो–बडी जहाज ल्याउने प्रक्रिया थालिसकेको छ ।
निगम डुबाउने चर्चित दुई काण्ड धमिजा काण्ड
०५० सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बेलायती मूलका व्यापारी दिनेश धमिजालाई युरोपका लागि निगमको जनरल सेल्स एजेन्ट नियुक्त गरेको घटना धमिजा काण्डका नामले चर्चित छ । सार्वजनिक खरिद नियमविपरीत टेन्डर गरिएको उक्त सम्झौताबाट निगमले झन्डै ४० करोड घाटा बेहोरेको थियो
लाउडा काण्ड
०५७ मा निगम र अस्ट्रियाको लाउडा एयरबीच सम्झौता गरियो । जुन, लाउडाको जहाज निगमलाई भाडामा दिने सम्झौता थियो । निगमसँग आफ्नै जहाज रहेको, चाइना साउथवेस्टर्नसँग भाडामा लिने सम्झौता भइसकेको अवस्थामा थप जहाज नचाहिने भन्दै संसद्मै हंगामा भयो । यो काण्डबाट निगमले झन्डै २ अर्ब नोक्सान बेहोर्न पुग्यो ।
निगमको जहाज यात्रा : डाकोटादेखि वाइडबडीसम्म१९५८ : निगमको पहिलो जहाज डगलास डिसी–३ डाकोटा हो । २८ सिट क्षमताको यस जहाजबाट निगमले ७० को दशकसम्म नेपाली आकाशमा सेवा दियो ।
१९६३–१९६५ : निगमले आन्तरिक उडानको प्रयोजनका लागि सन् १९६३ मा १२ सिट क्षमताको फोङ सु हार्भेस्टर एएन–२ जहाज किन्यो । यी जहाज भने निगमले सन् १९६५ सम्म मात्र चलायो ।
१९६१–१९९८ : निगमले सन् १९६१ मा स्विट्जरल्यान्डमा बनेको सिंगल इन्जिन जहाज पिलाटस पोर्टर पिसी–६ मोडलको जहाज भित्र्यायो । यो मोडलको जहाज नेपालको हिमाली तथा पहाडी इलाकामा निकै सहज रूपमा उड्यो ।
१९६६–१९७० : सन् १९६६ मा निगमले ४४ सिट क्षमताको फोकर फ्रेन्डसिप एफ–२७ जहाज भित्र्यायो । निगमले यो जहाजलाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडाएको थियो ।
१९७० : सन् १९७० मा आन्तरिक तथा बाह्य गन्तव्यमा उडाउने प्रयोजनका लागि निगमले ‘ह्याकेर सिड्ले एचएस–७४८ अभ्रो’ ल्यायो । त्यसपछि निगमले पर्यटकलाई माउन्टेन फ्लाइटमा पनि लैजान थाल्यो ।
१९७१ : नेपाली आकाशमा ७० को दशकपछि ट्विनअटर जहाज प्रवेश भयो । निगमले १९७१ मा पहिलोपटक १९ सिट क्षमताको क्यानेडियन ट्विनअटर डिएचसी–६ जहाज भित्र्यायो । यो जहाज धुले र कच्ची धावनमार्ग भएका पहाडी तथा हिमाली भेगका विमानस्थलमा सफलतापूर्व उड्यो ।
१९७२–१९९३ : निगमको इतिहासमा ७० को दशक निकै उज्ज्वल थियो । त्यस समय निगमले जहाज क्षमता अभिवृद्धिमा निकै लगानी गरेको थियो । १९७२ मा अन्तर्राष्ट्रिय उडानका लागि निगमले बोइङ ७२७ जहाज भित्र्यायो । यस जहाजको क्षमता १ सय २३ सिटको थियो ।
१९८७ : ८० को दशकमा नेपालमा पर्यटक भित्र्याउने मुख्य माध्यम निगम थियो । यो समय निगमको जहाज जर्मनीको फ्र्यांकफर्ट, बेलायतको लन्डन, जापानको ओसाका विमानस्थलसम्म उड्ने गथ्र्याे । ती गन्तव्यमा उडाउने प्रयोजनका लागि निगमले बोइङ ७५७ जहाज भित्र्यायो । १ सय ९० सिट क्षमताका यी जहाजबाट दुबईमा ट्रान्जिट गरी निगम लामो दूरीका विभिन्न विमानस्थलसम्म उडेको थियो । निगमले बोइङ ७५७ भित्र्याएपछि झन्डै तीन दशक अन्तर्राष्ट्रिय उडानमा नयाँ जहाज थप्न सकेन ।
२०१४ : आन्तरिक उडानमा निजी क्षेत्रले ठूला जहाज भित्र्याएर कडा टक्कर दिन थालेसँगै निगमले पनि सन् २०१४ मा एमए ६० जहाज भित्र्यायो । ५६ सिट क्षमताको यो जहाज चीनमा बनेको हो । यही वर्ष निगमले चीनबाटै वाई१२इ मोडलको अर्को जहाज भित्र्याएको छ जुन १८ सिट क्षमताको छ ।
२०१५ : निगमले सन् २०१२ मा आफ्नो सेवाबाट बोइङ युग विस्थापित गर्दै एयरबसमा जाने निर्णय ग-यो । फलस्वरूप २०१५ मा न्यारो–बडी जहाज एयरबस ३२०–२०० भित्र्यायो । अन्तर्राष्ट्रिय उडानमा झन्डै जहाजविहीन बनेको निगमको साख निकै खस्किएको थियो ।
यस अवस्थामा निगमलाई जीवनदान दिने गरी यो जहाज भित्रियो । यतिखेर भित्रिएका दुई जहाज उडाउँदै निगम बिस्तारै जुर्मुराउन थाल्यो । उडान बन्द भएका लोकप्रिय गन्तव्य दिल्लीसहित क्षेत्रीय उडानमार्फत अहिले निगम अन्तरर्राष्ट्रिय उडानमा १० प्रतिशत बजार हिस्सा लिन सफल भइसकेको छ ।
२०१८ : निगमको इतिहासमै पहिलोपटक बिहीबार ए३३०–२०० जहाज काठमाडौं उत्रियो । निगम अब विगतमा गुमेका पुराना गन्तव्य ब्युँताउने योजनामा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: